१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

‘स्वतन्त्र’ शब्द र हाम्रो पत्रकारिता


५ आश्विन २०८१, शनिबार  



‘स्वतन्त्र’ शब्द पत्रकारिताको क्षेत्रमा बढी प्रयोग हुन्छ । तपाईले पत्रकारिता क्षेत्रलाई जीवनको प्रमुख पेशा नै बनाउनु भएको छ,भने, स्वतन्त्र शब्दलाई पत्रकारिता कसरी लिनु भएको छ ? अर्थात तपाई स्वतन्त्र पत्रकार हो ? आफैले आफुलाई सोध्नुस त ? के पाउनु हुन्छ ? नेपालमा अहिले पत्रकारहरु राजनीतिक दलहरुको छाँयामा रहेका प्रेस युनियन, प्रेस सगठन, प्रगतिशिल पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत जस्ता विभिन्न जातीय पत्रकार संघ÷संगठन भित्र रहेर पत्रकारिता गर्नेहरुको सख्या धेरै छ । तर, कुनै दल विशेषसंग नजोडिएको स्वतन्त्र पत्रकार सघ पनि छ । ती संगठन भित्र रहेर पत्रकारिता गर्नेहरु मध्य धेरै पत्रकारहरु नेपाल पत्रकार महासंघको सदस्य समेत भएका छन् ।

स्वतन्त्र शब्द संस्कृतबाट आएको तत्सम हो । स्व भनेको आफू वा आफ्नो भन्ने हुन्छ भने, तन्त्र भनेको शासन हो । जसको अर्थ आफ्नो लागि गरिने कर्म स्वतन्त्र हुन्छ । पाणिनीय व्याकरणमा (स्वस्व अवस्थायां प्रकृतिभावस्व) भनिएको छ । जसको अर्थ प्रकृतिसंग सन्तुलन रहनु भन्ने हुन्छ । प्रकृति भनेको वास्तविकता हो । यथार्थ हो । मानिस सदैव दबाब,दमन र निश्चित घेरा तोडेर आफ्नै अस्तित्व चाहना गर्ने र स्वतन्त्ररुपमा बाच्न खोज्ने प्राणी हो । संसारमा बन्धन कसैले चाहादैन । बन्धन नहुनु भनेको स्वतन्त्र हुनु हो । स्वतन्त्रताको आकार असीमित हुन्छ । यस भित्र सबै अटने, सबै जोडिने र सबैको स्थान सन्तुलन रहेको हुन्छ । स्वतन्त्र भनेको संतुलन पनि हो । आफ्नो अस्तित्वमा रहेर बसुधैव कुटुम्भकम् भने भावनालाई आत्मसात गरेर मात्र स्वतन्त्रतालाई कायम राख्न सकिन्छ । पत्रकारिताको क्षेत्रमा स्वतन्त्रता एक पहिलो आधार हो । जरो हो । माध्यम हो । महान वैज्ञानिक थोमस एल्भा एडिसनले भनेका छन् फैलिएर रहेका र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन ।


स्वतन्त्र पत्रकारिता त्यो हो, जहाँबाट अनेकौं रसहरु पैदा हुन सक्छ । जसबाट व्यक्ति, समाज, देश र विश्वलाई नै सुसूचित गराइरहेको हुन्छ । स्वतन्त्र पत्रकारिताले समाजमा दैनिक रुपमा भइरहने क्रियाकलापलाई सञ्चारको माध्यमबाट स्वतन्त्र ढंगले प्रकाशन तथा प्रसारण गर्दछ र वास्तविक ज्ञान, सूचना, शिक्षा, र मनोरन्जनका साथै सचेत एवं जिम्मेवार नागरिक बनाउन अभिप्रेरित गर्दछ । स्वतन्त्र पत्रकारिताको उद्देश्य आदर्श समाजको निर्माण गर्नु हो । स्वतन्त्रता विनाको पत्रकारिता अपांग मात्र होइन अपूर्ण हुन्छ र अधुरो हुन्छ । पत्रकारिताले समाज रुपान्तरण गर्न पर्छ । रुपान्तरण हुनु भनेको सकारात्मक परिवर्तन हुनु हो । सकारात्मक परिवर्तनले नै सबैको हित गर्दछ, भलो गर्दछ र वास्तविकता स्थापित गर्दछ । सत्यता, स्पष्टता, निष्पक्षता मात्र नभएर स्वतन्त्रता पनि पत्रकारितको आधार हो ।


पत्रकारिता पढने विद्यार्थीले सुरुमै सिक्ने वाक्यांश हो,आवाजविहीनहरुको आवाज । यसको मतलब हो, पत्रकारिता आवाजविहीनहरुको पक्षमा हुनुपर्छ । अर्थात् जो दुर्गममा छन, जो सीमान्तकृत छन, जसलाई राज्यका विभिन्न निकायले दिने सेवासुविधाको ज्ञान छैन, जसलाई आफ्नो अधिकार कति हो, त्यो अधिकार कसरी आर्जन गर्न सकिन्छ ? कसैले आफ्नो अधिकार हनन ग¥यो भने न्याय खोज्न कहाँ जाने भन्ने थाहा छैन । ती मानिसहरु आवाजविहीन हुन् । पत्रकारिताको विद्यार्थीले आफू पत्रकार भएपछि सीमान्तकृत व्यक्तिका आवाजको प्रतिनिधि भएर काम गर्न सक्नु पर्दछ ।

पत्रकारिताको विद्यार्थीलाई पढाइको सुरुतिरै पत्रकारिताका कार्यहरु पनि पढाइन्छ । जसमा पहिलो काम सूचित गर्ने, दोस्रो काम सचेत बनाउने र तेस्रो काम अभिप्रेरित गर्नेमा पर्दछ । यसैलाई अंग्रेजीमा इन्फर्म, एजुकेट र इन्सपायर भनिन्छ । पत्रकारिताका यी कामहरु पनि समाजमा भएका आवाज विहीनहरुलाई सशक्तिकरण गर्नतर्फ लक्षित छन् । पत्रकारिताको अर्को महत्वपूर्ण काम भनेको राज्यका निकायलाई सर्वसाधारण जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने पनि हो । उत्तरदायी भनेको सर्वसाधारणले गरेका प्रश्नहरुको उचित जवाफ दिने र गुनासोहरुलाई सम्बोधन गर्ने हो । जवाफदेही भनेको राज्यका निकायले गलत गरेको रहेछ भने त्यस्तो काम गर्ने कर्मचारीलाई कारबाही गर्ने हो ।


पत्रकारिता भनेको घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने संकलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतिकरण हो । पत्रकारिता पेशा हो, त्यहि पेशा भित्र रहेर पत्रकारले कुनै पनि सञ्चार माध्यममा आवद्ध भएर समाचार संकलन गरेर सम्प्रेषन गर्नु दायित्व हो । पत्रकारले सत्य, तथ्य र वस्तुपरक कुराहरुलाई समेटेर प्रकाशन वा प्रशारण गर्न पर्दछ । सायद त्यसैले पनि होला पत्रकारलाई देशको पहरेदार अथवा राष्ट्रको चौँथो अग भन्ने पनि गरिन्छ । पत्रकारिता र पत्रकार एक अर्काका परिपूरक हुन भन्दा पनि हुन्छ ।

पत्रकारिता पेशा हो ,भने पत्रकार त्यहि पेशामा भिज्ने व्यक्ति हो । पत्रकार भनेको त्यो व्यक्ति हो, जसले पत्रकारिताका शाश्वत मूल्य मान्यतालाई औपचारिक वा अनौपचारिक रुपमा पढेको वा बुझेको छ । पत्रकारिताका विभिन्न नीति नियमहरु अवलम्बन गर्दछ । कुनै व्यक्तिले पत्रकारिताका आधारभूत मान्यताहरुलाई आत्मसात गर्दै देश र जनताको हितका लागि अधिकतम पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ भने, त्यसले मात्र स्वतन्त्र पत्रकारिता गरेको मान्न सकिन्छ। यसरी पत्रकारले एकातिर सर्वसाधारणलाई सुसूचित, सचेत र उत्प्रेरित गर्ने अर्कातिर राज्यका निकायहरुलाई जनताको हितमा काम गर्न दबाब दिने अपेक्षा गरिन्छ ।

हरेक पत्रकार यी दुई भूमिकामा अब्बल सावित हुन सकेमा मात्रै पत्रकारिताले राज्यको चौथो अंग अर्थात सरकार, संसद र न्यायपालिका पछिको महत्वपूर्ण निकायको भूमिका निर्वाह गर्न सकेको मानिन्छ । तर हाम्रो पत्रकारिता हामीले सोचेजस्तो वा अन्तर्राष्ट्रिय सिद्धान्तहरुले विवेचना गरे जस्तो छैन । यसका विविध कारणहरु होलान, तर पहिलो कारण पत्रकारको चाकरी प्रवृति हो । पढने बेलामा आवाजविहीनहरुको आवाजलाई प्राथमिकता दिनु पर्ने कुरा पढेका भए पनि कतिपय पत्रकारको दैनिक व्यवहारमा त्यस्तो देखिँदैन ।

कुनै पत्रकार फूलको गुच्छा र खादा बोकेर नेतालाई एयरपोर्टमै स्वागत गर्न पुग्दछन् । नेतालाई सञ्चो भए पनि, विसञ्चो भए पनि, बोलाए पनि, नबोलाए पनि पत्रकार बनेर उनीहरुका अघिपछि रहन रुचाउँछ । आफूले चिनेको कुनै नेता सानोतिनो पदमा पुग्यो भने पनि राष्ट्रसंघकै महासचिव भएजस्तो गरेर सार्वजनिकरुपमै स्तुति र प्रशंसा गाउँछ वा आफूले काम गर्ने अखबारमै फोटोसहित शुभकामना र स्वागतका शब्दहरु चढाउँछ । यस्तो गर्नु पत्रकारिता होइन यो त चाकडीकारिता हो ।


हामी नेताले बोलेका, नबोलेका, व्यक्तिगत वा सार्वजनिक, उसको विगत र भविष्य आदि सबै समाचारमूलक हुन्छ, भन्ठान्छौं । अर्थात् हामी विषयवस्तुलाई कम र नेतालाई बढी महत्व दिन्छौं । कुनै कार्यक्रम राम्रैसँग सम्पन्न भएको छ, तर कुनै नेताले आफ्नो मर्यादा कम भएको गुनासो ग¥यो भने त्यसैलाई मुख्य समाचार बनाइदिन्छौं । यसको मतलब हामी नेतामुखी पत्रकार हौं । जसरी राणाकालमा राणाजीहरुका सबै गतिविधि समाचार बन्थे, जसरी पञ्चायतकालमा राजाका हरेक गतिविधिहरु समाचार बन्थे, अहिले हामीले त्यो ठाउँमा नेता राखेका छौं ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ०४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित