जेनजी आन्दोलनपछि भ्रष्टाचारको मुद्दा भन्दा पनि शासकीय तथा निर्वाचन प्रणालीको मुद्दा सघन बनेको छ र बनाइएको छ पनि । आन्दोलनको मुल मुद्दा भन्दा बाहिर गएर चर्काइएको बहसको भित्री कुरा के हो ? त्यो जस जसले बहस चलाएका छन्, उनीहरुलाई नै थाहा होला ।
तर, हामीले बुझ्न पर्ने विषय समस्या शासकीय तथा निर्वाचन प्रणालीमा होकी दल र तिनको नेतृत्वमा ? यो प्रश्नको उत्तर नखोजी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपतिले मात्रै स्थायित्व र विकास दिन्छन् भन्नु यो आफैमा राजनीतिक अल्पज्ञान हुन सक्छ । यद्यपि सहायक कारण शासकीय र निर्वाचन प्रणाली पनि हुन सक्छ ।
संसारभर लोकतान्त्रिक मुलुकहरुमा शासकीय तथा निर्वाचन प्रणालीका धेरै मोडलहरु छन् । ती मोडलहरु मध्ये कुन उपयुक्त हुन्छ भन्ने कुरा एउटा छ भने अर्काे कुरा हाम्रो बहुल समाजमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या कार्यकारी राष्ट्रपति हुँदा अधिनायकवादको खतरा हुन्छ या हुदैन ?यो दोश्रो प्रश्न हो ।
यतिबेला मुख्य दलको सत्ता रोटेपिङ र साना दलको च्याँखे थाप्ने प्रवृत्तिले समस्या निम्तिएको हो । यो भनेको दलका नेता र तिनको प्रवृत्तिगत समस्या हो । साधुका लागि ताला कहिल्यै लगाइन्न, चोरकै डरले हो, हामीले घरमा ताला लगाएको पनि । जब प्रवृत्ति नै चोरी गर्ने छ, भने शासकीय र निर्वाचन प्रणाली बदलेको दाम्लोले मात्रै सुध्रिएला त हाम्रा दलका नेताको मति ? अवस्य सुध्रिन्न । जुन कुराको प्रमाणित भर्खरैको जेनजी आन्दोलनपछि बनेको नयाँ परिस्थितिमा पनि उनै पुराना र मक्किएका ओली, देउवा र प्रचण्डको पदप्रतिको आशक्ति र लालसा उस्तै छ ।
ओलीमा १९ जनाको हत्या गर्दा पनि कुनै पछिुतो, पश्चाताप र ग्लानी देखिन्न । भोलि घुमिफिरी यीनै ओली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति भएर सत्तामा फर्किए भने विरोधीहरुलाई जिउँदो राख्लान् त ? अवस्य छोड्ने छैनन्, किनी उनीमा विरोधी सिध्याउने प्रतिशोधी भावना व्याप्त छ । बैशाखी सरकारको प्रधानमन्त्री हुँदा त ओलीले यो विध्वंस मच्चाए भने शक्तिशाली कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति भएपछि उनको सत्ता अहंकार, दम्भ र प्रतिशोधको धुँवा कति धुवाँउला ?
कुरा ओलीको मात्रै होइन, जेनजी आन्दोलनमा देउवाको घरमा चारदिनसम्म पैसा पतपत्ती डढ्यो, आकाश पैसाको धुँवाले कुइरीमण्डल भयो, तर पनि उनका अनुयायीहरु स्वीकार्न तयार छैनन्। देउवाको सचिवालयले त खण्डन नै ग¥यो । उता प्रचण्डले घरमा एक लाख मात्रै जलेको प्रतिक्रिया दिए । यहाँ नेताको मात्रै समस्या छैन, यहाँ वफादार कार्यकर्ता अनि तिनै नेतालाई भोट दिने मतदातामा पनि समस्या छ। भलै मतदाताले मत दिने हो, नेताले देश चलाउने हो । मतदाताको यही कोमल मनोविज्ञानमा यीनीहरुले गर्न नहुने पनि काम गरे र मौका पाए अझै पनि गर्छन् ।
राजनीति भनेको गणितीय फर्मुला पनि होइन र हो पनि । किनकी राजनीति मानवीय सेवा भाव हो, उच्च नैतिकता र समर्पणको प्रतिबिम्बत हुने क्षेत्र हो । जसले समग्र नीतिहरुलाई बोकेको हुन्छ । उच्च नैतिकवान र इमान्दार नेतृत्व भएमा सबै नीतिहरु थितिमा चल्न थाल्छन्। जब थिति र विधिले शासन गर्न थाल्छ। तब देशले स्थायित्व र विकास पाउँछ । तर, हामीमा ठूलो समस्या नै नैतिकता र इमान्दारिताको चरम खडेरी छ । छलछाम र षड्यन्त्र बाहेक हाम्रो नेपाली राजनीतिमा त्यस्तो अद्भूत कला नै छैन । यस्तो प्रवृत्तिगत चरम समस्या भएको हाम्रो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति हुँदा स्थायित्व र विकास हुन्छ त ? यसको ज्ञारेन्टी दिने कसले ?
हाल हामीले संसदीय प्रणाली अंगालेका छौ। देशमा जे जे समस्या भएको छ, त्यसको मुल जड नै यही संसदीय प्रणाली हो भन्ने न्यारेटिभ बनाइएको छ ।जुन एकांगी छ। किनकी नेपाल जस्तो मुलुकका लागि संसारभरको अभ्यासलाई सन्दर्भ सामग्रीको रुपमा लिएर हाम्रो मौलिक विशेषताको शासन र निर्वाचन प्रणाली चाहिन्छ ।जुन कुरा अहिलेसम्म अभ्यास त परको कुरा बहस समेत भएको छैन । सबैले आयातित प्रणालीमै बहस गरिरहेका छन्। जुन समस्याभित्रको समस्यामा अल्झिनु मात्रै हो ।
जेन्जीले उठाएको मुद्दा पनि भ्रष्टाचारको अन्त्य, जवाफदेही र उत्तरदायी सरकार हो । दलमा आन्तरिक लोकतन्त्र र नेतामा आचरण, जवाफदेहिता र उत्तरदायित्वकै अभावले देश सधै अस्थिरताको तलाउमा फन्को मारिरहेको सत्य हो । मुल कुरा आचरणमा शुद्धीकरण नभइ कुनै वाद, विचार र मोडेलले देश बन्ने छाँटकाट देखिन्न ।००००








