पेट्रोलियम पदार्थको उत्खनन गर्न भन्दै सरकारले २०८१ बैशाख १८ गतेदेखि ड्रिलकाे काम शुरू गरेको थियोे ।
दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको उक्त कार्य ७ महिनामा ८० प्रतिशत सकिएको छ ।
२ ०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम तीन हजार एक सय मिटर पुगेको छ । चार हजार मिटरदेखि चार हजार पाँच सय मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुर्याउने र पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियानअन्तर्गत यो कार्य सञ्चालनमा छ ।
अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् । अझै यकिन भन्न सकिने अवस्था त छैन, तर जमिनमुनि २७ सय मिटरसम्म पाइप पुगेपछि साना भण्डारणहरू भेटिन सक्ने अनुमान गरिएअनुसार केही लिकेज ग्यासहरू देखिएको छ । यसले सकारात्मक संकेत गरेकाे अधिकारीहरू बताउँछन् । साना ग्यासका भण्डारलाई विसर्जन गर्ने र ग्यास लिकेज गर्ने मेसिन पनि सँगसँगै जडान गरिएको छ । अहिले जमिनमुनि साना भण्डारणहरूसमेत देखिएकाले थप आशा र उत्साह बढेको उनीहरूले बताए ।
पेट्रोलियम पदार्थको भण्डारण पत्ता लागेपछि मात्र आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप कामहरू अगाडि बढाइने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो ।
अन्वेषण कार्यले नेपालमा उत्पादनयोग्य पेट्रोलियम पदार्थ भेटिन सक्ने सम्भावना धेरै भएकाले दैलेखकाे उन्नतिका लागि सकारात्मक सन्देश भएको प्रतिनिधिसभा सदस्य दीपा शर्माले जानकारी दिएकी छिन् । पेट्रोलियम पदार्थको उत्खननपछि देशको आर्थिक अवस्था सुधारको एउटा चरण सुरु हुने आशा गरिएको शर्माको भनाइ छ ।
सरकारले विभिन्न देशहरूसँग सहकार्य गरेर धेरै आयोजना सुरु गरेको छ । अधिकांश योजना लथालिंग अवस्थामा छन् । कतिपय पूरा भएका छैनन्, तर चीन सरकारको यो परियोजना छिटो काम भएको र प्रतिफल पनि राम्रो आउने आशा लागेको स्थानीय कोकिला शर्माको भनाइ छ ।
विगत १७ वर्षदेखि सुरु हुन्छ भनेर काम थालनी नभएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा पनि सरकारले यस्तै तदारुकता देखाउनुपर्ने स्थानीयको माग छ ।
दैलेखको शिरस्थाननजिकै जलजले क्षेत्रमा सुरु गरिएको पेट्रोलियम अन्वेषण स्थल, मध्यपहाडी राजमार्गसँगै जोडिएको स्थानमा छ । कर्णाली प्रदेशको रारा घुम्ने पर्यटकहरूको सिजन भदौदेखि जेठसम्म रहेका कारण अधिकांश रारा पुगेर फर्कने पर्यटकहरू यतिवेला दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र र अन्वेषण स्थल पुगेर गन्तव्यमा फर्कने गरेका छन् ।
दिनहुँ दुई सयदेखि तीन सयसम्म पर्यटक आएर फोटो खिच्ने गरेको स्थानीयको भनाइ छ । अहिले जलजले क्षेत्रमा होटेल व्यवसाय गर्ने व्यापारीहरू पनि निकै खुसी देखिएका छन् । एक वर्षअघि दैनिक पाँच सयसम्म व्यापार नहुने उक्त क्षेत्रमा अहिले दैनिक पाँच हजारदेखि १० हजारसम्म व्यापार हुने गरेको जलजलेका व्यापारीहरू बताउँछन् ।