३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

अर्थमन्त्रालयमा मन्त्री पौडेलको सरूवा आतंक, स्थिर भनिएको सरकारबाटै कर्मचारी भयभीत


६ भाद्र २०८२, शुक्रबार  


एमालेले सम्हालेको अर्थमन्त्रालय यतिबेला आतंकित भएको छ ।

सरूवाका नाममा कर्मचारीलाई भयभीत पार्ने काम अर्थमन्त्री पौडेलले गरेको कर्मचारीहरू दुखेसो सुनाउँछन् ।

दुई ठूला दलहरूको नेतृत्वमा सरकार बनेपछि राजनीतिक स्थायित्वसंगै कर्मचारी संयन्त्रमा पनि काम गर्ने वातावरण बन्छ अपेक्षा भएपनि मन्त्रीका सनकले कर्मचारी आतंकित छन् । स्थिर सरकार बनाउने भन्दै दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाए पनि कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ।

स्थायी सरकारका रूपमा मानिने कर्मचारी प्रशासनलाई शक्तिशाली सरकारले अस्थिर बनाएको हो। पछिल्लो एक सातामै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आतंक चलेको छ।

एक सातामै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा अर्थका अधिकारीहरू छन् ।

अर्थ मन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले ध्यान केन्द्रित गरेका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक सातामै पौडेलले ६८ जना उपसचिवको सरुवा गरेका छन् ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोइरालालाई पठाइएको छ । कोइराला त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा कार्यरत थिए।

अर्थमन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तानेका छन् । मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एक दर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए ।

सरकार बनेको १ वर्षमा अर्थमन्त्री पौडेलले भन्सार विभागमा चार जना महानिर्देशक फेरिसकेका छन् । पौडेल अर्थमन्त्री भएपछि उनले नै महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए ।

भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखका रूपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाएर पठाएका छन् ।

पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए। पौडेलले निरौलालाई एक महिनामै हटाए । निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए ।

पौडेलले निरौलाको स्थानमा २०८१ भदौ ६मा हरिशरण पुडासैनीलाई महानिर्देशक बनाएका थिए । तर, पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन्। पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।

मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ।

भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् ।

भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन्। त्यस्तै सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सह- महालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलीपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिएका छन्। यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल थिए।

बजेट कार्यान्वयनको सुरुवातमै कर्मचारी तन्त्रमा अस्थिरता चरम रूपमा बढ्दा बजेट कार्यान्वयनमा धक्का पुग्ने अवस्था बढेको छ।

बारम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरू कार्यान्वयनमा समेत ठूलो असर पर्न सक्ने जानकारहरूको बुझाइ छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित