३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

तिलोत्तमा भ्यूटावरमा संरचना थप्न पर्यटन मन्त्रालयको स्वीकृति,सरकारी ध्यान अझै भ्यूटावरमै


१ श्रावण २०८२, बुधबार  


पर्यटन मन्त्रालयले रुपन्देही तिलोत्तमा नगरपालिकाले वनबाटिकामा निर्माण भएको भ्यूटावरमा पूर्वाधार बनाउन सहमति दिएको छ।

तिलोत्तमा नगरपालिका–१ मा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनबाटिका० मा बहुउद्देश्यीय भ्यू टावर निर्माण भएको छ । यस भ्यू टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकालाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सहमति दिएको हो ।

मन्त्रालयको सहमतिपछि नगरपालिकालाई आफ्नै लगानीमा टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी बाटो खुला भएको छ । पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकाले संस्कृति, पर्यटन मन्त्रालयसँग लागत साझेदारी गरेको थियो । तर, साझेदारी अनुसार मन्त्रालयले बजेट उपलब्ध नगराएपछि टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणले पूर्णता पाउन सकेको थिएन ।

लागत साझेदारी भइसकेको क्षेत्रमा नगरपालिका एक्लैले पूर्वाधार निर्माण भुक्तानी गर्दा कानुनी अड्चन आउन सक्ने भएकाले तिलोत्तमाले पर्यटन मन्त्रालयको सहमति खोजेको थियो । पर्यटन मन्त्रालयले असार २९ गते सचिवस्तरीय निर्णय गर्दै तिलोत्तमा नगरपालिकालाई सहमति दिएसँगै अब पर्यटकीय पूर्वाधार निर्माणका लागि कानुनी अड्चन हटेको हो । नगरपालिकाले टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड खर्च गरेको छ भने आगामी आर्थिक वर्षको लागि एक करोड विनियोजन गरेको छ ।

पर्यटकीय पूर्वाधार अन्तर्गत टावर परिसरमा वाटर फाउण्टेन, स्वीम पुल, पार्किङ, कम्पाउण्ड वाल, शौचालय, गार्डेनलगायतका संरचना पर्दछन् । यी पूर्वाधार बनाउन झण्डै ५ करोडको ठेक्का सम्झौता भएकोमा अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने मन्त्रालयको सहमतिसँगै ठेकेदारलाई भुक्तानी गर्न कानुनी अड्चनसमेत हटेको छ । बाँकी संरचना आगामी आर्थिक वर्षमा निर्माण गरेर बहुउद्देश्यीय टावर सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नगरपालिका र वनबाटिकाको लागत साझेदारीमा वनबाटिकामा बहुउद्देश्यीय टावर निर्माण भएको हो । निर्माण गरिएको टावरको २०७८ चैत १५ गते हालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

त्यसबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । स्थानीय तह निर्वाचनको माहोलमा ओलीले सो टावरको उद्घाटन गरेका थिए । उद्घाटन भएपनि निर्माणको काम बाँकी हुँदा र पर्यटकीय पूर्वाधारहरु तयार नहुँदा बहुउदेश्यीय टावर साढे ३ वर्षसम्म पनि सञ्चालनमा आएको छैन ।

टावर बनाउने समयमा अन्य पर्यटकीय पूर्वाधारको परिकल्पना नगरिएकाले टावर मात्र निर्माण गरेर नगरपालिकाले प्रत्येक वर्ष ३९ लाख ५० हजार बहाल पाउने गरी ठेक्कामा दिएको थियो । तर, ठेक्का पाएको कम्पनीले पर्यटकीय पूर्वाधारका काम निर्माण नभएसम्म टावर सञ्चालन गर्न नसक्ने जनाएपछि टावर अलपत्र परेको थियो ।

झण्डै ९ करोडको लागतमा बनेको टावर सञ्चालनमा नआउँदा सर्वत्र आलोचना भइरहेको थियो । मन्त्रालयको सहमतिले अब तिलोत्तमा नगरपालिकाले टावरमा पूर्वाधार निर्माणका काम आफैंले काम गर्ने छ । दस तले टावर १३४ फिट उचाइको छ ।

टावरको २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलन्यास गरेका थिए । काठमाडौंको धरहरा पछिको अग्लो र सुविधा सम्पन्न भनिएको टावरको भुइँ तला तीन हजार ५९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको छ । लिफ्ट सुविधासहित बनेको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, बातानुकुलित कोठा, लाइब्रेरीलगायत राख्न संरचनाहरू बनाइएको छ ।

टावर सञ्चालनमा आउँदा वनबाटिकाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने आशा गरिएको छ । टावर सञ्चालनमा आउँदा नगरपालिकालाई नियमित आम्दानीको स्रोत समेत बन्नेछ । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिन्छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ३ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित