नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । यही पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ अध्यक्ष नियुक्तिका लागि समिति गठन गर्ने निर्णय गरेको हाे।
निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डामिएपछि पद रिक्त रहेको छ।उनी गएकाे मंसिर २४ मा भ्रष्टाचार मुद्दामा स्वतः निलम्बनमा परेका थिए ।
त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले ‘कामचलाऊ’ अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । आगामी माघमा यसै पनि सिलवालको कार्यकाल सकिँदै थियो । उनले २०७७ माघमा अध्यक्षको नियुक्ति पाएका थिए ।
भूकम्पको समयमा गृह मन्त्रालयका सचिव रहेका सिलवाल झण्डै २ वर्ष गृह मन्त्रालय हाँकेका र केही जिल्लामा प्रमुख जिल्ला अघिकारी (सीडीओ) समेत रहिसकेका कारण उनको स्वभाव हक्कि थियो । उनकै अध्यक्षताको समयमा तत्कालीन बीमा समितिलाई प्राधिकरण बनाइयो ।
पटक पटक उनको कार्यकालको विवाद पनि बाहिर आयो । यस अघिका अर्थमन्त्री वर्षमान पुनले त उनलाई हटाउन मन्त्रालयकै एक सहसचिव मार्फत् प्रस्ताव पठाएका थिए । उनै सिलवालले नेपालमा बीमा क्षेत्रका कम्पनीहरु मर्ज गर्न जोड दिन्थे भने सँगसँगै ‘लघु बीमा’को नाममा नयाँलाइसेन्स पनि बाँडेका थिए ।
सिलवालको बहिर्गमनपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया थालनी गरेको हो । यसका लागि पुस ९ गते मंगलबार बसेको मन्त्री परिषदको बैठकले एक सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य चुनिएका छन् । मन्त्री परिषदले ‘राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा’ समिति गठन गर्ने भनेको छ ।
तर ,अर्थ मन्त्रालयको मातहतमा आउने यो वित्तीय क्षेत्रको नियामकको क्षेत्राधिकार आयाेगभित्र उपाध्यक्ष अधिकारीले स्वयम् लिएका छन् ।