२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

दुई महिनामा झन्डै अढाइ अर्ब रकमान्तरण, सबै भन्दा बढी कृषि क्षेत्रमा


१५ कार्तिक २०८१, बिहिबार  



सरकारले गएको दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयको भदौ र असोजमा आधारित सहयोग, रकमान्तर र थप बजेट निकासासम्बन्धी विवरण अनुसार यो अवधिमा सो बराबरको रकम रकमान्तर भएको हो ।

यो अवधिमा २५ लाख आर्थिक सहायता तथा १७ करोड ७५ लाख रुपैयाँ बराबरको थप बजेट निकासा भएको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यो अवधिमा रकमान्तर भएको सबै रकम कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विशेष कृषि कार्यक्रम अन्तर्गतको रकम लगानी विविध शीर्षकमा रकमान्तर गरिएको छ । मन्त्रालयले दूध तथा उखु किसानको भुक्तानीका लागि अर्थ मन्त्रालयबाट यस्तो बजेट रकमान्तर गराएको हो ।

त्यस्तै, आर्थिक सहयोग मध्ये कृष्णमोहन कोइरालाको उपचारका लागि ५ लाख रुपैयाँ सुरेन सुनुवारको आश्रित परिवारलाई २० लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप बजेट निकासा भएका बजेटमा १४ करोड रुपैयाँ स्विस सरकारको अनुदानमा सञ्चालित कार्यक्रममा खर्च नभएको रकम संघीय राजश्व खाताबाट स्विस अनुदान सहायता खातामा जम्मा गरिएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयलाई चीनले उपलब्ध गराएको सवारी साधनको भन्सार तिर्ने प्रयोजनको लागि १ करोड ५६ लाख निकासा दिइएको छ भने केही बजेट यसअघि भुलवश एउटा खातामा जम्मा भएकोमा सच्याउने प्रयोजनमा प्रयोग गरिएको छ ।

मन्त्रालयले दुई महिनाको अवधिमा मात्रै १४ वटा मन्त्रालयका २८ वटा भन्दा बढी कानूनका मस्यौदाहरू स्वीकृत गरेको समेत जनाएकाे छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ५ : १९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित