१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सम्पादकीय : कामकाजी बालेन्द्र सरकार ! भत्काउँदै पुराना प्रथा !


१२ जेष्ठ २०८३, मंगलबार  


एकताका हामीमा यस्तो माइन्ट सेट थियोकी, जहाँ यसको विकल्पै छैन भन्ने ठानिन्थ्यो । तर, गएको भदौको युवा विद्रोहले पुरातन र असान्दर्भिक त्यस्ता माइन्सेटहरु भत्काउन नयाँ चेतनाको प्रार्दूभाव गरिदियो । प्रणालीले हामी प्रजातान्त्रिक थियौ र हौ । तर, यही प्रणालीभित्र पनि परम्परा र प्रथाको नाममा अनुत्पादक र असान्दर्भिक कार्यमा अभ्यस्त हुन्थ्यौ । जस्तैः संसदको रोष्टमा उभिएर देशकै प्रधानमन्त्रीले समयको बर्बादी गर्दथे । विपक्षी विरुद्ध शब्दवाण ओकलेर तुस मेट्थे । विपक्षीहरुले पनि संसद अवरुद्ध गरेर उत्सव मनाउँथे ।


सरकारका प्रमुखहरुले बालुवाटारमा मानिसहरु भेला पार्दथे । बालुवाटारमा ठूला ठूला बैठक बस्थे । विचौलिया, माफिया, दलका नेता कार्यकर्ताको सामूहिक बसाइ हुन्थ्यो । तिनलाई सरकार प्रमुखहरुले उपदेश र फर्मान दिन्थे । भिजन भन्दा पनि भाइरल खोज्थे। टिकटरहरुसंग देश बनाउने सल्लाह माग्थे । उनीहरुसंगै फोटो खिचेर देश निर्माणको सन्दर्भ अथ्याउँथे । मानौ, यस्तै भाषणबाजी र भाइरल हुनु नै लोकपृयता हो । यही लोकपृयताबाटै देश विकास हुन्छ भन्ने उनीहरुले ठान्थे । उनीहरुको शासन राजनीति भाषणमा अडिएको थियो । घण्टौँ मञ्चमा उभिएर जनतालाई सपना बेच्थे । तर, देश भाषणले होइन, कामले चल्छ भन्ने कहिल्यै हेक्का राख्दैन थिए । जनतालाई राषणको समस्या हुन्थ्यो । नेताले भाषण दिन्थे ।


तर, जेनजी विद्रोहपछि त्यस्ता शैली र प्रवृत्ति फेरियो । बालुवाटारमा अबिर जात्रा, शुभकामना र हर्ष बढाइका उत्सव अहिले हुदैनन् । ती प्रथा र प्रचलन समाप्त भए । किनकी अहिलेका प्रधानमन्त्री बालेन्द्र त्यही पुरानो ढर्रा र प्रवृत्ति दोहो¥याउन आएका पनि होइनन् । उनी जनतासँग काम माग्न गएका थिए । जनताले दिएको काम गर्ने जिम्मा लिएर उनी सिंहदरबारमा व्यस्त छन् । बजेटको चटारो छ । १६५ वटै निर्वाचन क्षेत्रमा समन्यायीकढंगले बजेट विनियोजन गर्नुछ । उनलाई थाहा छकी, प्रधानमन्त्रीको काम दिनरात माइक समाएर सस्तो लोकप्रियता कमाउनु होइन, बरु, मुल दायित्व जनतालाई परिणाम दिनु हो।


रिबन काट्दै फोटो खिचाउने, पुल–भवनमा आफ्नो नाम खोप्ने र उद्घाटनलाई नै उपलब्धि ठान्ने प्रचलन सरकारले हटाइसक्यो । त्यस्तै शैली र प्रथाले देश यो हालतमा डुब्यो । अहिलेको नेतृत्व त्यही विकृति, विसंगति र कुसंस्कारयुक्त परम्परा तोड्न बनेको हो। काम भइरहेको छ, भने हरेक घण्टा भाषण ठोकिरहनु आवश्यक हुदैन र पर्दैन पनि । मुल कुरा काम जवाफदेहिता भाषणले होइन, कामको परिणामले दिनुपर्छ । नयाँ पुस्ताले शब्द होइन, काम र परिणामबाट बोल्नुपर्छ। देशलाई अब गफ गर्ने नेता होइन, काम गर्ने नेतृत्व चाहिएको छ । त्यही कारण जनताले बालेन नेतृत्वको सरकारलाई बलियो जनमत दिए ।


देश विकास र फोटो खिचाउने विषय राजनीतिमा विल्कुल दुई फरक कुरा हुन्। वर्षौंसम्म नेपालमा केही नेताहरूले विकासलाई आफ्नै व्यक्तिगत प्रचारको साधन बनाए। एउटा सानो ढुंगा राख्न पनि दर्जनौं गाडी, सयौं कार्यकर्ता, माला, अबिर, रिबन र भाषण चाहिन्थ्यो। पुल बन्नुभन्दा ठूलो कुरा उनीहरूको नामको बोर्ड हुन्थ्यो। जनतालाई सुविधा पुगेको छ कि छैन भन्नेभन्दा भित्तामा कसको नाम लेखियो ? भन्ने कुरामा ज्यादा बहस हुन्थ्यो । चिन्ता बढी देखिन्थ्यो।


कतिपय पूर्वप्रधानमन्त्रीहरूको शैली हेर्दा यस्तो लाग्थ्यो मानौं देश उनीहरूको निजी कम्पनी हो र प्रत्येक सडक, पुल, भवनमा आफ्नो हस्ताक्षर छोड्नैपर्ने हुन्थ्यो । रिबन नकाटे काम सुरु नहुने, फोटो नखिचे योजना नचल्ने, भाषण नगरे विकास नहुने जस्ता गलत संस्कार र कुप्रथाको जग बलियो थियो । उद्घाटनमा हेलिकप्टर, भोजभतेर, माइक र तामझाममा करोडौं खर्च हुन्थ्यो तर, जनताले भने धुलो, हिलो र बेरोजगारी मात्रै पाउँथे।


तर,अहिलेको नेतृत्वले कम्तीमा एउटा सन्देश दिएको छ । त्यो हो, कुनै पनि काम गर्न रिबन काट्नु पर्दैन । पुल बनाउन पूजाआजा पनि आवश्यक पर्दैन। भवन बनाउन माला र अविरजात्राको जरुरत हुन्न । प्रधानमन्त्रीको मुख्य जिम्मेवारी देश चलाउने हो र बनाउने हो । हरेक कार्यक्रममा कर्मकाण्डी धर्म कर्म जस्तो हुदै होइन ।


तर, पछिल्लो समय जनताले पनि राम्रोसंग बुझ्न थालेका छन् । विकास भाषणले होइन, कामले देखिन्छ । सडक बनेको छ भने त्यो जनताको हो, कुनै नेताको निजी सम्पत्ति वा बाउले दिएको बपौती होइन। अस्पताल खुलेको छ भने त्यो नागरिकको अधिकार र सम्पत्ति हो, कसैको दया माया र करुणाबाट प्राप्त भएको होइन। प्रधानमन्त्रीको कुर्सी प्रचार स्टन्टका लागि होइन, नीति र परिणामका लागि हो। यसर्थ प्रधानमन्त्री बालेन भाषणमा होइन, भिजनमा देश बनाउन रातदिन सक्रिय छन्। सरकारले गति र मतिका साथ काम गर्दैछ, विरोधका नाममा विरोध भन्दा सरकारको कामलाई सघाऔ.। प्रधानमन्त्री बालेनले देश बनाउन लागेका हुन्,उनको निजी घर बनाउन थालेका होइनन्, विपक्षीहरुले पनि यत्ति चेत राखेमा डुबेको राजनीति पनि उकासिन्थ्यो की ? ०००००

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ४ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित