११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

देश रुवाउने विमानस्थल !


१४ मंसिर २०८२, शनिबार  


यो दृष्य हेर्नुहोस्, जहाँ मानिसहरुको ठेलमठेल छ । सबैलाई हतारो छ। सबैलाई गन्तव्यमा पुग्नुछ । तर, त्यो गन्तव्य सहज पक्कै पनि छैन । किनकी विरानो देशको कठोर गन्तव्य, मृत्युसंग पौठेजोरी खेल्नु र भविष्य सिंगार्नु छ । घरको चुल्होदेखि घरको छानो हाल्नु छ । यस्तै यस्तै सपनाको कुन्तुरो बोकेर यीनीहरु यसरी कुदिरहेका हुन् ।


यो नेपालकै पहिलो विमानस्थल ।यो त्रिभुवन विमानस्थलबाट हरेक दिन यस्तै ताँती लागेर जानेहरुको भीड हुन्छ । यस्तै भीडमा मिसिएका धेरै अनुहारहरु मध्येकी हुन् यीनी । ती मध्येकी यी युवती आमासंग यसरी आँसुको बलेन्द्रीमै अंगालो मार्दैछिन् ।
पक्कै पनि जन्मदिने आमाको न्यानो काख छोडेर परदेशीनु सजिलो कहाँ हुन्छर ? तर छोड्नुको विकल्प पनि छैन । प्यारो जन्म गाउँ, साथी सखालाई मनमै राखेर परदेशिनु परेको छ । यो दृष्य कुनै चलचित्रको अभिनय होइन। जीवनको अनुभवजन्य भोगाइ हो । हरेक नेपालीको उस्तै उस्तै सपना छन्। ती सपनाहरु यदि यही देशमै पूरा हुन्थे भने यसरी डाँको छोडेर आमासंग विदाइ हुनुपर्थेन होला ।


नियति की समाजको नियम, उनै भगवानलाई थाहा होला या यो नियम बनाउनले बुझेका होलान् । तर, जन्मेपछि विदेशै कुद्नुपर्ने हरेक नेपाली नौजवानहरुको यो दिनचरिया वियोगान्त चलचित्रको कथा जस्तै छ।

वास्तविक जीवनको पर्दामा यस्ता दृष्य र परिदृष्य हेर्न र भोग्न अभिशप्त छन्, हरेक नेपाली युवा । त्यही नियतीको सत्य कथाभित्रकै यीनी लगायतका धेरै पात्रहरु छन् । युवाहरुको भीडमा भेटिएकी यी युवती एक हुन्। जो यसरी आमासंग गहभरी आँसु झार्दै विदाइको हात हल्लाउँदै विरानो देश जाँदैछिन्, धन कमाउन र भविष्य बनाउन । थाहा छैन, विदेशी भूमिको बसाइ सुखद् हुन्छ या दुखद् । ती सबै कुरा भगवान भरोसा नै छ ।


तैपनि आँखामा आइपुगेका टिलपिल आँसुलाई जबरजस्ती थुनेर कृत्रिम मुस्कान देखाउनु पनि छ । वेदनालाई मुटुभित्रै थिचेर मुस्काउनु परेको छ । त्यस्तै मध्येकी एक प्रतिनिधिमूलक पात्र हुन्, दुर्गा कार्की । रामेछाप मन्थलीकी यी कार्कीको पनि उस्तै कहानी छ । स्वदेशमा कामगरि खाने वातावरण छैन। सन्तानको भविष्यको लागि भन्दै विदेश जानुपर्ने कहानी हाल्छिन् यीनी ।

रमा जस्तै अरु पनि भेटिए विमानस्थलमा । उनीहरुको कथा पनि उस्तै छ । घरको आर्थिक अवस्थाले विदेश जानुको उपाय छैन । तैपनि दुःखबाट पार लगाउन विदेश जान लागेका छन्, प्यूठान स्वर्गद्धारीका वीरबहादुर केसी पनि । घर चलाउनका लागि खाडीको साउदी अरबिया जान लागेको कहानी सुृनाउँछन् प्यूठान स्वर्गद्वारीका वीरबहादुर केसी ।

यो कथा वीरबहादुरको मात्रै होइन, अरुको पनि उस्तै छ । स्वदेशलाई छोडेर विदेश हिड्नेहरुका ताँतीमा भेटिएका अर्का परदेशी हुन् रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का दीपेश घर्ती । सात वर्ष विदेशमा बसेर स्वदेश फर्किएका उनी फेरि यतिबेला रोमानियातिर हानिन लागेको बताउँछन् ।

यी पात्रहरु एउटा दृष्तान्त मात्रै हुन्। हरेक दिन हरेक घण्टा विमानस्थलमा विदेशी भूमिमा श्रम बगाउन जानेहरुको लामै लहर हुन्छ । श्रम गर्न जानेहरुको दारुण अवस्था हरेक दिन विमानस्थलमा देखिन्छन्। फाटेको जुत्ता र च्यात्तिएको झोलामा भविष्यको सुन्दर सपना बोकेर विमानको पर्खाइमा हुनेहरुको ताँतीले मन भारी बनाउँछ । यस्तै श्रम बगाउन जानेहरुको भीडमा भेटिएका अर्का पात्र हुन्, सिन्धुलीका तेजनारायण दनुवार । १७ वर्ष अघि खाडीमा बसेर घरको आर्थिक जोहो गरेका यीनी यतिबेला फेरि खाडी फर्किदैछन् । सानै उमेरमा विदेशमा पुगेका उनको कहानी पनि उस्तै कहालीलाग्दो छ।

पक्कैपनि विदेशमा जाने रहर त कसैलाई पनि छैन होला । देश छोडेर परदेशमा जान कसलाई पो रहर हुन्थ्यो र ? यो बाध्यताको नियतीले रेटिएपछि काँधमा झोला बोकेर लखरलखर विमानस्थल पुग्नुपर्छ नै यसैगरी ।अनि जहाज चढेर भोलिका सपना पूरा गर्ने अभिलाषा राख्नै पर्ने यो नियतीको चर्खा कहिलेसम्म चल्छ ? त्यो कुरा उपरवालालाई था पो थाहा छ की ? ०००

प्रकाशित मिति : १४ मंसिर २०८२, शनिबार  १२ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित