३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

शेयर बजारले गएको वर्षको अंक भेट्टाउला ?


२२ असार २०८२, आइतबार  



गएको साल हो, जतिबेला शेयर बजार सूचक औसतमा २००० बिन्दु वरीपरी थियो । शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १००० बिन्दु थपिएर ३००० बिन्दुमा पुगेको थियो आजैका दिनमा । गएको साल २०८१ असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ दिनमा ९६३ अंकले बढेर गएको साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो यो बिन्दु २०७८ भदौ यताकै सबै भन्दा उच्च हो ।

नेप्से २०७८ भदौ २ गते ३१९९.०३ अंक (त्यसदिन ३२२६ सम्म) पुगेपनि यो रेकर्ड हालसम्म तोडिएको छैन । त्यसयता नेप्से सबैभन्दा माथि पुगेको भनेकै गएको वर्षको साउनमा (३००० बिन्दु) हो । अधिकांश समय १८०० र २००० बिन्दुको वरीपरी रहेको नेप्से खासगरी, २०८१ असार १६ मा कायम २०३७ बिन्दुबाट तिब्र गतिमा बढ्दै १००० अंक माथि पुगेको थियो ।

हाल असार १९ मा आईपुग्दा नेप्से गएको असार १६ मा कायम २०३७ बिन्दुबाट ६६६ अंक माथि छ भने साउन ३१ को ३००० बिन्दुभन्दा करिब २९७ अंकले तल (२७०३ बिन्दुमा)छ । विगतका शेयर बजारको घटबढ चक्रलाई हेर्ने हो भने पनि असार, साउन र भदौ महिनालाई सूचक वृद्धिको समयको रुपमा समेत लिने गरिन्छ ।

हाल पनि शेयर बजारले विगतको यस चक्रलाई एक पटक पछ्याउने हो कि भन्ने चर्चा बजारमा सुरु भइसकेको छ । हुन पनि, २०८१ माघ २१ पछि नेप्से पहिलो पटक लगातार पाँच कारोबार दिनले उकालो लागेको छ । गएको साताको पाँच कारोबार दिनमा पाँचै दिन बढेर नेप्से १०८ अंकको वृद्धिका साथ २७०३ बिन्दुमा रोकिएको छ ।

यसअघि, माघ २१ अघिका नौ कारोबार दिनमा भने नेप्से लगातार नौ दिन बढ्दै २८९० बिन्दुसम्म पुगेको थियो । अन्यथा, त्यसयता सूचक प्रायजसो घट्दोक्रममा नै थियो । गत वर्ष बजार उक्लिएको समय पारेर नेप्से पाँच दिनमा १०८ अंकले बढेर २७०३ बिन्दु कायम भएपछि अब बजार थप माथि उक्लिने आँकलनहरु भइरहेका छन् ।

२०७८ मा बनेको ३२२६ बिन्दुको उच्च रेकर्ड तोडिनका लागि पनि नेप्से करिब ५२३ अंकले मात्रै टाढा छ । यदि, राजनीतिक तथा अन्य स्थिति सकारात्मक रहेमा नेप्सेले रेकर्ड ब्रेक गर्नसक्ने सम्भावना रहेको चर्चा लगानीकर्ताले गर्दै आएका छन् । शेयर लगानीकर्ता देव गुरागाईं बजारलाई प्रत्येक्ष असर पुराउने कुराहरु यो बीचमा नआए गति लिन कठिन नभएको बताउँछन् ।

गएको वर्षको जस्तै यस वर्ष पनि नेप्से एक महिनामै १००० अंकले बढ्छ भन्न सक्ने स्थिति ठ्याक्कै भने छैन । किनभने, गएको वर्षको र हालको राजनीतिक तथा अन्य स्थितिमा निकै फरक भएको जानकारहरु बताउँछन् । यद्यपि समग्र माहोल सकारात्मक रहेको र राष्ट्र बैंकले मौद्रिक नीति पनि लचिलो ल्याउने चर्चा रहेकाले यो स्थिति कायम रहेमा बजारले नयाँ रेकर्ड बनाउनसक्दछ । गभर्नर पनि शेयर बजारप्रति सकारात्मक रहेको संकेत देखिएकाले पनि यसले बजार बढाउन भूमिका खेल्न सक्छ ।

हुन, त हालैमात्र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको शेयर बजारमा रहेको लगानी पनि सार्वजनिक भइसकेको छ । यसले पनि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव पार्ने गर्दछ । साथै, केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेर आगामी मौद्रिक नीति बजारको पक्षमा आउने संकेत गरिसकेको छ ।यसले, मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्तामा समेत एक किसिमको सकारात्मक सन्देश प्रवाह गरिसकेको छ ।

‘गएको वर्षको भन्दा यस वर्षको ब्याजदर आधा कम रहेकाले असार मसान्तको दबाब तुलनात्मकरुपमा कम पर्ने देखिन्छ । यदि, अब करिब एक साता बजार थामियो भने साउन लागेपछि त बजार उकालो लाग्ने समय हो ।समग्रमा बजार सकारात्मक लयमा नै अगाडि बढ्ने देखिन्छ

त्यसैगरी राष्ट्र बैंकमा गभर्नरको रुपमा डा पौडेल आएपछिको पहिलो मौद्रिक नीति समीक्षाबाट नै पौडेलले शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेर सकारात्मक सन्देश दिइसकेका छन् । सार्वजनिक मञ्चहरुमा समेत शेयर बजारका विषयमा सकारात्मक ढंगमा वक्तव्य दिँदै आएका पौडेलको आफ्नै १५ लाख ३७ हजार कित्ता शेयर लगानी रहेको विवरण बाहिर आएको छ ।यसले पनि उनले पुँजी बजारलाई नजिकबाट बुझेको रुपमा लगानीकर्ताले लिएका छन् । राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ भने त्यसले शेयर बजारका माग, समस्या र सुझावसमेत लिएको छ । बजारका अन्य वित्तीय सूचकलाई हेर्ने हो भने पनि बजार अनुकुलन नै देखिन्छन् ।

अहिले ठूलो मात्रामा शेयर कर्जा प्रवाह भएको छ भने विशेषगरी, ठूला र संस्थागत लगानीकर्तातर्फ बढी कर्जा गएको छ । बैंकको ब्याजदर न्यून छ भने बजारमा तरलता पर्याप्त छ । हिजो बैंकमा १० देखि १२ प्रतिशतसम्म ब्याज लिएर रमाएका मानिस अहिले ब्याजदर घटेका कारण लगानी क्षेत्रको खोजिमा छन् । गत वर्षको तुलनामा ब्याजदर न्यून रहेकाले असार मसान्तको दबाब पनि धेरै नपर्ने तर्क लगानीकर्ताले गरिरहेका छन् ।

नीतिगत रुपमा पनि शेयर बजारका लागि खास किसिमका कठिनाई छैनन् । शेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत तर्फ जारी गर्ने शेयर धितो कर्जाको १५ करोड रुपैयाँको एकल ग्राहक सीमा पूर्णरुपमा खारेज गर्नुपर्ने विषय बढी उठाइरहेका छन् ।

यसका अलावा संघहरूले लघुवित्त संस्थालाई लगाइएको १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था खुला अर्थनीतिको सिद्धान्त विपरीत भएको लगायतका केही गुनासा मात्रै लगानीकर्तासँग छन् । बजारमा बैंक तथा वित्तीय संस्थाहरुको स्थिति पनि नाजुक छैन ।

यद्यपि, माहोल सकारात्मक स्थितिमा रहेपनि बजारमा देखिने बेथिति र नकारात्मक टे«न्डलाई भने नियमन गर्न आवश्यक छ । बजार चलयमान हुँदा नकारात्मक जानकारी र अफहवा बढी फैलाइने भएकाले यसमा नियामकको ध्यान पुग्नेपर्ने आवाज लगानीकर्ताले उठाउँदै आएका छन् । अन्यथा, समग्रमा अधिकांश वित्तीय सूचक र माहोल शेयर बजार अनुकुल नै देखिन्छन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित