३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकका रूपमा एनसेल पहिलो सूचीकृत कम्पनी


१० बैशाख २०८२, बुधबार  



एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदाय कको रूपमा सूचिकृत हुने पहिलो कम्पनी भएको छ । सूचना प्रविधि विभागमा दर्ता भएका कम्पनीमा एनसेल पहिलो भएको हो।

विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत गरेको हो । विभागले हालै मात्र सूचना प्रकाशन गर्दै डेटा सेन्टर तथा क्लाउड सेवा ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका २०८१ बमोजिम सूचीकृत हुन सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो ।

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेस भएको निवेदन तथा कागजात अध्ययन गरी कम्पनीले तोकेको सञ्चालन मापदण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकोले कम्पनीलाई सुचिकृत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्देशिकाअनुसार हाल सञ्चालनमा रहेका डेटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान छ । यस निर्देशिका सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । एनसेल तोकिएको अवधिभन्दा पहिला नै सुचिकृत भएको हो ।

निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ । डेटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सुचिकरण गराएको हो  ।

हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । पोखरा र हेटौँडामा एनसेलका डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालनमा छन् । एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सुचिकरणको प्रक्रिया सहज भएको बताएका छन् । उनले सुचिकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा खुशी पनि व्यक्त गरेका छन् ।

सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुल लगायतका कागजात तथा विवरण अध्ययन गरेको थियो । सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : १९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित