सुनसरी गोलीकाण्ड केवल घटना मात्रै होइन । यो हाम्रो सुरक्षा क्षमतामाथिको गम्भीर प्रश्न हो, भने सम्भावित घटनापूर्व सुरक्षाको आंकलन र विश्लेषणमा हाम्रो सुरक्षा संयन्त्र चुकेको पनि पक्का हो । अपितु यो घटनाको कारण केवल राज्य र उसका सुरक्षा संयन्त्र मात्रै जिम्मेवार छन् भनेर तर्क गरिनु अधुरो हुन्छ ।
सुनसरीको देवानगञ्ज ३ को गोली काण्डमा राज्यलाई मात्रै दोष दिएर घटनालाई विषयान्तरण गर्न खोज्नु फेरि अर्काे भूल हुन सक्छ । बरु, यस घटनाको विषयमा राज्यले गहिरो र तथ्यपरक अनुसन्धान गर्न उसका मेशिनरीहरुलाई इमान्दारढंगले परिचालन गर्न सक्नुपर्छ भन्ने कुरामा दबाब दिनु अपरिहार्य आवस्यकता हो ।
सुरक्षाको प्रत्याभूति नागरिकमा दिन र सामाजिक सम्बन्धका आयामहरुलाई पुनः निर्वादरुपले चल्ने स्थितिको वातावरण निर्माण राज्यबाटै हुनुपर्छ । यो संगै सामाजिक सद्भावलाई अक्षुण राख्न र पीडितलाई न्याय दिन नागरिक पनि उत्तिकै जिम्मेवार छन् र हुनुपर्छ । यति भनिरहँदा मृतक र घाइतेहरुको पीडालाई सामान्यीकरण गर्न खोजिएको अर्थ पनि नलागोस् । उनीहरुमाथि उचित न्याय दिन राज्य सकोस् र घाइतेहरको उपचारमा कुनै पनि अप्सनमा सरकार नचुकोस् ।
वर्तमानमा जे परिस्थिति सिर्जित भएको छ । यो केवल एकछिनको विवादले मात्रै भएको भन्नु घटनालाई सामान्यीकरण गर्न खोज्नु हो । किनकी कुनै पनि घटनाको पछाडि एउटै फ्याक्टर मात्रै जिम्मेवार कदापि हुँदैन । यहाँ हिन्दू र मुस्लिमबीच डिजे बजाएकै कारण मात्रै हिंसात्मक परिस्थिति बन्न सक्दैन । यो विन्दुसम्म आइपुग्नका लागि यस अघिका थुप्रै फ्याक्टरहरुले भूमिका खेलेका हुन्छन् । ती फ्याक्टरहरुको मिहिनढंगले अध्धयन र अनुसन्धान गरी यस्तो घटना दोहोरिन नदिन राज्यले भरपर्दाे वातावरण बनाउनुपर्छ । राज्यले सामाजिक हिंसाको आगो झोस्न र त्यही आगोलाई फैलाएर ताप्ने कुत्सित भावना भएका हरुमाथि गम्भीर अनुसन्धान गरी त्यस्ता तत्वहरुलाई बेलैमा नियन्त्रणमा लिन सक्नुपर्छ ।
सुनसरी घटना केवल घटना हो भन्ने तरिकाले तत्कालका लागि थामथुम पार्ने कोशीस कदापि गरिनुहुन्न ।घटनालाई हलुकारुपले लिएर तत्कालको आक्रोशको आगो निभाउन खोजिएमा त्यो भोलिका दिनमा फेरि कोइलामुनिको फिलिङ्गो बन्न सक्छ । त्यही आक्रोश र घृणाको त्यही फिलिंगोले हाम्रो समाजलाई डढाउन सक्छ । त्यसकारण यस विषयमा राज्य आफै गम्भीर बन्नै पर्छ ।
नेपाली समाज बहुल प्रकृतिको छ । यो बहुलता आजको होइन । सदियौ वर्षदेखिको सामाजिक र भावनात्मक सम्बन्ध जोडिएको हाम्रो समाज हो । यद्यपि यही समाजमा बेला बेलामा साम्प्रादायिक हिंसा किन दोहोरिन्छ ? यस प्रश्नको जवाफ पनि राज्यबाटै खोजिनुपर्छ । सदियौ वर्षदेखि मिलेर बसेको समाजमा जात र धर्मको नाममा द्वन्द्वको आगो झोस्ने काम बेला बेलामा कसले गर्दछ ? र किन गरिररहेको छ ? हाम्रो सुन्दर बहुल समाजमा हिन्दु र मुस्लिम या अन्य सम्प्रदायहरु पनि छन् । हामी हामीबीचको सहअस्तित्व, सहिष्ण्णुता र सदभाव युगौको हो । दुनियाँका लागि यो हाम्रो अनुकरणीय पहिचान र परिचय हो ।
सर्वप्रथम, हामी पहिले नेपाली हौ, नेपाल हाम्रो साझा फूलबारी हो । यही फूलबारीमा फूलेका हामी विभिन्न रंगका फूलहरु हौ । विडम्बना, बेला बेलामा जब साम्प्रदायिक भावना हाम्रो सामुन्नेमा आउँछ, । तब सुनसरीमा भएका जस्ता घटना दोहोरिन्छन् । धर्म र सम्प्रदायको नाममा मारमारको अवस्था बनिदिन्छ । यस्तो भयानक स्थिति बन्छकी, जहाँ राज्य एक्लैले मात्रै केही गर्न सक्दैन । राज्य शक्ति हो। तर, स्वयं निरीह बनिदिन्छ । त्यसका लागि नागरिक स्तरबाटै पहलकदमी हुनैपर्छ । त्यसैमा पनि हाम्रो राज्यको सामथर््य र संयन्त्र पनि कति छ भन्ने विषयमा धेरैलाई अवस्य पनि थाहा होला । राम्रो कामको जस लिने र दोष अरुलाई लगाउने प्रवृत्तिबाट कतै न कतै राज्य र राजनीतिक शक्तिहरु अभिशप्त छन् । जुन कुरा दोहो¥याउन नपर्ला ।
सबै भन्दा पहिलो शर्त हो, हामीबीचको मानवताको रक्षा गर्नु । मानवता विनाको कुनै पनि समाजको कल्पना पनि गर्न सकिन्न । हामी पहिलो मानिस हौ, अनि उसका परिचय या पहिचान अतिरिक्त हुन् र हुन्छ । हामी मान्छे भएपछि बल्ल कुनै धर्म या सम्प्रदायको सदस्य भएका हौ । धर्म या सम्प्रदाय कसैका आस्था र विश्वास होला । ती आस्थाहरुप्रति सबैले सम्मान गर्नुपर्छ । तर, यसको अर्थ आफ्नो आस्थामाथि आँच कसैले पुराउँदा हामी जति जुमुराउँछौ। उति नै अरुको आस्थामा पनि संवेदनशील बन्ने हो भने , समाजमा यस्ता हिंसा कहिल्यै दोहोरिन्नन् ।
अरुप्रतिको सम्मान नै वास्तविक धर्म हो । धर्मकै नाममा विभक्त हुँदा हामी स्वयंले धर्मकै चीरहरण गरिरहेका हुन्छौ । जुन कुरा हामीलाई आस्थाको पर्दाले दृष्टिविहिन झै बनाएको हुन्छ। जुन कुरा हामी आफै पनि पत्तै पाउन्नौ । यसरी आफ्नो आस्थाको रक्षाका लागि अर्काको आस्थामा अनास्थाको बीउ रोपेर धर्म आर्जन हुँदैन । बरु, त्यस्ता क्रियाकलाप धर्म विरोधी हो ।
यसर्थ सदियौ वर्षदेखि मिलेर बसेको हाम्रो नेपाली समाजमा बेला बेलामा दोहोरिने धर्म र आस्थाका नाममा हुने हिंसालाई रोक्न राज्य जिम्मेवार त छ नै । त्यसैमा पनि नागरिक तहबाटै यस्ता द्धैष, घृणा र प्रतिशोधको आगो ओकलेर सामाजिक हिंसा फैलाउने गलत कार्य र प्रवृत्तिको सचेतपूर्ण ढंगले प्रतिवाद गरिनुपर्छ । नातीकाजीको स्वरमा रहेको गीतले भने झै रहौला हामी कहाँ नेपाल नै नरहे भन्ने सन्देशलाई हरेक नेपाली हृदयंगम गरी राष्ट्रिय एकता र सामाजिक मेलमिलापका लागि सबै सबै जिम्मेवार बन्ने की ? ०००








