पोखरा विमानस्थल, विशेष गरी चीनको महंगो व्याजको ऋणमा निर्माण भएको हो । २०७९ पुस १७ गते पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका थिए । चीनको २२ अर्ब महंगो व्याजको ऋणमा निर्माण गरिएको पोखरा विमानस्थल लामो समय उडान भएन । छिमेकीहरुको स्वार्थसंगै व्यवस्थापकिय अक्षमताले विमानस्थलमा कमिला हिड्ने गर्दथे । तर,पछिल्लो सयम बालेन सरकार बनेपछि पोखरा विमानस्थल खचाखच हुन थालेको छ । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित गरेपछि पोखरा विमानस्थलमा यात्रुको चाप बढ्न थालेको हो ।
फलाइ दुबइले सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको थियो । तर, पछिलले समय फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुने पक्का भएको हो । आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको हो । चाडबाडको समय भएकाले पनि दुबईबाट पोखरा आउने यात्रुको चाप बढेको छ । फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थान गर्दै आएको छ । गएको सोमबारसम्ममा फ्लाई दुबईको उडानमार्फत तीन हजार ११३ यात्रु दुबईबाट पोखरा आएको र पोखराबाट एक हजार ४२३ यात्रु दुबई प्रस्थान गरेको अभिलेख छ । फ्लाई दुबईको उडानलाई प्रभावकारी बनाउन लागिपरेका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष उडान दिगो हुनेमा विश्वस्तसँगै उत्साहित भएका छन् ।
फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए । फ्लाई दुबईको उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकका एक सय भन्दा बढी शहरहरुमा उडान सेवा गरिरहेको छ ।
२०७९ साल पुस १७ अर्थात सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गरेपछि फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गएको जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ ।
पछिल्लो प्राप्त विवरण अनुसार काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काठमाडौ दुबईको विमान भाडा भन्दा पाँच हजार सस्तो छ । विमान भाडा सस्तो भएकोले पनि गण्डकी प्रदेशका आसपासका जिल्लाबाट दुबइ लगायत विश्वका एक सय बढी सहरमा पुग्नेहरु यही विमानस्थलबाट यात्रा गर्न थालेका छन् । यसले पोखराको पर्यटन क्षेत्रमा पुनः उत्साह ल्याएको छ। व्यवसायीहरु नियमित उडान हुने भएपछि पर्यटन क्षेत्र थप तंग्रिएको बताउँछन्।
विगतमा विदेशी विमान कम्पनीहरु आएपनि नियमित गर्न सकेका थिएनन्। पछिल्लो समय सरकारले दुई वर्षसम्मका लागि नेभियसन लगायतका शुल्कमा पूर्णरुपमा छुट दिएपछि विदेशी विमान कम्पनीहरुले पोखराबाट उडान भर्न लागको हुन् । फलाइ दुबईले नियमित उडान शुरु गरेपछि अन्य कम्पनीहरु पनि उडान भर्ने तयारीमा रहेका छन् । मुलतः बालेन सरकारको पहलकदमीपछि विदेशी कम्पनीहरुले हवाइ सेवा सन्चालनमा ल्याउन तयार भएका हुन् । ०








