नेकपा एमालेले आयोजना गरेको दुईदिने राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ।
भेलाको तयारीबारे जानकारी दिन सोमबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्दैछ।
उक्त भेलामा ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ। जसअनुसार ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।
त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।
क्जष्खबm ऋझभलत
काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। भेलामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले छुट्टाछुट्टै लिखित दस्ताबेज पेस गर्नेछन्।
राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीको संगठनात्मक एकता थप सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने एमालेले जनाएको छ।
भेलामा सहभागी हुने नेता तथा कार्यकर्तालाई एमालेले उद्घाटनका दिन दिउँसो खाजा र ३ गते बिहान खाजासहित दिउँसो खाना खुवाउनेछ। त्यसबाहेक बसोबास र आउने(जाने व्यवस्था सहभागी नेता तथा कार्यकर्ता आफैँले बेहोर्ने गरी व्यवस्था मिलाइएको एमालेले जनाएको छ।








