झरीले सडक भत्किएपछि सर्वसाधारणकाे चाप हवाई सेवामा परेको छ।
दसैँकाे याे माैसममा यात्रुहरूको चाप अत्यधिक बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले उडान संख्या थपेका पनि छन् । उडान संख्या जति नै थप भए पनि सर्वसाधारणलाई टिकट पाउन भने कठिन नै छ ।
श्री, बुद्ध, यतीलगायत वायुसेवा कम्पनीहरूले यात्रुको चाप बढी भएका ठाउँमा उडान थप गरेको बताएका छन् ।
दसैँको मुखमा आएको अविरल वर्षाका कारण बाढीपहिरोले काठमाडौं आवतजावत गर्ने मुख्य प्रवेश सडकहरू अवरुद्ध बनेका छन् । पूर्वतर्फ जाने बिपी राजमार्ग दसैँअगाडि मर्मत नहुने सडक विभागले नै बताइसकेको छ । यस्तै, कुलेखानी–हेटौाँडा र कान्ति लोकपथ पनि ठाउँ–ठाउँमा पहिरो गएर अझै खुलेको छैन । पृथ्वी राजमार्ग आंशिक रूपमा मात्र सञ्चालनमा आएको छ ।
सडकमार्ग अवरुद्ध हुनुका साथै खुले पनि यात्रा जोखिमपूर्ण बनेपछि धेरै यात्रुको रोजाइ हवाई यात्रा भएको छ । सोही कारण वायुसेवा कम्पनीले थपेका उडानहरूमा पनि करिब सबै टिकट बुकिङ भइसकेका छन् । सडक विभागले नै बिपी राजमार्ग दसैँअगाडि नबन्ने भनेपछि पूर्व जाने यात्रुहरूबाट हवाई टिकटको माग बढी आएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले बताए ।

उडान थप गरे पनि दसैँको फूलपातीसम्मका लागि अधिकांश गन्तव्यहरूका हवाई टिकट अनलाइनमा भेटिँदैनन् । सडक अवरुद्ध भएकै कारण यसपटक दसैँ सुरु हुनुभन्दा अगाडिदेखि नै हवाई यात्रुको चाप अत्यधिक बढेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
कुन वायुसेवाले कहाँ थपे उडान ?
बुद्ध एयरले काठमाडौंबाट भद्रपुर र जनकपुरमा दैनिक दुई–दुईवटा र यती एयरलाइन्सले भद्रपुर, जनकपुर र नेपालगन्जमा दैनिक एक–एक उडान थपेको जनाएका छन् । श्री एयरलाइन्सले बाढीपहिरोले सडक अवरुद्ध भएपछि यसअघि नै धनगढी, नेपालगन्ज, पोखरा, भैरहवा र विराटनगरमा उडान थपिसकेको छ । विभिन्न गन्तव्यमा दैनिक १८–१९ उडान गर्दै आइरहेको श्रीले अहिले २६ उडान गरिरहेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए । यात्रुको माग भएमा दसैँमा थप उडानहरू गर्न सकिने उनको भनाइ छ ।

बुद्धले झापाको भद्रपुर र जनकपुरमा दैनिक पाँच–पाँचवटा उडान गर्दै आएकोमा सात–सातवटा उडान पुर्याएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । पूर्वतर्फ जाने बिपी राजमार्ग अवरुद्ध भएर यात्रुहरूको माग बढेपछि उडान थपेको उनको भनाइ छ । यात्रुको मागअनुसार अन्य गन्तव्यहरूमा पनि उडान थप गर्न सकिने उनले बताए । ‘बिपी राजमार्ग अवरुद्ध भएपछि पूर्व जाने यात्रुहरूले टिकट पाइएन भन्ने गुनासो गर्नुभयो,’ उनले भने, ‘हामीले यात्रुको मागलाई ध्यानमा राखेर चारवटा उडान थप गरेका छौँ, आवश्यक परे अरू उडान पनि थप हुन सक्छन् ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्या)ले दसैँका लागि बिहान साढे चार बजेदेखि नै विमानस्थल खुला गरेपछि बुद्धले दसैँसम्मका लागि बिहान साढे पाँच बजे भद्रपुर र जनकपुरमा उडान गरेको उनको भनाइ छ ।
यती एयरलाइन्सले भद्रपुर, जनकपुर र नेपालगन्जमा दैनिक एक–एक उडान थप गरेको छ । यतीले जनकपुरका लागि बिहान ६:५० बजे उडान थपेको छ । ‘हामीले भद्रपुर र नेपालगन्जमा तीन–तीन तथा जनकपुरमा चार उडान गर्दै आएका थियौँ, दसैँका लागि भनेर एक–एक उडान थप गरेका छौँ,’ उनले भने, ‘अतिरिक्त फ्लाइट गर्दा यात्रुलाई केही राहत भए पनि मागअनुसारको आपूर्ति अझै हुन सकेको छैन ।’

श्रीको भरतपुर उडान सुरु:
श्री एयरलाइन्सले शनिबारदेखि चितवनको भरतपुरमा उडान सुरु गर्न लागेको छ । ‘सुरुका केही दिन भरतपुरमा दैनिक चार्टर उडान गर्छौँ, नियामकबाट अनुमति पाउनेबित्तिकै सेड्युल उडान गर्नेछौँ,’ श्रीका प्रवक्ता मानन्धरले भने, ‘अब श्रीको भरतपुर उडान सुरु भयो ।’ यात्रुको चाप बढेपछि श्रीले केही दिनअघि नै उडान थप गरिसकेको मानन्धरको भनाइ छ । उनले भने, ‘यात्रुको माग बढेमा अझै थप उडान गर्न पनि सकिन्छ ।’
बिपी राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फ हवाई यात्रुको चाप अत्यधिक बढेका कारण धेरै वायुसेवा कम्पनीले पनि पूर्वतर्फ नै उडान थप गरेको देखिन्छ । भद्रपुर र जनकपुर उडान बढाउँदा त्यस भेगका यात्रुहरू दसैँमा घर जान सहज हुने वायुसेवा कम्पनीको विश्वास छ । काठमाडौंबाट पश्चिमतिर जाने राजमार्गहरू भने क्रमशः खुल्दै गइरहेका छन् ।
यात्रु र उडानको चाप अत्यधिक हुँदा उडान डिले भइरहेको वायुसेवा कम्पनीका प्रतिनिधिहरूले बताए । ‘वायुसेवा कम्पनीहरूले नियतवश उडान डिले गरेका होइनन्, तर यहाँ यात्रुहरूले वायुसेवा कम्पनीमाथि आक्रोश पोखिरहनुभएको छ,’ उनीहरूले भने, ‘यात्रु र उडानको चाप बढ्नेबित्तिकै स्वाभाविक रूपमा उडान डिले हुन्छन्, हामीले समयमै यात्रुलाई गन्तव्यमा पुर्याउन प्रयास गरिरहेका छौँ ।’
साढे तीन सय उडान, १७ हजार यात्रुलाई सेवा
आन्तरिक हवाई यात्रु अत्यधिक बढेपछि त्रिभुवन विमानस्थलमा उडान चाप बढेको छ । अहिले यात्रु र उडानहरू व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । त्रिभुवन विमानस्थलमा हेलिकोप्टरसहित दैनिक साढे तीन सयभन्दा बढी आन्तरिक उडान–अवतरण भइरहेका छन्, यी उडानहरूमा १५ हजारभन्दा बढी यात्रु आवतजावत गरिरहेका छन् ।
बिहीबार त्रिभुवन विमानस्थलमा हेलिकोप्टरसहित तीन सय ६८ फ्लाइट मुभमेन्ट (उडान–अवतरण) भएका थिए भने १७ हजारभन्दा बढी आन्तरिक यात्रुले आवतजावत गरेको प्रवक्ता शेर्पाले बताए । यसअघि १४ असोजमा तीन सय २४ (हेलिबाहेक) वटा उडान–अवतरण भएको र १९ हजार एक सय ५६ यात्रुले आन्तरिक यात्रा गरेको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक छ । अहिले काठमाडौंबाट बाहिरिने यात्रुहरू खचाखच छन्।








