११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

एमाले र नेकपा प्रदेश सरकार गठनकाे गृहकार्यमा, मुख्य मन्त्रीका आकांक्षीहरूको दौडधुप !


११ श्रावण २०८३, सोमबार  


एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृहकार्य सुरु गरेका छन् । दुवै पार्टीले आ–आफ्नो दलमा तीनबुँदे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढाउने गृहकार्य थालेका हुन् ।

पाँच प्रदेशमध्ये एमालेले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी छ । जसअनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमालेले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकारबाहिरै छ ।

एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीनबुँदे सहमति पनि पछि अनुमोदन हुने गरी अन्य प्रक्रिया अगाडि बढाउन सकिने बताए । भट्टले अध्यक्षले प्रदेश पार्टीलाई दिएको निर्देशनका आधारमा पनि प्रक्रिया अगाडि बढ्न सक्ने बताए ।

‘छिट्टै सचिवालयको बैठक बसेको अवस्थामा तीनबुँदे सहमतिमाथि छलफल र अनुमोदन गरिन्छ, त्यसपछि केन्द्रमा भएको छलफललाई समेत ध्यान दिएर प्रदेशको पार्टी र संसदीय दलको बैठकले आवश्यक निर्णय गर्नेछ,’ भट्टले भने, ‘यदि तत्काल बैठक नबसे माथिको निर्देशनसमेतलाई आधार मानेर पार्टीको प्रदेश र दलले नै दलको नेता र मुख्यमन्त्रीबारे निर्णय गर्न सक्छन् ।’उनले सचिवालय बैठक बस्ने–नबस्ने भन्न नसकिने बताए । ‘पार्टीमा अहिलेकै मुख्यमन्त्रीहरूलाई निरन्तरता दिने कि नयाँलाई अवसर दिने छलफल त हुन्छ । त्यसैले अहिल्यै भन्न सकिँदैन,’ भट्टले भने ।

सचिवालय बैठकमा पार्टी पुनर्गठनको मुद्दामा जस्तै पदाधिकारी विभाजित भएको खण्डमा अध्यक्ष ओलीले रुचाएको पात्रलाई मुख्यमन्त्री बनाउने निर्णय नहुन पनि सक्छ । त्यसले गर्दा ओलीले बैठक बोलाएर निर्णय गर्न पनि सक्ने वा सिधै तलबाटै निर्णय गराउने गरी भूमिका खेल्न पनि सक्ने नेताहरूको बुझाइ छ ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पार्टीभित्र को मुख्यमन्त्री बन्ने कुनै विवाद नरहेको बताए । ‘तीनबुँदे सहमतिपछि कार्यान्वयनमा जान्छ, प्रदेशमा दलको नेता रहेकाहरू नै हाम्रोबाट मुख्यमन्त्री बन्नुहुन्छ,’ ज्वालाको भनाइ छ । कर्णालीको नेतृत्व नेकपाले पाएपछि मुख्यमन्त्री रहेका यमलाल कँडेलले शनिबार बेलुका नै राजीनामा दिएर काठमाडौं आएका छन् । प्रदेश सभा बैठकमा सहमतिलाई ‘छापामार शैली’को संज्ञा दिएका उनले बेलुका नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

तीनबुँदे सहमतिलगत्तै मुख्यमन्त्रीका आकांक्षीहरूले दौडधुप सुरु गरेका छन् । कोशी प्रदेशमा एमालेबाट अहिले नेतृत्व गरिरहेका मुख्यमन्त्री हिक्मत कार्की नै प्रमुख दाबेदार छन् । दलका नेतासमेत रहेका कार्कीको विकल्पमा उपनेता तिलकुमार मेयाङ्बोले रुचि राखेका छन् । मेयाङ्बोलाई अध्यक्ष केपी ओलीले नै अगाडि बढाउन खोजेको जानकारी पाएपछि कार्कीले आन्तरिक रूपमा असन्तुष्टि जनाएका छन् । ‘अध्यक्ष ओलीले भनेर हुँदैन, पार्टीको सचिवालय बैठकले मलाई फिर्ता बोलाउने निर्णय गर्नुपर्छ । सचिवालयको निर्णय नभई म छोड्दिनँ भन्ने उहाँको अडान छ । कसैले तोकआदेश दिएको भरमा म मान्य पक्षमा छैन,’ कार्कीलाई उद्धृत गर्दै उनीनिकट प्रदेशका एक मन्त्रीले भने ।

ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी पुनर्गठनका लागि ढोका खोल्नुपर्ने मत राखेकै कारण महासचिव शंकर पोखरेलसँग जोडेर आफूमाथि प्रतिशोध साध्न खोजिएको कार्कीले निकटस्थहरूलाई बताउने गरेका छन् । तीनपटक मुख्यमन्त्री हुँदा पनि गृहजिल्लामा प्रभाव पार्न नसक्दा चुनावमा पनि असर परेको बुझाइमा ओली छन् । सोही कारण उनले मेयाङ्बोलाई जसरी पनि मुख्यमन्त्री बनाउने गरी अगाडि सारेको एमाले वृत्तमा चर्चा छ ।

कार्कीले राजीनामा नदिएको खण्डमा संविधानको धारा १६८ ९५० अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कारण असहज अवस्था आउन सक्छ । उनले विश्वास गुमाए अर्को मुख्यमन्त्रीमा आवेदन दिनेले पनि ३० दिनभित्र विश्वास जुटाउन नसके प्रदेश सभामा सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री बन्ने व्यवस्था सोही धाराको उपधारामा छ । त्यहाँ प्रदेश सभाको ठुलो दल एमाले नै हो । त्यसपछि ठुलो दलको नेताले पनि विश्वास जुटाउन नसके मध्यावधि सिफारिस गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

उता, बागमतीमा संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीको प्रमुख दाबेदार छन् । विकल्पमा भक्तपुरबाट निर्वाचित निवर्तमान स्वास्थ्यमन्त्री किरण थापालाई सचिव महेश बस्नेतको रोजाइमा अगाडि सार्न खोजिएको स्रोतले जनाएको छ । आलोपालो सहमति कार्यान्वयन हुँदा थपलिया नै मुख्यमन्त्री बन्ने कांग्रेससँग एमालेको सहमति थियो ।

तर, उनी पछिल्ला दिनमा पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट भएकै कारण थापालाई अगाडि सार्न खोजिएको छ । दुई चुनावअघि राप्रपाबाट निर्वाचित वडाध्यक्ष थापा एमाले प्रवेश गरेकै एक दशकभन्दा बढी भएको छैन । उनै थापा बस्नेतको रोजाइमा पर्दा एमाले प्रवेश गर्नेबित्तिकै दुईपटक प्रदेश सांसद बनाएर स्वास्थ्यमन्त्रीसमेत बनाइए पनि थपलियालाई माइनस गर्न खोजिएको स्रोतको भनाइ छ ।

लुम्बिनीमा एमालेले अहिले पनि सरकारको नेतृत्व गरिरहेको छ । त्यहाँका मुख्यमन्त्री चेतनारायण आचार्य अध्यक्ष ओलीनिकट नै मानिन्छन् । यद्यपि, त्यहाँ विकल्पमा उपनेता भूमिश्वर ढकाल र पूर्वमुख्यमन्त्री लीला गिरीको नाम पनि छलफलमा आएको छ । ढकाल अध्यक्ष ओलीनिकट र गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् ।

नेकपाले नेतृत्व पाएको सुदूरपश्चिममा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने योजनामा संयोजक प्रचण्ड छन् । सोही योजनाअनुसार प्रदेशमा नेकपाले तयारी अगाडि बढाएको छ । उता, कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीलाई नेकपाले मुख्यमन्त्री अगाडि सारेको छ । नेकपाका प्रवक्ता ज्वालाले दलको नेता हुँदाहुँदै अरू व्यक्तिबारे छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताए । शाही मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सुदूरपश्चिममा नेकपाले भट्टलाई अघि सार्ने, परामर्श गर्न भट्ट काठमाडौंमा
आकस्मिक रूपमा राजनीतिक घटनाक्रम परिवर्तन नभए नेकपा संसदीय दलका नेता भट्ट सुदूरपश्चिममा मुख्यमन्त्री बन्नेछन् । यद्यपि, सरकार गठन र मन्त्रालय भागबन्डालगायत विषयमा परामर्श गर्न भट्ट शनिबार काठमाडौं पुगेका छन् । एमाले प्रमुख सचेतक चक्र मल्लसहित नेताहरू पनि काठमाडौंमा छन् । कुन पार्टीले कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने टुंगो शीर्ष नेताहरूसँगको छलफलबाट हुने नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले बताए । ‘दुवै दलका प्रदेश कमिटी पदाधिकारी, दल नेतालगायतसँगको छलफलमा मन्त्रालयको बाँडफाँटको टुंगोे यतैबाट लाग्छ,’ काठमाडौंमा रहेका उनले भने, ‘मन्त्रालय बाँडफाँटपछि सरकारमा कुन व्यक्तिलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्छ ।’

बागमतीमा एमालेको नेतृत्व सुनिश्चित, तर मुख्यमन्त्री कोरु
बागमतीमा मुख्यमन्त्रीका लागि एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया, पूर्वमन्त्रीद्वय किरण थापा र केशवप्रसाद पोखरेलको दाबेदारी छ ।आर्थिक मामिला तथा योजनामन्त्री रहिसकेका थपलिया आफू दलको नेता भएकाले मुख्यमन्त्री बन्न पाउनुपर्ने मत पार्टीमा राखिरहेका छन् । पार्टी अध्यक्ष केपी ओली र सचिव महेश बस्नेतनिकट नेताका रूपमा चिनिने थापाले भने पार्टी नेतृत्वले गर्ने निर्णय स्वीकार गर्ने बताए । काठमाडौं ९ को ९ख०बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित पूर्वमन्त्री पोखरेलले पार्टीमा लामो योगदान र दुईपटक चुनाव जितेको अनुभवलाई आधार बनाउँदै दाबी पेस गरेका छन् ।

लुम्बिनीमा एमालेभित्र मुख्यमन्त्रीको दौड
नेकपासँगको सहमतिअनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भए पनि उम्मेदवारको टुंगो लाग्न सकेको छैन । यहाँ मुख्यमन्त्री चेतनारायण आचार्यसँगै पूर्वमुख्यमन्त्री लीला गिरी र पूर्वमन्त्री भूमिश्वर ढकालसहितका नेताको नाम चर्चामा छ । मुख्यमन्त्री आचार्यले केन्द्रबाट प्राप्त हुने निर्देशनअनुसार नै आगामी प्रक्रिया अघि बढ्ने बताए । प्रदेश सरकारको नेतृत्वबारे केन्द्रले निर्णय गरेपछि त्यसअनुसार आवश्यक संवैधानिक प्रक्रिया अघि बढाइने उनले बताए ।

पूर्वमन्त्री ढकालले पनि पार्टी नेतृत्वबिचको छलफलबाट निर्णय भएपछि मात्रै प्रदेशस्तरमा सरकार गठनसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिए । आचार्य र ढकालले मुख्यमन्त्रीको सवालमा केन्द्रको निर्देशन पर्खेको बताएका छन् । आचार्य यसअघि कांग्रेससँगको सहकार्यमा ०८१ साउनमा मुख्यमन्त्री बनेका थिए ।

नयाँ सत्तासमीकरणपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसले दलसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलका नेता पूर्वमुख्यमन्त्री डिल्ली चौधरीले केन्द्रमा नयाँ खालको छलफल भइरहेको अवस्थामा प्रदेशमा दलसँग छलफलको तयारी गरेको बताए । उनले सोमबार मुख्यमन्त्रीसँग पनि छलफल गर्ने र यहाँका दलका नेतासँग पनि छलफल गरेर अगाडि बढ्ने बताए ।

नेकपा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री
जोखबहादुर महरासँग पनि टेलिफोनमा कुरा भइरहेको भन्दै प्रदेशको सन्दर्भमा थप कुरा गर्ने बताए । लुम्बिनीमा कांग्रेसका पाँचजना मन्त्री छन् ।

कोशीमा मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ओलीको योजना
कुर्सी नछाड्ने कार्कीको चेतावनी
कोशीमा मुख्यमन्त्रीका लागि एमालेभित्रै विवाद देखिएको छ । अध्यक्ष केपी ओली भने सांसद तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने योजनामा छन् । तर, केन्द्रमा एमाले र नेकपाबिचको सत्तासहकार्यबारे आफूसँग कुनै छलफल नभएको भन्दै पद नछाड्ने चेतावनी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएका छन् ।

कार्कीले राजीनामा नदिने र अहिलेकै सरकारलाई जारी राख्ने आफूनिकट नेताहरूलाई बताएका छन् । ‘पार्टी सचिवालयबाट निर्णय पनि गरिएको छैन । यसैले अध्यक्षले व्यक्तिगत रूपमा भनेका भरमा मैले राजीनामा दिन मिल्दैन,’ उनले निकटस्थसँग भनेका छन् । सचिवालयमा अध्यक्ष ओली अल्पमतमा रहेकाले कार्की चुनौती दिइरहेका हुन् । एमाले सांसदहरूका अनुसार कार्की पछिल्लोपटक अध्यक्ष ओलीलाई छाडेर महासचिव शंकर पोखरेलको समूहमा छन् । त्यही भएर ओली कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । मेन्याङ्बो काठमाडौं पुगेका छन् ।
कर्णालीमा सरकार गठनको प्रक्रिया सुरु
कर्णालीमा सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिइएको प्रदेश प्रमुख कार्यालयका सचिव हिरालाल चौधरीले बताए ।

‘प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम आह्वान गरेका हुन्,’ उनले भने । प्रदेश प्रमुखको आह्वानसँगै नेकपा र एमालेको समर्थनमा मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको दाबी पेस गर्ने तयारी छ । यद्यपि, शाही काठमाडौं पुगेका छन् । शाहीले सकेसम्म सोमबार नत्र मंगलबार दाबी पेस हुने बताए ।

लेखराज भट्ट उपमहासचिव, एमाले
छिट्टै सचिवालयको बैठक बसेको अवस्थामा तीनबुँदे सहमतिमाथि छलफल र अनुमोदन गरिन्छ, त्यसपछि केन्द्रमा भएको छलफललाई समेत ध्यान दिएर प्रदेशको पार्टी र संसदीय दलको बैठकले आवश्यक निर्णय गर्नेछ । यदि तत्काल बैठक नबसे माथिको निर्देशनसमेतलाई आधार मानेर पार्टीको प्रदेश र दलले नै दलको नेता र मुख्यमन्त्रीबारे निर्णय गर्न सक्छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित