२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

कागेश्वरी मनोहरा नगरपालिकाले रसुवा बाढी पीडितलाई दियो साढे ७५ लाख आर्थिक सहयोग !


१८ भाद्र २०८३, बिहिबार  


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कागेश्वरी मनोहरा नगरपालिकाले ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको दोस्रो बैठकले बाढीमा परी ज्यान गुमाएका रसुवा, नुवाकोट र धादिङका नागरिक तथा अन्य क्षेत्रबाट प्रभावित भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको हो।

नगरपालिकाका अनुसार उक्त सहयोग रकममा नगर प्रमुख, नगर उपप्रमुख तथा वडा अध्यक्षहरूको एक महिना बराबरको सेवासुविधा र अन्य जनप्रतिनिधिहरूको ७ दिन बराबरको सेवासुविधा समावेश गरिएको छ।

त्यसैगरी नगरपालिकाअन्तर्गतका नगर अस्पतालसमेतका स्थायी, अस्थायी तथा करार कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको २ देखि ७ दिनसम्मको पारिश्रमिक समेत सहयोगमा समेटिएको छ। यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रकम समेत जुटाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले संकलित ७५ लाख ५५ हजार ५७५ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहिबार  १ : २६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित