३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

तीज : नारी शक्तिको सम्मान र संस्कृति संरक्षणको पर्व बनोस्


२६ श्रावण २०८२, आइतबार  


सर्वप्रथम, आँउदो हरितालिका तीजको सुखद् अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा मंगलमय शुभकामना ।

तीजले तपाईको जीवन अझै सुन्दर, रंगिन र सार्थक बनोस् । तीजले तपाईहरुको आत्मसम्मान, स्वाभिमान र निर्भयपूर्ण जीवन जिउने सन्देश र सामर्थ्य दिन सकोस् ।

आधुनिक समाजमा हामीले तीजलाई राम्रो लगाउने, मीठो खाने र नाँचगान गर्ने एउटा रमाइलो पर्वको रुपमा लिने गरेका छौ, त्यही अनुसार तीज पर्व मनाउने गरिन्छ पनि । तर, तीजको महिमा र महत्व यत्तिमै सीमित छैन । तीज सम्बन्धि पौराणिक कथा पनि छ । जहाँ भगवान महादेवलाई पाउनका लागि भन्दै पार्वतीले निराहार व्रत बसेर साधना गरिएको कथा छ । यसले महादेवलाई पाउन मात्रै होइन, साधना र संघर्षबाटै सफलता हासिल गर्न सकिन्छ भन्ने सामाजिक र सांस्कृतिक सन्देश पनि दिएको पाइन्छ ।

साधनाविना फल प्राप्ति असम्भव छ, भन्ने सन्देश दिने यस तीजको शुरुवाती कहिलेदेखि भयो ? यसको कुनै तिथिमिति यकिन नभएको संस्कृतिविद्हरु बताउँछन् । यद्यपि तीजको शुभारम्भ आदि अनादिकालदेखि भएको हो । सामाजिक र सांस्कृतिक पर्वको रुपमा विकास हुँदै आएको तीज पर्व आफैमा एउटा पर्व मात्रै होइन, यो महिलाहरुको आत्मसम्मान, अस्तित्व, पहिचान, स्वाभिमान र सामर्थ्य अभिव्यक्त गर्ने अवसर पनि हो । यो सामाजिक तथा सांस्कृतिक चेतनाको प्रवाह गर्ने एक विशेष दिन पनि हो ।

हिजोका जमानामा आफू दबिएको, थिचिएको र शोषणमा परेको विलौनाको कहानी गीतको माध्यमबाट भनिन्थ्यो । जतिबेला सानै उमेरमा विहे गरिने प्रचलन थियो । आफ्नो भाग्य र भविष्यको निधो गर्ने उमेर हुन्थेन । आफ्नो सबै जीवन श्रीमान्मै निर्भर हुनुपर्ने सामाजिक परिस्थिति र परिवेश थियो । समाज अहिले जस्तो खुला पनि थिएन, बाहिरी दुनियाँसंग महिलाहरु सधै अलग राखिन्थे । महिलालाई इज्जत र संस्कृति धान्ने साधन झै ठानिन्थ्यो ।

तर, समाजले उनीहरुको इज्जत, स्वाभिमान र आत्मसम्मानप्रति कहिल्यै ख्याल गर्दैनथ्यो । महिलाले गृहस्थिति धानिदिनुपर्दथ्यो । तर, उनको स्वामित्वमा गृहस्थति, सम्पत्ति र श्रोत साधन हुदैनथियो । त्यस्तो बेलामा महिलाहरुको चाहना श्रीमान्ले राम्रो धोती किनिदेओस्, सासुले राम्रो बचनले खान दिउन् भन्ने थियो । परिवारले पनि उत्तिकै मर्यादा र सम्मान गरोस् भन्ने हुन्थ्यो । न्यूनतम मानवीय मर्यादा, सम्मान र स्वामित्वबाट बन्चित भएको बेलामा ती शब्दहरु तीज गीतहरुमा पनि सान्दर्भिक हुन्थे र ठानिन्थे ।

जुन कुरा हामी अघिको पुस्ताले भोग्यो । त्यही अनुभवलाई तीजको अवसरमा दुःख र संघर्षका कहानी बनाएर गीत मार्फत सुनाइन्थ्यो । अघिल्लो दिन दर खाइन्थ्यो र दोश्रो दिन अर्थात तीजका दिन नुहाइधुवाइ गरी गाउँको चौतारोमा दिदीबहिनी भेला हुन्थे । गाउँभरीका दिदीबहिनी एक थलोमा बसेर विरहका गीत गाउँथे अनि नाँच्थे र रमाइलो गर्दथे । सामूहिकरुपमा गीत गाएर अनि नाँचेर तीज पर्वलाई धुमधामले मनाइन्थ्यो । त्यत्तिबेलाको समाजको चेतना र परिवेशले त्यो स्वभाविक थियो होला र हो पनि । किनकी महिलाहरु समाजमा दबिएका थिए ।

पितृसत्तात्मक सोँच र दासताको जन्जिरमा थिए । शिक्षा र सूचना प्रविधिको विकास भएकै थिएन । सबै कुरा पुरुषमा निर्भर रहनुपर्दथ्यो । पुरुषकै लागि कामना गर्नुपर्दथ्यो । पुरुष निर्णयकर्ता, संरक्षणकर्ता र पालकर्ता नै मानिन्थ्यो । महिलाले जतिसुकै मेहनत र परिश्रम गरेपनि उनीहरुको कही कतै लेखाजोखा हुँदैनथियो । एकप्रकारले भन्ने हो भने, उनीहरु समाजमा दोश्रो दर्जाको नागरिक झै ठानिन्थे ।

आफ्नो अस्तित्व, पहिचान थिएन । तर, आज समाज आधुनिक भैसकेको छ । समाज खुला छ। शिक्षा, र सूचना प्रविधिको विकासले धेरै अवसरहरु खुलेका छन् । हिजोको बन्द समाज आज खुला भएको छ । आज हरेक महिलाले उसको व्यक्तिगत सामर्थ्य र क्षमता राख्न सक्छे । आजको महिला अध्ययन गर्छे, समाज बुझ्छे । कस्तो वर उपयुक्त हुन्छ या हुदैन आफै निर्णय गर्न सक्छे । कम्तीमा पच्चिस छब्बिस वर्ष वर्षको उमेरको हाराहारीमा मात्रै विहे गर्दछे । मन मिलेमा जीवन चलाउँछे । मन नमिले हार्दिककतासाथ अलग बस्छे । किनकी उ अब कसैमा निर्भर रहनु पर्दैन । आफ्नो क्षमता, दक्षता र योग्यताले उ आत्मनिर्भर हुन्छे र हुन सक्छे ।

यो समाजमा आएको ठूलो परिवर्तन हो । नारी अस्मिता, अस्तित्व र अधिकारको सुनिश्चित भएको छ, संविधानमा । समाजले पनि नारीप्रति हिजोको समाजमा जस्तो व्यवहार गर्दैन आज । दृष्टिकोण राख्दैन त्यस्तो । पुरुषको जस्तै सोच्न सक्ने महिला पनि । उसको पनि पुरुषको जस्तै मष्तिस्क छ, तातो र रातो रगत अनि बलिया पाखुरी पनि छन्। यीनैको तागतमा हरेक नारी स्वतन्त्र र स्वाभिमान तरिकाले समाजमा बाँच्न सक्छे । समाज र देशको नेतृत्व गर्न सक्छे । जिम्मेवारीप्रति सधै दत्तचित्त महिलाले मुलुक हाँक्न र समाजलाई विकासको नयाँ चरणमा पुराउने सामर्थ्य राख्छे ।

आजको नारी हिजोको जस्तो जन्जिरमा जिएका छैनन् । उनीहरु चरी झै स्वतन्त्र छन्। निर्भयताका साथ बाँच्ने गरेका छन् र बाँच्न सक्छन् पनि । आजको बदलिदो समाज र परिवेशले महिला अजय शक्ति र सामर्थ्य हो भन्ने प्रमाणित गरिदिएको छ। यस्तो समाजमा अब आफू कमजोर र पराधीन भएको मानसिकता राख्नु आफैले आफैलाई अयोग्य ठहराउनु हो । तीज जस्ता पर्वंमा खान दिएनन र लगाउन दिएनन् भन्ने सन्देशको गीत गाउन अब सुहाँउदैन । सबै हिसाबले आफू सक्षम भएर पनि अझै पुरुषकै निर्णयमा निर्भर रहनु भनेको स्वयं महिलाले आफूलाई आफैले पछाडि पार्नु हो ।

त्यसकारण नारी शक्तिलाई कम नआँको । बरु हिम्मत र साहसका साथ समाज र देशको नेतृत्व गर्न आँट गरौं । तीजलाई अभिप्रेरेणाको सांस्कृतिक पर्व बनाऔं। तीजलाई रमाइलो बनाऔं, भड्किलो होइन । देखावटी र बनावटी होइन, सिर्जनशील र सन्देशमूलक तीजको रुपमा मनाऔ। तीजको महिमा र महत्व छ। समाजलाई जोड्न र संस्कृतिलाई अक्षुण राख्ने एक माध्यम हो, तीज पर्व। तीज पर्वमा हरेक महिलाले हिनताबोध गर्ने होइन, गौरव गर्ने पर्वको रुपमा विकास गरौं । परम्परा मूल्य मान्यताको संरक्षण गर्दै असल,सक्षम र योग्य नारी शक्ति निर्माणको अवसर तीजलाई बनाऔं । तीजको पावन अवसरमा सबै संघर्षशील, मेहनती र कर्मशील महिलाहरुप्रति पुनः हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  ९ : ३३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित