१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

भ्रष्टहरुलाई बोक्ने की, उच्च नैतिकताको नेतृत्व खोज्ने ?


१९ श्रावण २०८२, आइतबार  


राजनीति मुल नीति हो, नीतिहरुको पनि नीति हो। जब यही मुल नै धुमिल भयो या समयको गति र जनअपेक्षा अनुसार काम गर्न र परिणाम दिन नसकेमा विद्रोह जन्मिन्छ या विकल्प खोजिन्छ। त्यो पनि नभए नयाँ विकल्प वा प्रणालीतिर देश जान सक्छ।

यद्यपि हामीले लामो संघर्ष र बलिदानबाट स्थापित गरेको समावेशी गणतन्त्र पर्याप्त छ। यो प्राप्ति आफैमा ऐतिहासिक र युगान्तकारी उपलब्धि हो। यसको संस्थागत विकासको विकल्प छैन। किनकी लोकतन्त्रको विकल्प अझ सुदृढ उन्नत लोकतन्त्र हो ।

राजनीतिमा सत्ताको दौडमा प्रतिस्पर्धा गर्न पार्टीहरू र तिनका प्रतिनिधिहरु चुनिएर जान्छन् र गइरहेका छन्। तर, राजनीति पोखरीमा जमेको पानी जस्तो पनि होइन, यो गतिशील हुन्छ र हुनुपर्छ। नेतृत्व हस्तान्तरण र पुस्तान्तरण राजनीतिका खास पक्ष हुन्। लोकतन्त्रलाई जीवन्त राख्न हस्तान्तरण र पुस्तान्तरण अपरिहार्य छन्। यसले मात्रै विधि र विधानबाट पाटी र सत्ता राजनीति चल्छ। लोकतन्त्र जीवनन्त रहन्छ ।

नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण नेतृत्वको परीक्षा लिने विधि पनि हो । यसले कार्यक्षमता प्रदर्शन गर्ने अवसर दिन्छ । तर, गएको दशकदेखि नेतृत्वको बन्ध्याकरण जस्तै गरिएको छ। एमालेमा ओली सर्वकालीक जस्ता छन्। प्रचण्ड पार्टी जन्मिएदेखि नेतृत्वमा छन्। कांग्रेसभित्र अलिकति लोकतन्त्र जस्तो देखिन्छ। जसले अब आउँदो महाविधेशनबाट अहिलेको कांग्रेसको विधान अनुसार देउवा पुनः नेतृत्वमा आउने छैनन् । तर, ओली र प्रचण्ड दोहोरिने तेहेरिने गरेका छन् र गर्छन् पनि अझै एक मुठी श्वास रहेसम्म्म पनि ।

मुलतः नेपाल कम्युनिष्ट बाहुल जनमत भएको देश हो । यहाँ कम्युनिष्ट जनमत करिब ७० प्रतिशत छ। पछिल्लो समय कम्युनिष्टहरुले धेरै पटक सरकार चलाए । कांग्रेसले सरकार चलाउँदा र कम्युनिष्टहरुले सरकार चलाउँदा कुनै त्यस्तो तात्विक भिन्नता भएको जनताले अनुभव गरेका छैनन्। ओली,देउवा र प्रचण्ड घुमिफिरी प्रधानमन्त्री भइरहेका छन् । मानौ उनीहरु यो देशको प्रधानमन्त्री मात्रै हुन जन्मेका हुन् । प्रधानमन्त्री बन्न उनीहरु बाहेक अरुको योग्यतै छैन ।त्यस्तै बन्दै गएको छ, यो देशमा।

ओली गए, देउवा दोहोरिन्छन्, देउवा गएमा प्रचण्ड फकिन्छन्। यीनीहरुको आउजाउले समयको बर्बादी , भ्रष्टाचार, बेथिति र अस्थिरता अनि सिंहदरबारमा फोटो झुन्ड्याउनु बाहेक त्यस्तो चमत्कारिक परिवर्तन देशमा भएको देखिन्न। यदि चमत्कारिक परिवर्तन भएको हुन्थ्यो भने, दैनिक त्रिभुवन विमानस्थलमा युवाहरुको ताँतीमा कमी आउँथ्यो। भ्रष्टाचार कुशासनले सिंहदरबारदेखि गाउँनगरको आँगनसम्म जरा गाड्ने थिएन। मानव तस्करीदेखि अडियो काण्डमा मुछिएका मन्त्रीहरु शानदारले झण्डा हल्लाउँदै सिंहदरबारमा ओहोरदोहोर गर्ने थिएनन् । बरु उनीहरु अख्तियारमा निन्याउरो मुख लगाउँदै बयान दिएका हुन्थे । कति त यतिबेला जेलको हावा खाइरहेका हुन्थे ।

तर, आफ्नै हात जगन्नाथ भने जस्तै छ,सरकारमा बस्नेहरुको लागि। उनीहरुमा न समाजको डर छ। न नैतिकता नै छ। बरु, भ्रष्ट, बलात्कारी, हत्यारा, माफिया, तस्करहरुलाई आम माफि दिने कानुन बनाएर आफूलाई सुरक्षित बनाउँदैछन्। कानुनको हतियार बनाएर आफूलाई सुरक्षित बनाउनु यो आफैमा मुलुकमाथिको धोका हो। विधि र पद्धतिमाथिको नियन्त्रण हो। यसले समाजलाई झन भयावह र अस्तव्यस्त बनाउने पूर्व महान्यायाधीवक्ता मुक्ति प्रधान बताउँछन्।

पछिल्ला सरकारका क्रियाकलाप र सरकारका मन्त्रीहरुका चालामालाले व्यवस्थामथि प्रश्न उठाइरहेको छ। प्रधानमन्त्री भ्रष्टाचार गरेमा चित्रगुप्तको अघि कसम खाने प्रविद्धता व्यक्त गर्दछन्। उता मन्त्रालयभित्रै पोखराको लिचीघारीको जग्गा हडप्न लाखौको डील हुन्छ । गृहमन्त्रीले भिजिट भिसाको नाममा दैनिक ५० लाख उठाउँछन्। तर, सरकार बोल्दैन । शासन सत्तामा बसेकाहरुको यस्तो प्रवृत्ति र चालामाला छ।

राजनीतिमा उच्च नैतिकता र इमान्दारिता सबै भन्दा बलिया हतियार हुन्। तर, सत्ताको धुरीमा बसेकाहरुमा नैतिकता र इमान्दारिता खोज्नु आफैमा हास्यासपद र लज्जास्पद जस्तै छ। यस्तो हुनुको कारण पटक (पटक सत्तामा फर्किन पाउने व्यवस्था नै हो। त्यसलाई रोक्ने कुनै विधि र मापदण्ड नबन्नु हो । २०४८ सालदेखि उनै अनुहार जनताले देखिरहेका छन्, भोगिरहेका छन्। राजतन्त्र ढल्यो । गणतन्त्र आयो। बागमतीमा धेरै पानी बगिसक्यो । तर, यीनै मक्किएका अनुहारहरुको दिन गएन। घरले जा–जा र वनले आइजा –आइजा भन्दासम्म पनि पदको कुर्सीमा लम्पट छन्।

लोकतन्त्रको उन्नत अभ्यास भएका देशहरुमा राजनीतिलाई सेवा ठान्छन्, हाम्रो देशमा राजनीतिलाई पुस्तेनी पेशा मान्छन्। राजनीतिप्रतिको बुझाइ र गराइमा आकाश पाताल फरक छ। जनतामा पनि चेतनास्तरको उस्तै कमी छ। चुनावको बेला यीनैले दिएको झुठो आश्वासन अनि रक्सी मासुमा आफ्नो विवेक बेचिन्छ। जसको परिणाम देशले पाँच वर्ष दुःख पाउँछ। यस्तो जालझेल र दुःख पाउन थालेकोको ३५ वर्ष भो ।

तर,जनताले चेतेको देखिन्न। यीनीहरु राजनीतिक दोकान चलाएका छन्। देशभित्र उद्योग व्यवसाय घाटामा जाँदा पनि राजनीतिक व्यवसाय कहिल्यै घाटामा गएको देखिन्न। राजनीतिमा लागेकाहरुको जीवनशैली फेरियो । सडकबाट महल पुगे । तर, देशलाई तन्नम बनाए ।यही जनताको कोमल भावनामा यीनीहरुले मस्ती गरिरहेको छन्। जसको परिणाम जतिसुकै उन्नत व्यवस्था स्थापना गरेपनि मुलुकले सही बाटो पकड्न सकेको छैन ।

त्यसैमा पनि हाम्रो निर्वाचन र शासकीय प्रणाली समस्या छ। यद्यपि नेतृत्वमा उच्च नैतिकता र इमान्दारिता हुने हो भने प्रणाली प्राविधिक विषय मात्रै हो। तर, अनैतिक र बेइमानहरुका लागि हाम्रो विद्यमान निर्वाचन तथा शासकीय प्रणाली उर्वर बनेको छ। अहिलेको निर्वाचन प्रणाली अनुसार कसैको पनि पूर्ण बहुमत आउन सक्दैन । संसदले चुनेर प्रधानमन्त्री बनाउने व्यवस्था छ। पार्टीको सल्लाहमा राष्ट्रपति नियुक्त गर्ने तरिका छ। यसबाट राष्ट्रपति जनताको होइन, दल र नेताको बन्ने गरेका छन्। प्रधानमन्त्री र मन्त्री आ–आफ्ना कार्यकर्ता, माफिया, तस्कर आदि इत्यादिका हुने गरेका छन्।

जनताले चुनेर पठाएका प्रतिनिधि यथार्थमा जनताको नभएपछि उनीहरु जनताप्रति होइन, आफ्ना आसेपासेप्रति प्रतिवद्ध हुन्छन्। यस्तो प्रवृत्ति एक हिसाबले संस्थागत भैसकेको छ। प्रधानमन्त्री र मन्त्रीका नाममा थुपारिएका बथानहरु यस्का गज्जबका उदाहरण हुन्। नेता र मन्त्रीको सेवा चाकडी गरेर सरकारी नियुक्ति खाने गलत प्रथाको विकास भएको छ। स्वरोजगार र उद्यम भन्नेतिर ध्यानै हुन्न ।

यसर्थ विद्यमान निर्वाचन तथा शासकीय प्रणाली र नेतृत्वमा फेरबदलसंगै जनतामा उच्च राजनीतिक चेतनाको खाँचो छ। हामीले उन्नत लोकतन्त्र त स्थापना ग¥यौ, तर,उच्च नैतिकता र इमान्दारिताको नेतृत्व निर्माण गर्न सकेनौ । जसको परिणाम बलिदानबाट स्थापित गणतन्त्र फूल्न र फक्रिन नसकेको हो ।

आगामी २०८४ को आम निर्वाचनमा पनि हामीले विगतमा जस्तै यीनीहरुको भुलभुलैयामा लागेर विवेक बेच्यौ भने थप देश जनताले दुुःख पाउनेछ, यीनै अक्षम र नालायकहरु पुनः सत्ताको धुरीमा आउनेछन् । उस्तै गरी हामीमाथि फेरि कुशासन गर्ने छन्, भ्रष्टाचार र लुटतन्त्रमा बाजी मार्नेछन्।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  ७ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित