यही साल २०८१ मंसिर महिनाको तिथिमिति हो। यसै महिनाको १२ गतेका दिन डिजिटल पत्रिकादेखि छापा र सामाजिक सञ्जालमा दाङको एउटा खबर निकै भाइरल भयो। त्यो भाइरल भएको खबर थियो,घोराही–तुल्सीपुर चारलेन सडक विस्तारको ।
ठेक्कामा ख्यालठट्टामै गरिएको मजाकले २२ जनाको ज्यान लिएको यस सडक विस्तारको लागि नेपाल सरकारले बजेट सुनिश्चित गरेको विषय। थियो । यस खबरले पक्कै पनि करिब ७ लाख दंगालीलाई खुशीको सञ्चार अवस्य ग¥यो। यद्यपि धेरै आम दंगालीले विश्वास त गरे, तर भर भने परेका थिएनन्। यही आशंकाको बीचमा समयले करिब ५० दिन पार गरिसकेछ । सडक विस्तारको कतै अत्तोपत्तो देखिन्न भन्छन्, दाङका फोटो पत्रकार माधव केसी । उनी भन्छन्, “सडक जस्तो थियो, उस्तै छ। घोराहीदेखि तुल्सीपुर पुग्दासम्म कतै विस्तारको काम भएको देखिन्न।”
अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको पनि लामो समय भैसक्यो । नेपाल सरकारकै लागतमा विस्तार हुने भनिएको यस आयोजना यसअघि भारतीय एक्जिम बैंकको लगानीमा निर्माण हुन थालेको थियो । तर, अधुरै पारेपछि सडक मृत्युमार्ग बनेको थियो । यही निर्माधीन सडकका खाल्डोमा परेर २२ जना बढीको ज्यान गएको थियोे ।दलका नेताका लागि प्रतिष्ठा र राजनीति भविष्यको मानक बनेको यश सडक विस्तार हुने भएपछि जनतामा केही भरोसा पलाएको थियो ।
यश अघि भारतीय कम्पनीले सडक अलपत्र पारेपछि तत्कालीन प्रचण्ड सरकारले ठेक्का सम्झौता खारेज गरेको थियोे ।राजनीति तहमा विशेष पहल भएसंगै अर्थ मन्त्रालयले गएको मंसिर ११ मा राष्ट्रिय योजना आयोगलाई पत्र लेखी घोराही–तुलसीपुर सडक खण्ड चार लेन विस्तारका लागि बजेट सुनिश्चित भएको जानकारी गराएको थियो ।
पत्रमा उल्लेख गरिए अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत ३ अर्ब ९९ करोड ४९ लाख रूपैयाँको वहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयसमक्ष यश पत्र पठाएको थियो ।अर्थ मन्त्रालयले उल्लेखित बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत घोराही –तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको थियो । नेताकै कारण अलपत्र पारिएको यश सडकको लम्बाइ करिब २२ किलोमिटर रहेको छ।पटकपटकको डेलिगेशन र नागरिक दबाबपछि सडक विस्तारमा सरकारको आँखा पुनः खुलेको थियो । यद्यपि ठेक्कामा फेरि पहिलेकै नियति दोहोरिने संकेत देखिन थालेका छन्।
यश अघि प्रचण्ड सरकारकी मन्त्री रेखा शर्माले पहल गर्न सकिनन् । बरू ठेक्का सम्भझौता तोडेर सडक टालटुलमा जुटेकी थिईन। पछिल्लो समय एमाले महासचिव शंकर पोखरेलले अधुरो चारलेन सडक विस्तारका लागि अघि सरेका थिए ।
यस अघि घोराही–तुलसीपुर सडकलाई चार लेनमा विस्तार गर्ने काम ३० महिनाभित्र काम सक्ने गरी २०७५ माघदेखि सुरु भएको थियो । करिब एक दर्जन पेटी ठेकेदार कम्पनी फेरिएका थिए । पाँच पटक बढी म्याद थप भइसकेपनि सडकको काम उन्नाईसबाट बीस हुन सकेको थिएन । सडकको दुर्गतीलै स्थानीयले खेप्नु सास्ती खेपे । सडकमा उड्ने धुलोले सडक किनारका बासिन्दा र यात्रुहरुलाई खुबै रुवाउने मात्रै गरेन, अनाहकमै २२ जनाले ज्यान गुमाए ।
यस सडकका नाममा नयाँ दल रास्वपादेखि एमाले कांग्रेस र माओवादीले खुबै राजनीतिक खेती गरे। तर, सडक विस्तार अझै हुन्छ या हुन्न भन्नेमै छ। यस जिल्लाबाट शंकर पोखरेल जस्ता एमालेका महासचिव छन्। उनी धेरै पटक चुनाव हरुवा नेता भएपनि प्रधानमन्त्री ओलीका खास पात्र हुन्। यतिबेला ओलीकै नेतृत्वमा सरकार छ। शंकर पोखरेल चाहेमा सडक विस्तार आइतबारको विषय होइन।तर, आगामी चुनावीलाई लक्षित गर्ने गरी बिलम्ब गरिएको जानकारहरु बताउँछन्। जिल्लाको विकास भन्दा पनि यस्तै आयोजनाको काम देखाएर भोट बटुल्ने रणनीति भएको धेरैको ठम्याइ छ।
घोराही–तुलसीपुर चार लेन सडक निर्माण भारत सरकारको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको सहयोगमा सुरु भएको परियोजना हो । १ करोड २१ लाख ८२ हजार अमेरिकी डलर अर्थात नेपाली रुपैया एक अर्ब ६४ करोडको लागतको सडक विस्तार थालिएको थियो । यस विस्तार आयोजनाको जिम्मा भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको थियो । २०७५ साल माघ १५ मा सझौता भएको थियो। सम्झौता भएको मितिले अढाइ वर्षमा विस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि अन्ततः यो आयोजना तुहियो । सडक विस्तारको आयोजना तुहिएपछि फेरी ओली सरकारले स्वदेशी लगानीमा विस्तारको काम अघि बढाउने खबर सार्वजनिक भएको थियो । तर, यतिलामो समय भैसक्दासम्म पनि कतै सुरसार देखिन्न।
दाङले धेरै नेता जन्मायो। नेताको बथानहरुको सत्ता र सरकारमा पहुँच नभएको पनि होइन। शंकर पोखरेल, रेखा शर्मा, दीपक गिरी र डिल्ली चौधरी यस जिल्लाका प्रभावशाली नेताको रुपमा गनिन्छ। शंकर पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन्, रेखा शर्मा माओवादीका निर्वाचित सांसद १९ महिना सञ्चार मन्त्री भईन् भने दीपक गिरी सांसद छन् भने डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएर जागिर त खाए । तर, चारलेन सडकको विषयमा उनले कहिल्यै ध्यान दिएनन्। त्यही मृत्युमार्ग जस्तो बनेको सडकमा सरकारी पजेरो कुदाएर तुल्सीपुर भालुबाङ गरे, यति गरेर मुख्यमन्त्रीको फोटो झुण्डाएर विदा भए।
पठक पटक दंगाली जनताले मत दिए।तर, जतिपटक मत जनताले दिएपनि यीनीहरुको त्यसको कदर गरेनन्, जनताको विकासको चाहनालाई पाँच प्रतिशत पनि सम्बोधन गर्न ल्याकत राखेनन्।
अन्धभक्त कार्यकर्ताको जयजयकारमै यीनीको राजकीय पदको समयअवधि सकियो । तर, दाङको विकासको अवस्था जहाँको तँही रह्यो । उनका दलका नेताका नाममा चोक चोकमा शालिक, गेट र भ्यूटावर बनाउन उनीहरुले बजेटको पहल गरेपनि दाङको लाइफलाइनको रुपमा रहेका चार लेन सडकको विषयमा अहिल्येसम्म कसैले सिन्को भाँचेका छैनन्।