२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

दशै मान्न उपत्यकाबाट करिब पाैने ४ लाख यात्रु बाहिरिए


२१ आश्विन २०८१, सोमबार  



दशै मनाउन जन्मस्थान फर्किनेहरूकाे संख्या करिब पाैने ४ लाख पुगेको छ।यही असाेज १४ गते यता एक हप्ताकाे अवधिमा ३ लाख ६३ हजार १ सय ६४ जनाले उपत्यका छाेडेकाे प्रहरीले बताएको छ ।

दशैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

दशैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

एकातिर यात्रु भाडा महंगो छ, भने अर्कोतिर सडकको अवस्था झन् दयनीय छ। वर्षातका कारण भत्किएका सडक मर्मत सम्भार नहुँदा यात्रा कठिन मात्रै हाेईन, दुर्घटनाको जाेखिम पनि उत्तिकै छ।

बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दशैँको समयमा पनि घर जान नपाएर काठमाडौं उपत्यकामै रोकिन बाध्य छन् ।
दशैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।

यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौंबाट अछाम जानका लागि काठमाडौंको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए ।

उनले भने,’वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु,’ उनीजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : ०१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित