७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

‘देश चुमेका ‘पर्यटन म्याराथन धावक’ रामसुन्दर बके !


७ भाद्र २०८३, आइतबार  


रामसुन्दर बके केवल पर्यटन व्यवसायी मात्रै होइनन्। उनी समग्र मुलुकको पर्यटनको उत्थानको हुटहुटी बोकेर पर्यटन म्याराथनमा कुदेका सक्रिय अभियन्ता हुन्।

उनको यो अभियान न कुनै चुनौतिका पहाडले छेक्छ। न कुनै चैते हुरी र बर्खे झरीले रोक्छ। पर्यटनको सपना बाकेर उनी अविराम हजार माइलको क्षितिज यात्रामा निस्किएका छन् । हर समय सक्रिय उनी थकित होइन, झन् उद्देलित र उत्साहित देखिन्छन् । सफा र स्वच्छ अनि अर्जुन दृष्टिको लयमा उनी देश दुनियाँ घुम्छन्। त्यसको पछिल्लो श्रृङखला अनुसार यतिबेला उनी कैलाश पर्वतसंग भक्तपुरलाई पर्यटनलाई जोड्न निस्किएका छन् ।

सपना,संकल्प र समर्पणको हुटुहुटी र उम्दा जोशका साथ लङ रेसमा कुदिरहेका रामसुन्दर हरेक पर्यटकीय क्षेत्रको अध्ययन र अनुभवमा गहिरो चासो र चिन्तन राख्छन् । मुलुकलाई समृद्ध बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन भएकोमा उनी सुस्पष्ट छन् । पर्यटनको प्रवर्धनमा दीयो बनेर उज्यालो छरिरहेका उनी संघर्ष र सफलतालाई दुई आँखाका नानी जस्तै मान्छन् ।

संघर्ष ,दुःख , पीडा, आँसु, अभाव र दबाबलाई छिचोल्दै र भोलिका स्वर्णिम सपनाहरू छिमल्दै अघि बढ्नु जीवनको सार्थक कर्म ठान्छन् । अतीतको संश्लेषण ,वर्तमानको विश्लेषण र भविष्यको आँकलन गर्दै जीवनलाई अघि बढाउनु पर्ने उनी सुझाउँछन्। जिन्दगीका अनेकन आरोह अवरोहलाई पाठशाला ठान्ने रामसुन्दर अध्ययन, अनुभव र अविछिन्नताको प्रतीक हुन्।

नदी जसरी अटुट र अविछिन्नरूपले बगिरहेको हुन्छ, रामसुन्दर बकेपनि नदी जस्तै सफा र कञ्चन उदेश्य र लक्ष्य बोकेर देश विदेश दौडिरहेका हुन्छन् । सफा मन ,स्वच्छ विचार र सदाचारको पहिचान बनाएका रामसुन्दर होटल संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष र होटल भिलेज हाइल्याण्डका सञ्चालक समेत हुन्।

उनी पर्यटकीय क्षेत्रको अनुसन्धान र सम्भावनाको खोजी, प्रवर्धनमा मन्थन र चिन्तन,बजारीकरणमा सशक्तीकरण, स्थानीय रोजगारीका सुत्र र लगानीका आयामहरूलाई गहिरो गरि बुझेका छन् । आफूले हासिल गरेका आधारभूत ज्ञान र सीप अरूलाई पनि बडो सरल तरिकाले बुझाउँछन् । समृद्धिको सम्भावनालाई तथ्यको कसीमा देखाउँछन् । व्यवसायीक योजना सुनाउँछन् ।

सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीपका ज्ञाता बकेले स्थानीय सरकारदेखि संघीय सरकारलाई पर्यटनको विषयमा निरन्तर घच्घच्याउँदै आएका छन् । नयाँ गन्तव्यस्थलको खोज तथा अनुसन्धान गर्दै आएका उनी मुलुकलाई धनी बनाउने क्षेत्र पर्यटन नै पहिलो भएको दाबी गर्छन् । सानोतिनो लगानीबाट पनि गाउँमा स्वरोजगार र रोजगार बन्न सकिने उनी तर्क गर्छन् ।

पर्यटन शिक्षा र उद्यमका लागि राज्यले नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएमा पर्यटन क्षेत्रमा लगानी बढ्नेमा उनी विश्वस्त छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा अविछिन्नरूमा अभियन्ता बके क्रियाशील छन् ।

अध्ययन र अनुभवबाट ठूलो ज्ञान हासिल गरेका उनी देश बन्नका लागि पर्यटनको उत्थान भए पर्याप्त हुन्छ भन्छन् । नेपालको ग्रामीण जीवन शैली , प्रकृति र संस्कृतिलाई नजिकैबाट अनुभवले छामेका उनी रैथाने संस्कृति र प्रकृतिको संरक्षणमा विशेष जोड दिन्छन् ।

प्रकृतिको काखमा निर्मित हाम्रो सभ्यता र संस्कृति बहुमूल्य भएकोले यसको सम्वर्धन, प्रवर्द्धन र संरक्षण गर्नु पर्नेमा उनको गहिरो चिन्तन छ। व्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थका लागि अनवरत क्रियाशील बकेले करिब करिब देश भ्रमण गरेका छन् ।

उनी तराईका समथर भूमिमा फैलिएका फाँटमा पनि उत्तिकै सम्भावना देख्छन् । चाहे हिमाली पाटन होस्, चाहे पहाडका चौरहरूमा पनि उत्तिकै सम्भावना भएको उनी चर्चा गर्छन् । तराई ,पहाड र हिमालसंग अध्ययन र अनुभवबाट साक्षात् गरेका उनी एक दिग्गज योजना दिन सक्ने सफल पर्यटन व्यवसायी पनि हुन्।

उनी पर्यटनको जिउँदो सपना बोकेर हरदम कुदिरहन्छन्। हजार माइलको यात्रा एकबाट शुरू हुन्छ भने झै अभियन्ता बके पर्यटनको म्याराथनमा अविरल ,अविराम र अविछिन्नरूपमा कुदिरहेका देखिन्छन्। पर्यटनको विषयमा नवीन सोच र त्यसको व्यवहारिक प्रयोगबाट कसरी परिणाम निकाल्न सकिन्छ भनेर उनी हर समय घोत्लिन्छन्।

उनी आफ्नै माटोमा वैभव देख्छन् । प्रकृति र संस्कृतिमा अथाह सपना कोर्छन्। हर दिन र हर स्थानमा उनी भोलिको भविष्य लेख्छन् । हाम्रो रैथाने संस्कृति र जीवन पद्धतिलाई समृद्धिको स्रोत ठान्छन् । चिन्तन, मनन र मन्थनमा उनी सक्रिय रहन्छन् । आफू धर्तीमा रहुन्जेल देश र समाजका लागि योगदान गर्न रूचाउँछन्। प्रकृति रहे सभ्यता र संस्कृति रहन्छन् । संस्कृति रहे मानव अस्तित्व पनि रहन्छ । यसर्थ प्रकृतिको संरक्षणमा सबै जुट्न उनी सुझाउँछन्।

हाम्रो पूर्खाले जसरी प्रकृतिको काखमा रहेर मौलिक नियम, पद्धति र परम्पराको निर्माण गरे। तिनै परम्परा र मान्यताहरू वर्तमान पुस्तादेखि भविष्यका पुस्ताका लागि अमूल्य निधि भएको ठान्छन् । हामीसंग जे हाम्रो मौलिकता छ, त्यही हो,पर्यटकलाई देखाउने पनि उनी भन्छन् ।

पर्यटनको विषयमा सामाजिक तथा सांस्कृतिक जागरण र आर्थिक उनयनका लागि आफ्नो सामाजिक दायित्व ठान्ने पर्यटन अभियन्ता बके अत्यन्तै सरल,सादगी र मृदुभाषी छन् । बिहानैको उषाकिरणसंगै चकमन्न मध्यरातसम्ममा पनि उनी पर्यटनको उत्थानलाई आफ्नो प्रमुख योजना बनाउँछन् ।

व्यक्तिगत हित भन्दा सामाजिक योगदानमा सक्रिय रहने बकेले पर्यटनलाई सपना, संकल्प र समर्पणका्े आलोकमा राखेर योजनालाई व्यवहारमा उतार्छन्। अनुभव र अध्ययनबाट आर्जित ज्ञान पनि बाँड्छन्। एक सफल पर्यटन व्यवसायी समेत रहेका उनी इतिहास,संस्कृति ,सभ्यताका विभित्र आयायमा बडो रुचि राख्छन् । हाम्रो बहुआयामिक सभ्यता र संस्कृतिको विषयमा पनि उनको राम्रो ज्ञान छ। अभियन्ता बके पर्यटनबाट गरिबीको अन्त्य सम्भव देख्छन् ।

यश क्षेत्रको विकास गर्न सकेमा विदेशमा भएका युवा स्वदेश फर्काउने सकिने दाबी गर्छन् । पर्यटन क्षेत्रको राम्रो बजारीकरण हुन सकेमा घर घरमा डलर पुग्नेमा उनी विश्वस्त छन् । मानव जीवनलाई सधैं आशावादी देख्ने पर्यटन व्यवसायी बके नेपालको भविष्य निकै उज्यालो देख्छन् ।

नेपालले विगतमा ठूला ठूला समस्या र चुनौति झेलेको चर्चा गर्दै उनी भन्छन् अबका दिनमा देशले ती चुनौति झेल्नुपर्ने छैन। हामीले देशप्रतिको माया गर्नुपर्छ । देशप्रति मायाको अर्थ देशलाई योगदान गर्नु हो ।देशलाई योगदान हरेकले उद्यमी संस्कृतिलाई अंगाल्नुपर्दछ । आर्थिक उन्नति विना कुनै पनि देश समृद्ध र सुखी अनि खुशी नहुने भएकोले पर्यटनलाई उद्यममा समाहित गर्नुपर्छ। हामीमा जाँगर ,लगनशीलता र उद्यमशीलता भएमा समृद्धि टाढा नभएको उनी बताउँछन् ।

हामीसंग पर्यटकीय अथाह सम्भावना छ। तर, हामीले हामीसंग भएको बहुमूल्य प्रकृति र संस्कृतिलाई चिन्न सकेका छैनौं । जसरी कस्तुरीले आफ्नो बिनाको सुगन्धको चाल नपाएको जस्तै मात्रै हो। यद्यपि पछिल्लो समयमा उद्यम र व्यवसाय गर्नुपर्छ भन्ने चेतना जागृत भएको पनि उनी सुनाउँछन् । सबै कुरा राज्यले गरिदिनु पर्छ भन्ने परम्परागत गलत मान्यता छ,यसलाई तोड्दै सबै उद्यम र व्यवसायमा जोडिएमा गरिबी र बेरोजगारी इतिहास बन्ने कुरामा उनी निश्चिन्त देखिन्छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  १२ : ३२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित