४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

सिमेन्टको बजार भाउ बढ्याे,प्रतिबाेरा एक सय रूपैयाँ मूल्य वृद्धि !


१२ मंसिर २०८१, बुधबार  



सिमेन्टकाे मूल्य वृद्धि गरिएको छ।उद्योगीले सिमेन्टमा प्रतिबोरा एक सय रुपियाँ मूल्य बढाएका छन् ।

मंसिर ४ गते बजारमा ४०० रुपैंया प्रतिबोरामा उपलब्ध भएको पिपिसि सिमेन्टको मूल्य हाल ५०० भन्दा माथि पुगेको छ । यस्तै ४३ ग्रेडमा उपलब्ध ओपिसि सिमेन्टको मुल्य प्रतिबोरा ९० देखि १०० रुपैंया बढी पर्ने र ५३ ग्रेडमा प्रतिबोरा थप १५ देखि २० रुपैंया बढ्ने छ । सिमेन्टको यो मुल्य अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

केडिया अर्गनाइजेशन अन्तर्गतको वृज सिमेन्टका सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलले प्रतिबोरा एक सय रुपियाँको हाराहारीमा सिमेन्टको मूल्य बढेको जानकारी दिए । “यतिबेला सबै सिमेन्ट उद्योगहरु घाटामा चलिरहेका छन्, कर्मचारीलाई तलव खुवाउन सक्ने स्थिति पनि छैन, त्यसकारण बाध्य भएर मूल्य वृद्धि गर्नु परेको हाे।”

नेपाल निर्माण व्यवसायी महासंघले भने सिमेन्टलगायत निर्माण सामाग्रिको मूल्य वृद्धिको विरोध गरेको छ । आज( बुधबार) महासंघले विज्ञप्ति निकालेर मूल्य वृद्धि नै खारेज गर्न माग गरेको हो । पटक पटक गरेर १ महिनामा नै सिमेन्टको मूल्य प्रति बोरा १ सय रुपैयाँ मूल्य वृद्धि भएको महासंघले बताएको छ ।

‘सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्य वृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गरी प्रति बोरा १ सयभन्दा बढी मूल्य वृद्धि गरिएको छ । निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेन्ट उद्योगीहरूले मूल्य वृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको यस महासंघको ठहर रहेको छ ।’

विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्य वृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले बताएको छ । मूल्य वृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पर्ने बताएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ०९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित