नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताएका छन् । आईतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
विश्व राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको उनको दाबी छ । पूर्व प्रधानमन्त्री नेपालले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधिहरू सञ्चालन भइरहेको बताए । उनले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको उल्लेख गरे।
उनले चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको समेत बताए। नेपालले चिनियाँ र भियतनामी कम्युनिष्ट पार्टीका अनुभवहरू मात्र नभई गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिचकिचाउन नहुने बताए ।
सहसंयोजक नेपालले भने, ‘अमेरिकामा समेत कम्युनिष्टहरु चल्न थालेका छन् । युरोपका देश देशहरुमा पनि त्यही हिसाबले जुलुस प्रदर्शन भइरहेको छ । ल्याटिन अमेरिकाका देशहरुमा वामपन्थीहरु राष्ट्रपतिमा जितेका छन्, अफ्रिकाका देशहरुमा पनि वामपन्थीको प्रभाव बढिरहेको छ । त्यस हुनाले अन्तर्राष्ट्रिय राजनीतिमा चुनौती त छन्, तर साम्राज्यवादको हालत के छ ? इरानलाई तह लगाउँछु भनेर ठानेका थिए, त्यही इरानसँग सम्झौता गर्न पुगेका छन् । पार नलागेपछि पाकिस्तानको सहयोग लिनुपर्छ कि चीनको सहयोग लिनुपर्छ भन्दै फेरि चीनमै पुगेका छन् । चीनमा पुगिसकेपछि आज चीन विश्व राजनीतिको केन्द्र बन्न पुगिरहेको छ । यो सबै सन्दर्भमा हामीले चाहे त्यो चीन होस् या चाहे त्यो भियतनाम होस् या चाहे त्यो अरु कम्युनिष्ट देश होस् या वामपन्थीहरुको सन्दर्भमा होस्, ती देशहरुका पनि राम्रा कुराहरु, वामपन्थीका मात्रै होइन, गैरवामपन्थीहरुले पनि राम्रो काम गरेका छन् भने त्यसबाट पनि हामीले सिक्न पछि हट्नु हुँदैन । त्यसो हुनाले हाम्रा विरोधीहरुमा कुनै राम्रा कुराहरु छन् भने त्यसबाट पनि सिक्न सक्नुपर्छ, उ भन्दा उत्कृष्ट आफूलाई सावित गर्नुपर्छ, त्यस हिसाबले अगाडि बढ्ने कुरामा तपाईँहरु लाग्नुहोस् । तपाईंहरुले धेरै महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ । तपाईँहरु राजधानी केन्द्रित, जिल्ला–जिल्लामा घर भएका तपाईंहरु विभिन्न कामको कारणले गर्दाखेरि काठमाडौंमा तपाईंको कार्यक्षेत्र भएको छ, संगठनको जिम्मेवारी पाउनुभएको छ । तपाईँहरुको दोहोरो जिम्मेवारी हुनेछ । एउटा काठमाडौंको संगठन र चुनाव र अरु बेलामा पनि जिल्लाजिल्ला जुन् जुन् पालिकाको तपाईंहरु हुनुहुन्छ भने, त्यहाँ फोनबाट भए पनि उत्साहित गर्ने, नातागोता आफ्ना मान्छेहरु छन् भने पार्टीको पक्षमा व्यापक रुपमा प्रचार गर्ने, विदेशमा रहेका छन् भने पनि उनीहरुलाई यही पार्टीप्रति आशा जगाउने, यो काममा पनि तपाईंहरु लाग्नुहुनेछ ।’
उनले कार्यकर्ताहरूलाई जिम्मेवारीप्रति गम्भीर बन्दै संगठन विस्तारमा जुट्न आह्वान समेत गरे । उनले काठमाडौंमा रहेर पार्टीको जिम्मेवारी सम्हालिरहेका कार्यकर्ताहरूलाई दोहोरो भुमिका निर्वाह गर्न निर्देशन दिए । कार्यक्षेत्र राजधानी भए पनि आ–आफ्नो गृहजिल्ला र स्थानीय तहका जनतासँग निरन्तर संवादमा रहन उनको आग्रह छ ।








