२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

सावधान ! देशभर भीषण वर्षात् ! ३७ जिल्ला बाढीको खतरामा !


२२ भाद्र २०८३, सोमबार  


भदौ अन्तिम साताको तिथि मिति छ । मनसुनको भयानक सक्रियता छ । पूर्वपश्चिम एकसाथ मनसुनले भीषण धक्का दिदैछ । नदी खोलामा एकाएक बाढी उर्लिदैछ । आरीघोप्टे झरीले ३७ जिल्लामाथि खतराको तरबार झुण्डिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले तीन दिन भीषण वर्षातको खतराको घण्टी बजाएको छ । उसले भनेको छ, आगामी तीन दिन भीषण वर्षात हुँदैछ । देशका ३७ जिल्ला उच्च जोखिममा रहेको उसले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्नेछ। नदी तटिय क्षेत्रहरुमा बाढीको उच्च जोखिम छ । नदी खोला तथा खहरेहरुमा भीषण बाढी आउँदा पहिरो पनि उत्तिकै जोखिम छ ।

महाशाखा भन्छ,आगामी तीन दिन कोशी जलाधारका सप्तकोशी (चतरा, तमोर (त्रिवेणी), अरूण (सिम्ले), दुधकोशी (रबुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पचुवार मा जलसतह उल्लेखनीय रूपमा बढ्नेछ। त्यसैगरी नारायणी जलाधारका नारायणी (देवघाट), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरुघाट), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली) र कालिगण्डकी (कुमालगाउँ) मा पनि आगामी तीनै दिन बहाव उल्लेखनीय बढ्ने पूर्वानुमानले सचेत गराएको छ ।


यस्तै खतराको घण्टी कर्णाली जलाधारका कर्णाली (चिसापानी र असाराघाट), भेरी (समजिघाट) र पश्चिम सेती (दिपायल) तथा महाकाली जलाधारको महाकाली (पारिगाउँ) र कन्काई नदी (मैनाचुली) मा तीनै दिन जलसतह अकल्पनीय ढंगले बढ्नेछ। यस्तै कमला (वेलसोत), बागमती (पधेरादोभान), पूर्वी राप्ती (रजैया), पश्चिम राप्ती (कुसुम) र बबई (चेपाङ) नदीमा भने आगामी तीन दिन बहाव उत्तिकै रहनेछ ।

साना नदीतर्फ सोमबार ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदी तथा खोलाहरूमा बहाव उल्लेखनीय बढ्नेछ। यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ। भोलि मंगलबार र पर्सि बुधबबार पनि सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ।


गएको वर्ष २०८२ असोजमा पनि उस्तै वर्षात भएको थियो । सरकारले विपद्को विषयमा पूर्व तयारी गरेको थियो । सरकारी पूर्व सूचना र सजगताले ठूलो धनजनको क्षति हुन पाएको थियो । सम्भावित बाढीको विषयमा सरकारले पूर्व तयार गरेकोले गएको वर्ष त्यत्ति ठूलो क्षति नभएपनि त्यस वर्ष अघि अर्थात २०८१ असोजमा पनि पूर्वानुमान महाशाखाले देशभर भीषण वर्षातको पूर्वानुमान गरेको थियो । २०८१ असोज ११ र १२ को वर्षातले देशभर ठूलो धनजनको क्षति पुराएको थियो ।

महाशाखाले दिएको सूचनालाई बेवास्ता गर्दा नदी तथा खोलामा आएको बाढीबाट धेरै मानिसको ज्यान गएको थियो । तत्कालीन ओली सरकारले ललितपुरको नक्खु खोलामा आएको बाढीमा फसेकालाई चार घण्टामा पनि उद्दार गर्न नसक्दा सरकारले ठूलो आलोचना बेहोरेको थियो । यस पटक पनि जलवायु परिवर्तनका कारण मनसुनको क्यालेन्डरमा समेत फेरबदल भइरहेको छ।

मनसुन ढिला शुरु हुने र पोष्ट मनसुनले नेपालमा ठूलो क्षति पुराएको विगतको अनुभव छ । यस पटक पनि मनुसन त्यही ढंगले सक्रिय भएकोले सरकारी सूचना या जानकारीलाई मनन् गरी अत्यावश्यक काममा बाहेक घरमै सुरक्षित रुपमै बस्नु बुद्धिमानी होला कि ?

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १० : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित