गएको भदौ तेश्रो सातातिरको समय हो । जतिबेला प्रधानमन्त्री एमालेका अध्यक्ष केपी ओली थिए । कांग्रेसको बैशाखीमा प्रधानमन्त्री बनेका उनी र उनको सरकारको तयारी संयुक्त राष्ट्र संघको महासभामा जाने तयारी गर्दै थियो । जतिबेला जेनजी पुस्ताले नेपो बेबी ट्रेण्ड भनेर सामाजिक सन्जाल टिकटक र डिस्कर्डमा अभियान चलाइरहेका थिए ।
सामाजिक सन्जाल प्रतिबन्ध लगाएको सहित भ्रष्टाचारका मुद्दा उनीहरुका थिए । दशौ लाख जेनजीहरु सडक उतारिने भन्दै सन्जालमा व्यापक प्रचार भइरहेको थियो । मानौ, सञ्जालको त्यो अभियानले मुलुकभित्र उथलपुथल ल्याउँछ भन्ने आँकलन गर्न सकिन्थ्यो । सञ्जालमा आँधी झै फैलिरहेको सरकार विरोधी डिजिटल अभियानलाई त्यत्तिबेलाको सरकार र उसको गुप्तचर निकायले पनि थाहा नपाउने त कुरै भएन । तर, यो सन्जालको आँधीलाई बेवास्ता गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओली जम्बो टोली लिएर संयुक्त राष्ट्र संघको महासभामा तिर्थाटन जाने तयारीका लागि झोला तयार गदै थिए । यस महासभामा प्रधानमन्त्री जानुपर्ने कुनै बाध्यकारी थिएन ।
तर, उनीमा सत्ताको सुख र मस्ती गर्ने आदत थियो । संयुक्त राष्ट्र संघको महासभामा पुगेर विगत झै देखाउनु थियो । गएको असोज ७ देखि १३ अर्थात सेप्टेम्बेर २३ देखि २९ सम्ममा राष्ट्रसंघको ८० औ महासभा थियो । राष्ट्रसंघको ८०औँ महासभामा भाग लिनका लागि उनले २५ जनाको जम्बो टोली लिएर अमेरिका जाने तयारीमा थिए।सधैं राष्ट्रसंघको महासभामा प्रधानमन्त्री तहबाटै भाग लिन जानुपर्ने बाध्यता नभए पनि ओलीले भने गएको वर्षझैँ यसपटक पनि आफैँ महासभामा भाग लिने तयारी गरेका थिए।त्यसका लागि उनले २५ जनाको सरकारी टिकटसमेत बुकिङ भइसकेको थियो।
तत्कालीन प्रधानमन्त्री ओली, ओलीपत्नी राधिका शाक्य र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक राजनीतिक सल्लाहकार विष्णु रिमालको बिजनेस क्लासको टिकट बुकिङ भएको थियो भने अन्य २२ जनाको भने इकोनोमिक क्लासको टिकट बुकिङ भएको पाइएको छ। तर, राष्ट्रसंघको महासभा सुरु हुनु करिब दुई हप्ताअघि नै ओली जेन–जी आन्दोलनबाट सत्ताच्यूत भए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपालका तर्फबाट राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि÷राजदूत लोकबहादुर थापालाई पठाएको थियो ।
बालुवाटारलाई आफ्नै निजी पेवा ठान्ने ओलीलाई लागेको थियोकी जेनजीहरुको विरोध कार्यक्रम माइतीघरमै थन्किन्छ । यसले आफ्नै सत्ताच्यूत गर्ला भनेर कल्पना पनि गरेका थिएनन्। जुन कुरा उनले भदौ २३ को अघिल्ला दिनहरुमा दिएको अभिव्यक्तिबाट पनि थाहा लाग्छ । यसबाट के प्रष्ट हुन्छ भने ओलीका संयन्त्रहरु निकै फितला थिए । तिनले सही सूचना समयमै दिन सकेनन् । या ओलीले जेनजी आन्दोलनलाई बेपरवाह गरे । जसको परिणाम करिब दुई तिहाइको सरकार दुई दिनमै सत्ताच्यूत भयो । देउवाले घरमै कुटाइ खाए । ओली भाग्यले बचे । करिब एक वर्ष पछि देउवालाई सत्ताको चाबी बुझाउने योजना पनि खरानी भो, संयुक्त राष्ट्रसंघको महासभामा जाने योजना पनि त्यत्तिकै तुहियो । ००००








