२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

श्रमदान, श्रम संस्कृति पार्टी र यसको उद्देश्य


६ श्रावण २०८३, बुधबार  


नेपाल प्राकृतिक स्रोत, साधन र सम्भावनाले भरिपूर्ण देश हो। यहाँको माटो उर्वर छ, जलस्रोतको अपार सम्भावना छ, पर्यटनका लागि हिमालदेखि पहाड र तराईसम्म विविधता छ। सबैभन्दा ठूलो सम्पत्ति भनेको नेपाली युवाको श्रम, सीप, क्षमता र सिर्जनशीलता हो। तर विडम्बना, यही देशका लाखौँ युवा रोजगारी र अवसरको खोजीमा विदेशिन बाध्य छन्। आफ्नै देशमा श्रम गरेर उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र सम्मानपूर्वक जीवन बिताउने वातावरण नहुँदा परिवारको भविष्य निर्माणकै लागि युवाहरूले परदेशको बाटो रोज्नुपरेको छ।

यही अवस्थाको अन्त्य गर्दै आफ्नै देशमा श्रम गरौँ, उत्पादन बढाऔँ र देशलाई समृद्ध बनाऔँ भन्ने मूल उद्देश्यका साथ श्रम संस्कृति र श्रमदानको अभियान अघि बढाउन आवश्यक छ। श्रमदान केवल कुनै बाटो बनाउने, सरसफाइ गर्ने वा भौतिक संरचना निर्माण गर्ने काम मात्र होइन। श्रमदान भनेको देश निर्माणप्रतिको नागरिकको जिम्मेवारी, सहभागिता र अपनत्वको भावना हो। आफ्नो गाउँ, समाज र देशको विकासमा आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने चेतनाको नाम नै श्रमदान हो।

श्रम संस्कृति पार्टी ले यही श्रम, उत्पादन, आत्मनिर्भरता र राष्ट्र निर्माणको भावनालाई राजनीतिको केन्द्रमा राख्न खोजेको छ। राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम नभई जनताको जीवन परिवर्तन गर्ने साधन बन्नुपर्छ भन्ने मान्यता यस अभियानको आधार हो। देशको विकास भाषण र नाराले मात्र सम्भव हुँदैन। त्यसका लागि इमानदार नेतृत्व, स्पष्ट नीति, उत्पादनमुखी सोच र जनताको सक्रिय सहभागिता आवश्यक हुन्छ।

हाम्रो सपना यस्तो नेपाल निर्माण गर्नु हो, जहाँ कुनै पनि युवा आफ्नो परिवारको शिक्षा, स्वास्थ्य र दैनिक जीवन धान्नकै लागि विदेशिन बाध्य नहोस्। हरेक युवाले आफ्नै देशमा आफ्नो सीप र क्षमता प्रयोग गरेर काम गर्न पाओस्। किसानले आफ्नो उत्पादनको उचित मूल्य पाओस्। श्रमिकले श्रमको सम्मान पाओस्। उद्यमीले उद्योग सञ्चालन गर्ने वातावरण पाओस्। विद्यार्थीले गुणस्तरीय शिक्षा पाओस् र शिक्षापछि आफ्नै देशमा भविष्य निर्माण गर्न सकोस्।

हामी चाहन्छौँ—हाम्रै युवाको सीप, पसिना र परिश्रमले हाम्रो आफ्नै देश समृद्ध बनोस्। बूढा हजुरबादेखि नातिसम्म एउटै छानामुनि बसेर, एउटै ताउलोमा पाकेको भात सँगै खाँदै, आफ्नै देशको चन्द्र–सूर्य अंकित झण्डा गर्वका साथ फहराउँदै देश डुल्न पाउने वातावरण बनोस्। नेपाली नागरिकले आफ्नै देशमा सम्मान, सुरक्षा, रोजगारी र समृद्धिको अनुभूति गर्न सकून्। यही हाम्रो साझा सपना हो।

श्रम संस्कृति पार्टीका संस्थापक श्रम पिता हर्क राज राईज्यू ले अघि सार्नुभएको श्रम, श्रमदान, उत्पादन र आत्मनिर्भरताको विचारलाई हामीले व्यवहारमा उतार्न सक्नुपर्छ। यही विचार र अभियानलाई ‘हर्कवाद’ को रूपमा बुझ्न सकिन्छ। हर्कवाद कुनै व्यक्तिको मात्र सपना होइनस यो श्रमलाई सम्मान गर्ने, उत्पादनलाई प्राथमिकता दिने र देश निर्माणमा नागरिकलाई प्रत्यक्ष सहभागी गराउने सोच हो।

अब देश परिवर्तनको जिम्मेवारी कुनै एक नेता वा राजनीतिक दलको मात्र होइन, आम नागरिकको काँधमा पनि आएको छ। हामी सबैले आफ्नो ठाउँबाट श्रम गरौँ, उत्पादन गरौँ, श्रमदान गरौँ र देश निर्माणमा योगदान गरौँ। जब नागरिकमा श्रमप्रतिको सम्मान र राष्ट्रप्रतिको जिम्मेवारी बढ्छ, तब मात्र समृद्ध नेपालको आधार बलियो हुन्छ।

त्यसैले अब हामीले गफभन्दा काम, भाषणभन्दा उत्पादन र परनिर्भरताभन्दा आत्मनिर्भरतालाई प्राथमिकता दिनुपर्छ। श्रम गरौँ, श्रमदान गरौँ, उत्पादन बढाऔँ र आफ्नै श्रमले आफ्नै देश बनाऔँ।

जय माटो ।
जय श्रम ।
जय श्रम संस्कृति पार्टी ।
जय देश ।


बैकुण्ठ दाहाल
उपाध्यक्ष, श्रम संस्कृति पार्टी, धादिङ

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ३ : ०९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित