गएको आइतबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा एमाले नेता कर्ण थापामाथि दुर्ववहार गरियो । एमालेको महाधिवेशन नजिकै गर्दा ओलीको विपक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसका लागि कर्ण थापाले लबिङ गरिरहेका छन् । ओलीको कडा आलोचक समेत रहेका कर्णबहादुर थापामाथि केन्द्रीय कार्याल च्यासलमै धक्कामुक्का भएको हो।
उनलाई यस्तो व्यवहार गर्ने व्यक्ति हुन्, एमाले महासचिव शंकर पोखरेलका वफादार कार्यकर्ता कृष्णसागर वली ।
गुण्डुमा ओलीलाई सुरक्षा पहरा दिन खटिएका कृष्णसागर गएको जेठमा पोखरामा भएको एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा अनुशासन आयोगको उपाध्यक्षमा समेत उठेको देखिन्छ । उनले युवासंघको महाधिवेशनताका केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा लडेको जानकारी दिन केपी ओली र शंकर पोखरेलको फोटोसहितको पोस्टर पनि बनाएका छन् ।
आइतबारको कार्यक्रममा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेता सहभागी हुँदा कर्ण थापा पनि मिसिए । ओलीसँगै च्यासलस्थित भवनको माथिल्लो तलमा उक्लिने क्रममा थापाले दुर्व्यवहार गरेका ती व्यक्ति बलात्कारमा मतियार गरेको अभियोगमा २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन्।
उनीसँगै थापालाई ओलीको छेउमा जान नदिई धक्का मुक्का गर्ने व्यक्तिको स्थायी घर दाङको तुलसीपुर उपमहानगरपालिका(६ का कृष्णसागर वली रहेको पाइएको छ।
उनी बलात्कार मुद्दाका मतियार भएको अभियोगमा मुद्दा झेलेका व्यक्ति हुन्। ओलीको सुरक्षामा तैनाथ दाङका यी वली बेला बलात्कार जस्तो जघन्य अपराधमा मतियारका रुपमा जेल सजाय सुनाइएका व्यक्ति हुन् ।
दाङमा २०६७ सालमा एक होटलबाट अपहरण गरी १८ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । यश बलात्कारका मुख्य अभियुक्तलाई सर्वोच्च अदालतले २०७९ जेठमा १६ वर्ष लामो जेल सजाय सुनायो ।
रुकुमको चुनवाङकी १८ वर्षकी लक्ष्मी आफ्ना केटा साथीसँग दाङको तुलसीपुरस्थित कृष्णसागर होटलमा बसेकी थिइन् । होटलमा हल्ला गर्दै बसेका १० जना युवाहरूले टेलिभिजनको आवाज ठूलो बनाएर माथिल्लो तलासम्म डिस्टर्ब गरेपछि लक्ष्मीका केटा साथीले होटल मालिकलाई भनेका थिए ।
होटल मालिकलाई पोल सुनाएको भनेपछि उनीहरू लक्ष्मीका केटा साथीमाथि खनिए । उनलाई घाइते बनाएर छाडेका उनीहरूले लक्ष्मीलाई अपहरण गरेर उठाए । त्यसपछि त्यसबेलाको तुलसीपुर नगरपालिका-५ र ९ को बीचमा पर्ने पातुखोला किनारमा लागेर उनीमाथि रातभर सामूहिक बलात्कार गरे। उक्त बलात्कार प्रकरणमा संलग्नमध्ये तीन जनालाई सर्वोच्चले २०७९ जेठ १२ गते १६ वर्षको कैद सजाय सुनायो ।
अन्तिम अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासले दाङको साविक मानपुर गाविसका सुनील वली, बुद्धिप्रकाश केसी र यादव टन्डनलाई अपहरण र सामूहिक बलात्कारमा १६ वर्ष कैद कैद सजाय सुनाए । त्यसबेलाको मुलुकी ऐनअनुसार बलात्कारमा पाँच वर्ष, सामूहिक रूपमा उक्त अपराध गरेकाले थप पाँच वर्ष, अपहरणमा चार वर्ष र सामूहिक रुपमा उक्त कसुर गरेकाले थप दुई वर्षसहित ६ वर्षको कैद सजाय तोकियो ।
बलात्कारमा संलग्न मध्ये दाङको मानपुरका चन्द्र बीएम र उरहरिका नवीन बस्नेत फरार थिए । तर त्यही मुद्दामा मुछिएकामध्ये एकजना थिए कृष्णसागर वली । त्यसबेलाको साबिक उरहरिका सचिन योगी, मानपुरका कृष्णसागर वली र मिनकेतन गिरीलाई पनि सर्वोच्चले दोषी ठहर गर्यो । वलीले सर्वोच्चको फैसलाअघि नै जिल्लाको फैसलाअनुसार सजाय भुक्तान गरिसकेका थिए ।
उनीहरूलाई सहयोगी (मतियार) को भूमिकामा दोषी ठहर गर्दै सर्वोच्चले जनही दुई–दुई वर्षको कैद सजाय तोक्यो । बलात्कारमा परेकी युवतीले कृष्णसागरसहित तीनजनाले आफूलाई अपहरण गर्न सघाएको बयान दिएकी थिइन् । सर्वोच्चले प्रमाण नपुगेको ठहरसहित मतियारका रुपमा कृष्णसागरसहित तीनजनालाई जनही २र२ वर्षको सजाय सुनायो । कर्ण थापालाई दुर्व्यवहार गर्नै उनै कृष्णसागर त्यो दुई वर्षको सजाय भुक्त गरेर छुटेका व्यक्ति हुन् ।
यी कृष्णसागरलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पनि पटक पटक पक्राउ गरेको खुलेको छ। अहिले राष्ट्रिय युवा संघमा लागेका उनी २०७९ को निर्वाचनका बेला नेपाली कांग्रेसमा थिए । अहिले उनै दाङका वली उता झापाका ओलीको सुरक्षामा तैनाथ छन् ।
यति मात्रै होइन,बलात्कार मुद्दामा मतियारका रुपमा दोषी हुनु अघिबाटै कृष्णसागर विवादमा थिए । उनलाई २०७० असोज २१ मा दाङको तुलसीपुर नगरपालिकामा अर्को समूहले खुकुरी हानेको थियो ।
तुलसीपुर नगरपालिका-६ घोराही रोडस्थित सपना रेस्टुरेन्टअगाडि तुलसीपुर-५ निवासी २५ वर्षीय कृष्णसागर वली र २६ वर्षीय सुरज वलीमाथि ६र७ जनाको समूहले खुकुरी हानेको थियो ।
खुकुरी प्रहारबाट हात र खुट्टामा चोट लागेका दुवैजनाको तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचार नेपालगञ्जमा गरियो ।
सपना होटल अगाडि कृष्णसागर वली र सुरज वलीलाई खुकुरी र तरबार प्रहार गरेको घटनामा त्यसबेला दाङकै मानपुर–४ का प्रकाश बस्नेत पक्राउ परेका थिए । उनलाई प्रहरीले २०७१ जेठ २९ मा पक्राउ गरेको थियो ।








