११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सम्पादकीयः सुनसरी साम्प्रदायिक हिंसा ! सुरक्षामा गम्भीर चुनौति !


११ श्रावण २०८३, सोमबार  


गएरातिको करिब साढे दश वजेतिरको समय हुन्छ । कोशी प्रदेशको सुनसरी देवानगञ्ज–३ कप्तानगञ्जमा एउटा भयानक घटना हुन्छ । घटनाले हिंसात्मक रुप लिन्छ । सामान्य विवादले उग्र रुप लिएपछि साम्प्रादायिक झडप नियन्त्रण बाहिर पुग्छ । हिन्दू र मुस्लिमबीच धार्मिक विवादका कारण परिस्थिति भड्किन्छ ।

विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु हुन्छ । घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यस क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गर्दछ । सुनसरीका पाँच स्थानमा स्थानीय प्रशासनले कफ्यु जारी गरेपछि स्थिति नियन्त्रणमा आउँछ । तर, सुनसरी गएराति भडिकएको हिंसात्मक घटनाले गम्भीर प्रश्न उठाउँछ । नेपालीबीचको सदभावलाई विथोलेर सामाजिक हिंसा फैलिन्छ र फैलाइन्छ । अध्याँरो पर्दामा खेलिएका यस्ता खेल पनि उत्तिकै भयानक हुन्छन् ।


नेपाली समाज बहुल छ । बहुधार्मिक तथा बहुल संस्कृति हाम्रा अनुपम नमुना हुन् । यही बहुल समाजमा रहेका नेपालीहरुको आ–आफ्नै धर्म,संस्कार र परम्पराहरु अस्तित्वमा छन् । हरेक नेपालीले सबैको अस्तित्व स्वीकारेका मात्रै छैनन्। सदियौदेखिको हाम्रो सदभाव र भाइचाराको सम्बन्ध दुनियाँमा अनुकरणीय मानिन्छ । यद्यपि पछिल्ला दिनमा धार्मिक भावनामाथि ठेस पुराउन खोजिएको देखिन्छ । यहाँ जुन हर्कतहरु भइरहेका छन्। यी नेपाली समाजका लागि अस्वीकार्य र अमान्य हुन् र हुन्छन् पनि ।


धर्म भनेको धारण हो । धर्म हरेक नागरिकको निजत्वको सवाल हो । धर्म भनेको अनुशासनमा बाँधिनु पनि हो । हरेक धर्म मानवसहित प्राणीहरुको कल्याण र करुणाको श्रोत हो । विडम्बना, सुनसरीमा भएको हिंसा कदापि धार्मिक हुन सक्दैन । यो त धर्म या सम्प्रदायको आवरणमा भएको जघन्य अपराध हो । सामान्य डिजे बजाएको विषयमा विवाद उत्पन्न गरिन्छ । विवादमै एक अर्काबीच काटमारको अवस्था सिर्जित हुन्छ । जुन विवाद सामान्य संवादबाट पनि हल गर्न सकिने हुन्छ । तर, त्यही सामान्य विवाद उछालिएर गोली चल्ने अवस्था सिर्जित हुन्छ । यसले सामाजिक सदभाव खललसंग हामीबीचको भाइचारा सम्बन्धमा वैरभाव र दुष्मनी जन्माउँछ । यस प्रकारका घटनाले समाजलाई हिंसातिर उन्मुख गराउन र समजालाई भड्काउन अभिप्रेरित गरेको देखिन्छ ।

सुनसरीमा यस्तो घटना हुनु सर्वथा दुखद हो । त्यो भन्दा अझै दुखद् यस घटनालाई बेलैमा नियन्त्रणमा लिन नसक्नु हो । यसबाट थाहा हुन्छकी, राज्यको आन्तरिक सुरक्षा प्रणालीको व्यवस्थापनमा पनि गम्भीर कमजोरी भएको छ । सानातिना तनावहरूलाई समयमै पहिचान तथा व्यवस्थापन गर्न नसक्नु स्थानीय प्रशासनको पनि उत्तिकै कमजोरी हो । एउटा स्थानीय विवादमा केही घण्टामै प्रहरीको गोली चल्ने, नागरिकको ज्यान जाने र पाँच क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु लगाउनुपर्ने अवस्थासम्म पुग्नु यो आफैमा अससामान्य घटना हो । यो घटना केवल एउटा घटना मात्रै होइन । यो हाम्रो आन्तरिक सुरक्षा संयन्त्रका लागि गम्भीर चेतावनीको संकेत पनि हो ।


गृह प्रशासन हो, घरेलु सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व । देशभर हुने यस्ता अवान्छित घटनालाई समयमै सम्बोधन गर्ने र कुनै पनि हिंसा भड्किन नदिनु गृहमन्त्रालयको कर्तव्य, जिम्मेवारी र दायित्व हो । यस घटनामा सिंगो गृहको नेृतृत्व र संयन्त्र चुकेको देखिन्छ । गृह मन्त्रालयले यो घटनालाई केवल शान्ति सुरक्षा कायम गर्ने नियमित प्रशासनिक चुनौतीका रूपमा लिएर मात्र हुँदैन। गृह मन्त्रालय लगायत सम्बन्धित निकायले यस घटनालाई आन्तरिक सुरक्षाको विषयमा एउटा पाठको रुपमा पनि लिनुपर्छ ।


साम्प्रादायिक खाले यस्ता घटना हुन नदिन प्रारम्भिक सूचनाको अध्यावधिक विश्लेषण र जोखिमको विषयमा गहिरो हेक्का राख्नुपर्छ । समुदायबीचको सामाजिक सम्बन्ध र सम्भावित घटनाहरुको विषयमा पूर्व तयारीलाई अप्नाइनुपर्छ । समुदायसँगको समन्वय, संवेदनशीलता र सजगतालाई अप्नाएर त्यस्ता क्षेत्रमा पूर्वतयारी र संयमित सुरक्षा व्यवस्थापनलाई मजबुतब बनाउनुपर्छ । सुरक्षाको विषय केवल गृह मन्त्रालयको मात्रै पनि होइन। यो विषय स्थानीय नागरिक राजनीतिक दल, नागरिक समाज र बौद्धिक वर्गहरुको पनि जिम्मेवारी हो ।


समाजमा शान्ति सुरक्षा र अमचैन कायम गर्न सुरक्षा निकायलाई सघाउन र सही सूचना दिन नागरिक तहबाट पनि सहयोग र साथ हुन सक्यो भने पनि यस्ता घटना बेलैमा नियन्त्रणमा आउन सक्छन् । यसर्थ सुनसरी घटनाको पछाडि स्थानीय प्रशासन र प्रहरीको भूमिका मात्रै जिम्मेवार देखिन्न । त्यसका पछाडि थुप्रै फ्याक्टरहरु पनि छन् । तसर्थ सरकारद्वारा गठित छानविन समितिबाट सुनसरीको घटनाको निष्पक्ष छानबिन होस्। सत्यतथ्य बाहिर आओस्, दोषीमाथि कानुनी कारबाही होस्। र, भविष्यमा यस्ता घटना दोहोरिन नदिने संस्थागत सुधारमा राज्य अझै बढी जिम्मेवार बनोस् । मृतकप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना । ००००

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १ : ४४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित