८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

बालेन र मोदीद्वारा संयुक्त विज्ञप्ति, हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार


८ मंसिर २०८३, सोमबार  


प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भारतका औपचारिक कार्यक्रम सम्पन्न भए लगत्तै नेपाल र भारतले २४ बुँदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाल र भारतबीच हस्ताक्षर भएका ८ वटा समझदारीपत्र, शिलान्यास तथा उद्घाटन गरिएका पाँच वटा प्रोजेक्ट, आर्थिक सहायता घोषणा लगायतका विषयहरू समेटिएको छ ।

प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिमा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी बनाउने उल्लेख छ ।

बन्दरगाहमा नेपालको पहुँच

भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दिनदयाल बन्दरगाह ९कान्डला० हुँदै नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेका छन् । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा समेत नेपालको पहुँच उपलब्ध गराइनेछ ।

मोदीको निमन्त्रणामा आइतबारदेखि दुई दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको वार्तापछि संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको हो ।

५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब ऋण

भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा पनि गरेको छ । यसमध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित ऋण सुविधा हुनेछ ।

दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका लागि रेल, सडक, बन्दरगाह र पेट्रोलियम पूर्वाधारमा समेत सहकार्य गर्ने सहमति भएको छ । नेपाल र भारतबीच पञ्चेश्वर तथा सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनालगायत निर्माणाधीन र प्रस्तावित जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनलाई तिव्रता दिने सहमति भएको छ।

भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न पनि सहयोग गर्ने भएको छ।

आठवटा समझदारीपत्र आदानप्रदान

भ्रमणका क्रममा दुवै देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका महत्त्वपूर्ण सहमति, समझदारी तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि नेपाल र भारतले उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाउने भएका छन् ।

भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल स् साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टको ‘कार्यान्वयनका कार्यविधिहरू’ खण्डमा सहमति कार्यान्वयनको स्पष्ट खाका तय गरिएको हो । जसअनुसार दुवै देशका प्रधानमन्त्रीले नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतका राजदूतको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाउने निर्णय गरेका छन् ।

स्वीकारे भ्रमणको निम्तो

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । मोदीले निमन्त्रणा स्वीकार गरेको र भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, सोमबार  ५ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित