१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एमाले र नेकपाबीच एकता गरेर प्रचण्डलाई संसदीय दलको नेता बनाउन ओली प्रस्ताव !


१० श्रावण २०८३, आइतबार  


प्रदेश सत्ताको साँचो फेरि एमाले–नेकपामा नै फर्किने बाटो तय भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पाँचवटा प्रदेशको भागबन्डा टुंग्याए ।

उनीहरुबीच तीनबुँदे समझदारी भयो । प्रचण्डसँग स्वर्ग–नर्क सँगै जाने कसम खाएलगत्तै ओलीले कांग्रेससँग समझदारी गरेपछि तत्कालीन माओवादी सत्ता बाहिर पुगेको थियो ।

२०८१ असार १७ गते कांग्रेस–एमालेबीचको सहमतिले हालको नेकपा ९तत्कालीन माओवादी० सत्ता विमुख भएको थियो ।

ओली–प्रचण्डको तित्कतापूर्ण सम्बन्ध फेरि सहकार्यमा रुपान्तरण भएको छ । अब नेकपा फेरि सत्तामा पुग्नेछ । दुई नेताले शनिबार गरेको सम्झौताअनुसार कोसी, वाग्मती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ । कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले पाएको छ ।

गण्डकी र मधेस प्रदेशको नेतृत्व भने अरु राजनीतिक दलसँग छलफल गरेर मात्रै टुंग्याउने समझदारी भएको छ ।

प्रदेशमा नेकपाको ‘इन्ट्रि’सँगै अब कांग्रेस सत्ता बाहिर पुग्ने निश्चित जस्तै भएको छ ।

उता, एमाले र नेकपाबीचको यो सहकार्यले आउँदो स्थानीय निर्वाचन हुँदै पार्टी एकतासम्मको रेखा कोरेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

०७४ को निर्वाचनमा सहकार्य गरी ०७५ जेठ ३ मा एमाले र माओवादीबीच एकता भएको थियो । एकताबाट नेकपा जन्मियो । तर, त्यो शक्ति लामो समय टिक्न सकेन् ।

फेरि यी दुई शक्तिबीचको सहकार्यले कस्तो रुप लेला भन्ने चासो बढेको हो । नेताहरुका अनुसार एकताको रेखासम्म जान सकिन्छ कि भनेर तिक्ततालाई सहयात्रामा बदल्ने ठाउँमा दुई नेता पुगेका हुन् ।

प्रदेशमा गठबन्धनपूर्व नै ओली–प्रचण्डबीच पार्टी एकतासम्मको कुरा भएको थियो ।

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई पार्टी एकता गरी संसदीय दलको नेतृत्व दिने प्रस्ताव राखेका थिए । प्रचण्डले ओलीबाट त्यस्तो खालको प्रस्ताव आएको कुरा केही नेतालाई ब्रिफिङसमेत गरेका थिए ।

“पार्टी एकता गरौँ । तपाईं संसदीय दलको नेता बन्नुस् भन्ने प्रस्ताव अध्यक्ष ओलीले प्रचण्डलाई राख्नुभएको रहेछ,” एमाले स्रोत भन्छ, “पार्टी नेतृत्व आफैँले गर्ने वा नगर्ने भन्ने स्पष्ट नभए पनि प्रचण्डलाई दलको नेता बनाउने खालको प्रस्ताव गएको हो ।”

प्रचण्डलाई दलको नेता बनाएर आफू पार्टीको नेतृत्वमा नै रहने चाहना ओलीमा देखिएको एक नेता बताउँछन् । जेनजी आन्दोलनले सत्ता गुमाएको र त्यसपछिको चुनावी नतिजाले उठ्न नसकेको एमालेमा ओलीविरुद्धको आवाज चर्को छ ।

काँध हाल्दै आएका पार्टीका शीर्ष नेताहरुले नै साथ छोडेपछि ओली अफ्ठ्यारोमा परे ।

उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेताले सचिवालय बैठकमा ओलीविरुद्ध उत्रिएपछि नै पुनर्गठन कार्यदल बनेको हो ।

गएको जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पुनर्गठनसम्बन्धी कार्यदल बनायो । सोही कार्यदलले विभिन्न स्थानमा गएर ल्याएका सुझाव समेटेर प्रतिवेदन बनाउने गृहकार्यमा छ । त्यसको प्रतिवेदन पार्टीका महासचिव पोखरेलले लेखिरहेका छन् ।

“प्रतिवेदन लेखनको काम अन्तिम चरणमा छ । अब निष्कर्ष लेख्न मात्रै बाँकी रहेको जानकारी पाएको छु,” एक नेता भन्छन् ।

अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाटै हटाउनुपर्ने कुरा उठेको बेलामा नेकपासँगको एकताको कार्ड फालेको बुझाइ ती नेताको छ ।

“पार्टीभित्रको संकट टार्नका लागि अध्यक्षले कार्ड फ्ँयाकेको हो,” ती नेता भन्छन्, “पुनर्गठन कार्यदलको प्रतिवेदनले आफूलाई हटाउने विधि देखाउन सक्ने भएपछि फेरि सुरक्षित हुन खोज्नुभएको हो । तर, अब परिस्थिति सहज छैन । नेकपामा पनि सहजै मान्ने अवस्था बन्दैन ।”

०८२ फागुन २१ को निर्वाचनबाट खुम्चिँदा एमाले दोस्रो र नेकपा संसद्को तेस्रो दल बनेको छ । दुई दल मिल्दा प्रमुख प्रतिपक्षी कांग्रेसभन्दा ठूलो हुन्छ । संसद्मा एमाले २५ र नेकपा १७ सिटको छ । दुवै एक भएमा ४२ सिटको हुनेछ । कांग्रेस संसद्मा ३८ सिटको छ ।

नेकपाका नेता वर्षमान पुनले ओलीले संयोजकसँग दलको नेता बन्ने प्रस्ताव गरेको भन्ने कुरामा आफू जानकार नभएको बताए ।

“मलाई त्यस्तो जानकारी छैन । मलाई त्यस्तो लाग्दैन पनि,” उनी भन्छन् ।

अहिले प्रदेशको डेडलक फुकाउनका लागि समझदारी गरिएको उनी बताउँछन् । त्यो चुनावमा सहकार्य वा एकतासम्म पुग्छ कि पुग्दैन भन्ने अनुमान गर्न नसकिने बताउँछन् ।

“अहिले प्रदेश सरकारको डेडलक फुकाएको हो । कतै बजेट छैन, कतै राजीनामा दिएर बसेको अवस्था थियो,” उनी भन्छन्, “अहिले नै यस्तो हुन्छ भन्न सकिँदैन । सहकार्य गर्दा परिस्थिति के बन्छ हेरौँ ।”

दुई नेताबीचको सहमतिबारे एमाले र नेकपाभित्रैको एक पंक्तिमा शंका बढेको छ ।

माधव नेपालतर्फका नेताहरुमा ओलीसँग सहमति गर्दा पछि आफूहरुलाई नै क्षति हुने विश्लेषण छ ।

त्यसैले अहिले प्रदेशमा कांग्रेससँग पनि मिल्नुपर्ने धारणा उनी पक्षीय नेताहरुले राख्दै आएका थिए । पछिल्लो सहमतिप्रति पनि नेताहरु असन्तुष्ट देखिन्छन् ।

उता, ओली असन्तुष्ट नेता मनाउन लागिपरेका छन् ।

प्रदेशबारे सहमति हुनुपूर्व ओलीले पार्टी कार्यालय च्यासलबाट महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई सँगै गाडीमा राखेर बाहिरिएका थिए । उनीहरुबीच वार्ता भएको थियो । नेकपासँगको सहमतिमा पौडेलसँगै देखिएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ४ : ३५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित