हुन त पैसा विना पुँजीवादी समाजमा कुनै मूल्य छैन। यहाँ आदर्श ,मूल्यमान्यता,नैतिकता र निष्ठाको पनि धनले मूल्य तोक्छ। चरम उपभोक्तावादी समाजमा पैसा नहुनेहरूको जिन्दगी निर्थक छ र बन्छ। समाजले गरिब हुनुलाई पुनर्जन्मको पाप भनेर दोष लगाउँछ। पैसा समाजको इज्जत मान, सम्मान र प्रतिष्ठाको जोखना बनेको छ।पैसाले यति धेरै विभेदका खाडल खनेको छकि, त्यो पुरिन असम्भव जस्तै छ।
त्यसको पछिल्लो ज्वलन्त उदाहरणको अभिनय भारतका भाजपा विधायक पराग साहले गरेका छन् । वास्तवमा गरिबहरूलाई समाजमा बाँच्न कति गाह्रो छ रु समाजले कति धेरै हेय,अपमान र तिरस्कार गर्दछ भन्ने अनुभवका लागि उनले अभिनय गरेका हुन्। वास्तवमा उनी भिखारी होइनन्। ३३ सय ८३ करोडका मालिक भाजपा विधायक साह यतिबेला उनी भिखारी बनेको भिडियो भाइरल बनेको छ। उनी भिखारीको भेषमा मुम्बई घटकोपरको सडकहरूमा भौतारिँदै गरेको दृष्य भिडियोमा देखिन्छ । उनले गरिबको भेषमा सर्वसाधारणसँग सहयोग माग्दै गरेको दृष्य भाइरल बनेको हो।
उनले यो प्रयोग कुनै पनि राजनीतिक कार्यक्रम वा प्रचारप्रसारका लागि गरेका होइनन् । उनी जैन धर्मगुरु राष्ट्रसन्त नम्रमुनि महाराजको शिक्षाबाट प्रेरित छन् । उनले केही समयका लागि आफ्नो वास्तविक पहिचान बदलेर भिखारी बनेका हुन्।
भौतिक सम्पत्ति र वैभवबाट टाढा रहेर एक असहाय तथा गरिब व्यक्तिको जीवन कस्तो हुन्छ भन्ने यथार्थ अनुभव गर्न उनले यो कदम उठाएका हुन् ।
सन् २०२४ को विधानसभा निर्वाचनको समयमा बुझाइएको सम्पत्ति विवरण अनुसार पराग साह ३३ सय ८३ करोड भारुभन्दा बढी सम्पत्तिका मालिक हुन् । उनी एक सफल रियल स्टेट व्यवसायी समेत हुन् ।
विधायक साहले यो सम्पूर्ण ‘सोसल एक्सपेरिमेन्ट’को एक भिडियो सेयर गरेका छन् । उनले मेकअप र पहिरन परिवर्तन गरेर घटकोपर रेल्वे स्टेसन आसपासका क्षेत्रमा अभिनय गरेका छन् । उनले सामान्य मानिसहरूको भिडभाडमा समय बिताएका छन् । यस दौरानमा अधिकांश मानिसहरूले उनलाई चिन्दैनन्।
भिडियोमा साह सडकको किनारामा बसेर सर्वसाधारणसंग सहयोग माग्दै गरेको देखिन्छन् । यस क्रममा केही दयालु मानिसहरूले उनलाई आर्थिक सहयोग गरे भने धेरैले उनलाई उपेक्षा गर्दै बेवास्ता गरेर हिँडेको देखिन्छ ।
यस्तो अभिनय यसअघि मे २०१६ मा प्रख्यात गायक सोनू निगमले पनि मुम्बईको जुहू क्षेत्रमा भिखारीको भेष बनाएर सडक किनारामा गीत गाएका थिए ।
भारतीय विधायक साहको केवल अभिनय मात्रै होइन, वास्तवमा धनी भएर दुनियाँ देख्दा र गरिब भिखारी भएर
समाजसंग भिड्दा कतिधेरै पीडा हुन्छ भन्ने कुरा अभिनयबाट अनुभव र अनुभूति गरेका छन् ।वास्तवमा गरिबहरूको जिन्दगी कति नारकीय छ, भन्ने यथार्थता महशुस गरेका छन् ।








