८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

न्यूयोर्कको फरक दृष्य : बलियालाई ट्रम्प कार्पेट ! निर्धालाई धम्की !


८ आश्विन २०८३, बिहिबार  


संयुक्त राष्ट्रसंघको ८१ औ महासभा प्राज्ञिक बहस हो । राष्ट्र संघको नियमित बहसको निरन्तरता हो । संयुक्त राष्ट्रसंघको मख्यालय अमेरिकाका न्यूयोर्कमा छ । महासभाको आयोजना अमेरिकी राष्ट्रपति ट्रम्पले होइन, राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले गरेका हुन् । विश्वभरका सदस्य राष्ट्र प्रमुखदेखि थुप्रै पाहुनुाहरुको उपस्थित छ । यो विल्कुल संयुक्त राष्ट्र संघको कार्यक्रम हो । तर, यस कार्यक्रम जारी भइरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले अनौठो र अशोभनीय व्यवहार देखाए ।


उनले चिनियाँ राष्ट्रपति सीलाई ह्वाइट हाउसबाट सिधै विमानस्थल पुग्नु यो सामान्य कूटनीतिक अभ्यास होइन। तर, बुधबार साँझ मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा एउटा यस्तै दृश्य देखियो । जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी पत्नी मेलानियासहित विमानस्थलमै पुगे । सी र उनकी पत्नी पेङ लियुआन विमानबाट ओर्लिंदा रेड कार्पेट, अमेरिकी सेनाको ब्यान्ड र फ्लाई–ओभरसहित भव्य स्वागत गरे । ट्रम्पले मुस्कुराउँदै सीको काँधमा धाप मारे ।तर, यो न्यानो स्वागत र रेड कार्पेटभित्र अमेरिका र चीनबीचको गहिरो भूराजनीतिक स्वार्थ, टकराव, विश्व अर्थतन्त्रको दाउपेच र ट्रम्पको कूटनीतिक विरोधाभास र विचलन देखिन्छ ।


शक्तिलाई सम्मान र सहयोगीलाई अपमान गर्ने अनौठो ट्रम्प नीतिले सबैलाई अचम्मित बनाएको छ । विगतदेखि अमेरिकी धुरीमा उभिदै आएका क्यानडा र युरोपेली संघ (ईयू) जस्ता पुराना सहयोगीहरूलाई ‘१०० प्रतिशत ट्यारिफ’ लगाउने भन्दै घुक्र्याइरहेका छन् । भने अर्कोतिर अमेरिकाको सबैभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धी भनौ या विरोधी चीनका नेताका लागि उनी रेड कार्पेट ओछ्याइरहेका छन् । उनले देखाएको यस्तो अनौठो र अचम्मको व्यवहारको दृश्य आफैमा विरोधाभाष जस्तै देखिन्छ ।


हुन त राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन् भनिन्छ । राजनीति सम्भावनाको खेल हो । त्यसैमा पनि अमेरिका आफैमा महाशक्ति राष्ट्र हो । उसले फाल्ने राजनीतिक तथा कूटनीतिक पासा उसकै स्वार्थका लागि हुन्छन् नै । यस्तो हुनु स्वभाविक पनि हो । ट्रम्पले राष्ट्र हित र लाभकै लागि उनले यस्तो गरेका पनि होलान् । तर, यहाँ विर्सन नहुने कुरा के हो भने, शक्ति र सम्पत्ति मात्रै ठूलो कुरा होइन । संयुक्त राष्ट्र संघको नजरमा सबै सदस्य राष्ट्र बरोबरी छन् र हुन् । कूटनीतिको पनि एउटा सामान्य नियम हुन्छ – शत्रुभन्दा आफ्ना सहयोगीहरूलाई धेरै राम्रो व्यवहार गर। तर, ट्रम्पको यो शैली ठीक उल्टो देखिन्छ ।


उनको यो व्यवहारको विषयमा सिनेटमै निकै प्रश्न उठ्ने गरेको छ । रिपब्लिकन सिनेटर रोजर विकरले त सिनेटमै उभिएर सीलाई ‘क्रूर र दमनकारी तानाशाह’ भन्दै ट्रम्पले उनलाई निमन्त्रणा दिनै नहुने तर्क गरेका छन् । ट्रम्पले चीनले इरानलाई गरिरहेको सहयोग र सन् २०२० को चुनावमा गरेको भनिएको हस्तक्षेपलाई समेत बेवास्ता गर्दै आएको देखिन्छ । चीनले इरानलाई अमेरिकी सेनाविरुद्ध आक्रमण गर्न भूउपग्रहको तस्बिर उपलब्ध गराएको विषयमा पनि ट्रम्पले हल्का रुपमा लिएको भन्दै उनको विरोध हुँदै आएको छ। ट्रम्पले राष्ट्रिय सम्वेदनशीलताको विषयलाई पनि व्यक्तिगत सम्बन्धमा जोड्छन् । राष्ट्रिय मुद्दामा पनि कूटनीतिको हतियार ठान्छन्, तर बेइजिङ चाकरीभन्दा शक्ति र प्रतिरोधलाई बढी बुझ्छ भन्ने विश्लेषकहरुले अथ्र्याउने गर्दछन् ।


राष्ट्र संघको महासभामा इरानलाई सम्झौता नगरे सिध्याइदिने धम्की दिएका ट्रम्पले उही इरानकै संरक्षक चीनसंग भव्य सम्बन्ध बनाएका छन् । सीलाई विमानस्थलमा रातो कार्पेट ओछ्याएर चीन अमेरिका सम्बन्ध निकै बलियो छ । यी मुलुक प्रतिस्पर्धी भन्दा पनि सहयोगी हुन् भन्ने कुरा अथ्र्याउने गरी उनले सीलाई भव्य स्वागत गरे । यद्यपि सीको यो भ्रमणको सबैभन्दा ठूलो तत्कालीन उपलब्धि व्यापारिक युद्धविराम हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीचको व्यापारिक युद्धविरामलाई थप दुई महिना लम्ब्याउने सहमति गरको पनि खुलाएका थिए । यस सहमतिअनुसार अमेरिकाले चिनियाँ अर्थतन्त्रमाथि लगाउने केही ट्यारिफ र प्रतिबन्धलाई स्थगन गर्नेछ भने बदलामा चीनले अमेरिकी उद्योगहरूका लागि नभई नहुने रेयर अर्थ मिनरल्सको निरन्तर आपूर्ति गर्नेछ।


यस दुई महिनाको अविधि निकै अर्थपूर्ण रहेको छ। आगामी नोभेम्बर ३ मा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ। अक्टोबरमा बेइजिङमा कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक, नोभेम्बरमा चीनमै एपेक सम्मेलन र डिसेम्बरमा मियामीमा जी–२० सम्मेलन हुँदैछन्। सी जिनपिङ समय किनिरहेका छन्। मध्यावधि चुनावपछि ट्रम्प अमेरिकी राजनीतिमा कमजोर बन्न सक्ने आँकलनसहित सीले हाललाई यो भद्र सहमतिलाई निरन्तरता दिने रणनीति अपनाएका ब्रुकिङ्स इन्स्टिच्युसनका विश्लेषक जोनाथन सीजिनको दाबी छ । ००००

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ३ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित