३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

राष्ट्र बैंकको गभर्नरमा डाक्टर भट्ट पक्का,योग्यता सम्बन्धि मुद्दा सर्वोच्चमा विचाराधीन!


६ बैशाख २०८२, शनिबार  


सत्तारूढ दलबीच भएको सहमति अनुसार डाक्टर गुणाकर भट्ट राष्ट्र बैंकको गभर्नर बन्ने पक्का पक्की भैसकेको छ।

गभर्नरको दौडमा कांग्रेस सभापति देउवाले ज्ञानेन्द्र ढुंगानालाई छोडेर भट्टलाई अघि सारेपछि राजनीतिक रूपमा उनको पक्का भएको हो।

देउवा र ओलीबीच भट्टलाई गभर्नर बनाउने सहमति भएपछि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्तिका लागि सत्ता गठबन्धनका प्रमुख दलबीच सहमति जुटेसँगै शुक्रबार भट्टले राजीनामा दिएका हुन् ।

गभर्नरको सशक्त दाबेदारको रुपमा हेरिएका भट्टलाई गभर्नर बनाउन सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटेको हो ।

भट्टलाई गभर्नर बनाउन कांग्रेसका सभापति देउवाले सुरुदेखि नै जोड लगाए पनि प्रधानमन्त्री ओली सहमत नहुँदा गभर्नर नियुक्ति अनिश्चित बन्दै आएको थियो। तर, मंगलबार बिहान देउवासँगको भेटवार्तापछि ओलीले बुधबार नै भट्टलाई बालुवाटार बोलाएर छलफल गरेसँगै भट्टको गभर्नर बन्ने बाटो खुलेको हो।

यद्यपि उनको योग्यतालाई लिएर सर्वोच्चमा रिट दायर भएको छ। त्यसको लागि आ ईतबार पेशी तोकिएको छ। राष्ट्र बैंक सञ्चालन सम्बन्धि ऐन २०५८ ले सिफारिस समितिको बन्दोबस्त गरेको छ।राजनीतिक सहमतिमै हुने भएकोले भट्ट सहजै गभर्नर हुने धेरैको विश्वास छ।

सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले भट्टलाई गभर्नर नियुक्ति गर्ने प्रवल सम्भावना रहेको स्रोत बताउँछ।

१८ औँ गभर्नरको दौडमा राष्ट्र बैंककै कायममुकायम गर्भनर निलम ढुंगानासहित पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रविन्द्र पाण्डे पनि रहेका थिए।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : १७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित