एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डबिचको माया–प्रेम पनि गज्जबको छ । जब –जब यी दुबै नेता संकटमा पर्छन् ।
तब तब यीनीहरु गहिरो प्रेममा पर्छन् । मुना मदनको भन्दा पनि गहिरो प्रेममा पर्ने यीनी दुई नेतामा अनौठो प्रेम भाव झल्किन्छ र अनि भत्किन्छ ।
यस्तो प्रेम दुनियाँमै विरलै हुन्छ होला, सायद । बुझ्नै नसक्ने प्रेममा रहेका ओली– प्रचण्ड कहिले पानी बाराबारको व्यवहार देखाउछन्, त कहिले नेकपा नामको विशाल जेट संगसंगै उडाउँछन् ।
सफलता हासिल गर्ने बेला लड्छन् । जब संकटको डिलमै पुप्छन्। अनि अकंमाल गर्छन् । मनभित्र कलुषित भावना र कपट लुकाएर भएपनि फेरि उज्यालो मुहार बनाइ मुस्कान देखाएर अंकमाल गर्छन् । यीनीहरुको प्रेम कहिले रोमियो जुलियटको जस्तो त कहिले मुनामदनको कहानी जस्तो देखिन्छ ।
मरेपछि स्वर्ग नर्क संगै जाने बाचासमेत गरेका यीनीहरुको प्रेम सम्बन्धमा जब ठूलो खटपट आयो । तब मन भाँचेका यीनीहरु लामो समय एकले अर्कोलाई मुख समेत हेर्न नसक्ने भएका थिए ।
२०७७ पुस ५ पछि भाँचिएको यीनीहरुमा मन यतिबेला फेरि प्रेमको अँकुरण हुन थालेको छ । त्यसको दृष्तान्त पछिल्लो समय देख्न पाइन्छ । सत्ताबाट लघारिएका ओली र पार्टी सिध्याएका प्रचण्डबीच यस्तो प्रेमिल दृष्य देखिन थालेको हो ।
नयाँ शक्तिहरुको उदयपछि भयमा रहेका यी नेता अब फेरि पुरानो तुसलाई थाँती राखेर चुनावमा एक भएर जाने संकल्प सहित फेरि भेटघाटमा जुटेका हुन् ।
केही दिन अघि गोप्य भेटवार्ता गरेका यी नेता फेरि आइतबार भेटवार्ता गरे । दिल्ली उड्नु अघि प्रचण्डले ओलीको दर्शन गरेर जानुले निर्वाचनका लागि खिचडी पाक्दैछ भन्न सकिन्छ ।
यी दुई नेताबीच प्रचण्डका विश्वासपात्र ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो । प्रचण्डले आइतबार भारतको नयाँदिल्ली जानु अगाडि ओलीसँग भेटेका हुन् । यीनीहरुबीच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्नेबारे छलफल भएको थाहा हुन आएको छ । यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन ।
जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको थियो । तर, अब अनौपचारिक कुराकानीलाई औपचारिकता दिन सुरु गरिएको छ ।
यद्यपि राष्ट्रिय सभा सदस्यको १८सीटमा बाँडफाँड भएको छ। एमाले कांग्रेस ७/७ र नेकपा ४ लिने सहमति भएको छ।प्रतिनिधि सभाको टुंगो लागेको छैन। प्रमुख दलबीच प्रतिनिधि सभामा पनि गठबन्धन हुने कांग्रेस नेता श्याम घिमिरे बताउँछन् । उनको बोलीमा लोली मिलाउँदै राष्ट्रिय संकटको समाधान गर्न दलहरू बीच सहकार्य स्वभाविक भएको बताउँछन् ,नेकपा नेता देवेन्द्र पौडेल।
नयाँ दलहरु एकजुट भइरहेको बेला मुख्य दलबीच गठबन्धन र एकताका चर्चा चलेका हुन्। ओली र प्रचण्डबीचको राजनीतिक सम्बन्ध नेपाली राजनीतिमा सधैं चासोको विषय रहँदै आएको छ । कहिले कटु आलोचक त, कहिले अभिन्न सहयात्री देखिने यी दुई नेताको सम्बन्धलाई राजनीतिक वृत्तमा संकटकालीन प्रेम भनेर व्याख्या गर्दा पनि फरक नपर्ला ।
लामो समयदेखि ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएको थियो । एकअर्कामाथि आरोपप्रत्यारोप गर्दै आएका उनीहरूबीच संवाद लगभग ठप्प जस्तै देखिन्थ्यो । तर, राजनीतिमा स्थायी शत्रुता वा स्थायी मित्रता हुँदैन भन्ने भनाइलाई पुष्टि गर्ने गरी पछिल्ला दिनमा ओली–प्रचण्ड सम्बन्ध फेरि न्यानो बन्दैछ ।
ओली र प्रचण्ड नजिकिएको देश र जनताको लागि भने पक्कै पनि होइन । सत्ता र शक्ति आर्जनको लागि मात्रै हो । किनकी जनताले पत्याउने अवस्था नआएपछि यीनीहरु मिल्न थालेका हुन् ।
यसअघि पनि संकटको मोडमा पुग्दा ओली र प्रचण्ड एकअर्कालाई अंगालो मार्दै सहकार्यको बाटो रोज्दै आएका उदाहरणहरू छन् । २०७४ असोज १७ गते दुनियाँलाई चकित पार्ने गरी गठबन्धन हुँदै २०७५ जेठ ३ मा पार्टी एकता गरेका थिए ।
नेकपा नामको जेट समृद्धिको गन्त्व्यमा पुराउने भन्दै उडाएका उनीहरुले अन्ततः दुघर्टना गराएका थिए । २०७७फागुन ११ मा नेकपा कानुनी रुपले दुघर्टनामा परेको थियो । नेकपा जहाज दुघर्टनाप्रति एकले अर्कोलाई दोष दिदै आएका यी बुढ्यौली नेताबीच फेरि राजनीतिक प्रेमको हिमचिम बढ्न थालेको हो । ०००








