२९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026

आउँदो बिहीबारदेखि कृष्णभीरमा दोहोरो सवारी साधन पुनः सञ्चालनमा


२८ भाद्र २०८३, आइतबार  


पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बिहीबारदेखि दोहोरो सवारी साधन चल्ने भएका छन् । भदौ १४ मा त्रिशूली नदीमा आएको बाढीले भासिएको सडकमाथिबाट नयाँ ट्र्याक खोलेर सवारी साधन सञ्चालन गर्न लागिएको हो ।

नयाँ ट्र्याक खोलेको सडकमा अहिले ग्रेड मिलाउने काम भइरहेको छ । ग्रेड मिलाएर ग्राभेल गरिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । त्यस क्षेत्रको सडक सुधारका लागि भृष्णभीरमा सडक विभागका प्राविधिक टोली खटिएका छन् । सडक भासिएको ७ दिनपछि २० भदौमा ‘डाइभर्सन ट्र्याक’ खोलिएको थियो ।

ट्र्याक खोल्ने काम भने पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागमार्फत नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो । छिटो ट्र्याक खोल्न विभागले सोसाइटीसँग समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरेर काम अघि बढाएको थियो । भासिएको खण्डको २ सय ५२ मिटर ट्र्याक खोलेर सुधार गर्ने काम भइरहेको सडक विभागका महानिर्देशक जैसीले बताए । ‘अहिले सडक सुधार गरेर सवारी सञ्चालनको अन्तिम तयारी छ, बिहीबारदेखि दुईतर्फी नै सवारी साधन खुल्ला गर्छौं,’ उनले भने, ‘सवारी साधन सञ्चालनमा आए पनि प्राविधिक टोलीले त्यही बसेर निगरानी गरिरहने छ ।’

दीर्घकालीन समाधानका लागि पारिबाट सडक सुधार गर्ने काम भइरहेको छ । यस्तै यसको विकल्पमा सुरुङ वा पुल के बनाउने भनेर अध्ययनको क्रममा रहेको महानिर्देशक जैसीले बताए । कृष्णभीरको नयाँ ट्र्याक खुलेपछि यात्रुवाहक, ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन लगायतलाई खुल्ला गरिने विभागले जनाएको छ । उक्त मार्ग काठमाडौं प्रवेश गर्ने लाइफलाइन सडक हो । यो खण्ड ठप्प बन्दा उपत्यकामा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ३ : ४६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित