नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा ‘जेन्जी आन्दोलन’लाई नयाँ पुस्ताको बढ्दो राजनीतिक चेतना र रूपान्तरणको चाहनाका रूपमा लिन सकिन्छ।
भदौ २३ र २४ गते सडकमा देखिएको युवाहरूको उत्साहजनक सहभागिताले केवल तत्कालीन एउटा निर्णयप्रतिको असन्तुष्टि मात्र जनाएन, लामो समयदेखि गुम्सिएको राजनीतिक तथा सामाजिक निराशालाई समेत सतहमा ल्याइदियो।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आन्दोलनको तात्कालिक कारण बने पनि असन्तुष्टिको मूल आधार भने निकै फराकिलो थियो। भ्रष्टाचार, नातावाद, कमजोर सुशासन, बेरोजगारी र राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वासजस्ता विषयले युवाहरूलाई आन्दोलित बनाएको हो।
डिजिटल अधिकार र नागरिक स्वतन्त्रतास् आजको पुस्ताका लागि सामाजिक सञ्जाल मनोरञ्जन मात्र नभई सूचना, शिक्षा, व्यवसाय र विचार अभिव्यक्तिको मुख्य माध्यम हो। त्यसैले यसमाथिको प्रतिबन्धलाई युवाहरूले आफ्नो मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा बुझे।
मूलभूत प्रश्नहरूस् आन्दोलनले राज्यको जवाफदेहिता, सार्वजनिक पदमा रहेकाहरूको कार्यमूल्याङ्कन, भ्रष्टाचार नियन्त्रण र स्वदेशमै रोजगारीका अवसरबारे गम्भीर प्रश्नहरू खडा गरेको छ। नयाँ पुस्ताले यी पुराना मुद्दाहरूलाई आफ्नै भाषा, माध्यम र शैलीमा उजागर गरेको छ।
आन्दोलनका सकारात्मक पक्षहरू:
राजनीतिक जागरणस् राजनीतिप्रति उदासीन भनिएको पुस्ताले प्रत्यक्ष रूपमा सार्वजनिक सरोकारका विषयमा आफ्नो दरिलो उपस्थिति जनाएको छ।
सुशासन र पारदर्शिताको मागस् भाषण र आश्वासनभन्दा पनि कामको परिणाम, पारदर्शिता र जवाफदेहिताका आधारमा नेतृत्वको मूल्याङ्कन हुनुपर्छ भन्ने सोच बलियो भएको छ।
डिजिटल लोकतन्त्रस् प्रविधि र लोकतन्त्र एकअन्तर्गत जोडिएका विषय हुन् भन्ने बुझाइलाई यस घटनाले थप स्थापित गरेको छ।
हिंसा र क्षतिको समीक्षा:
लोकतन्त्रमा असहमति र विरोधको अधिकार सुरक्षित हुन्छ, तर त्यसका नाममा हुने हिंसा, तोडफोड र सार्वजनिक सम्पत्तिको क्षति कदापि स्वीकार्य हुँदैन। आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षति दुःखद पक्ष हुन्। युवाहरूले उठाएका जायज माग र आन्दोलनका क्रममा भएका अवाञ्छित हिंसात्मक घटनालाई छुट्ट्याएर हेर्नु आवश्यक छ।
भावी दिशा र चुनौती:
राजनीतिक दल र राज्य नेतृत्वले यसलाई क्षणिक असन्तोषका रूपमा मात्र लिनु हुँदैन। युवाको यो ऊर्जालाई रोजगारी सिर्जना, उद्यमशीलता, शिक्षा, र संस्थागत सुधारमा रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता हो।
सुदीप डल्लाकोटी
पत्रकार ,काठमाडौ








