नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाह राजा हुन लायक नभएको बताएका छन् ।उनले ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी सभापति बनाउन सुझाव दिएका छन् । पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न योग्य व्यक्ति नभएको र भविष्यमा त्यस्तो सम्भावना नभएको बताए।
देउवाले भने, “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।”
साथै, उनले पार्टीका नेता र कार्यकर्तालाई गणतन्त्रको पक्षमा एकजुट भएर लाग्न निर्देशन दिएका छन्, र कुनै पनि हालतमा पूर्वराजा संवैधानिक राजा बन्ने कुरा असम्भव रहेको तर्क गरे।