रसुवा बाढीको विषयमा चीनले पूर्व सूचना नेपाललाई नदिएको भन्ने आ रोप मिथ्या भएको बताएको छ।
नेपालमा गएको बाढी र पहिरोपछि हिमनदी तथा जलस्तरसम्बन्धी आवश्यक पूर्वसूचना उपलब्ध नगराएको भनी उठेका प्रश्नहरूलाई चिनियाँ विदेश मन्त्रालयले अस्वीकार गर्दै मिथ्या भ्रम भएको बताएको हो।
चीनले नेपालसँग मौसम, जलस्रोत तथा विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । चीनले विपद् राहत तथा उद्धारमा नेपाललाई पूर्ण सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
चिनियाँ पक्षका अनुसार मौसम सम्बन्धी हाइड्रोलोजिकल र मेट्रोलोजिकल तथ्यांक नियमित रूपमा प्रदान गरिँदै आएको छ ।
चिनियाँ विदेश मन्त्रालयले रोयटर्सलाई उपलब्ध गराएको एक वक्तव्यमा दुवै देशबीच मौसम विज्ञान, जलस्रोत र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सुदृढ सहकार्य रहँदै आएको जनाएको छ ।
चीनले नेपालको राहत कार्यमा पूर्ण सहयोग जारी राख्ने र दुवै देशका जनताको साझा हित रक्षाका लागि सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
दुवै देशका नागरिकको सुरक्षा र हित रक्षाका लागि विपद् न्यूनीकरणमा सहकार्य थप बलियो बनाइने चीनको विदेश मन्त्रालयले रोयटर्सलाई दिएको एक वक्तव्यमा उल्लेख छ ।
बाढी आउनुअघि चीनसँग विशेष गरी आफ्नो सीमाबाहिरका हिमाली क्षेत्रका हिमनदीको अवस्थाबारे कुन स्तरको तथ्यांक उपलब्ध थियो भन्ने अझै स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ ।
तर, चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीका भू–जोखिम विशेषज्ञ फ्यान सुआनमेईले यस्ता हिमाली क्षेत्रमा विपद् आउनुअघि नै जोखिम पत्ता लगाउनु अत्यन्तै कठिन हुने बताए ।
पाँच हजार मिटरभन्दा बढी उचाइमा हुने भएकाले परम्परागत रूपमा मैदानमै गएर निगरानी गर्न असम्भवप्रायः हुनुका साथै, अत्यधिक चिसो र उच्च उचाइका कारण सेटेलाइट तस्बिरहरू हिउँ, बरफ र भिरालो भूगोलले गर्दा अस्पष्ट हुने र अनुगमन उपकरणहरूले काम गर्न कठिन हुने उनले बताए ।








