२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

भ्रमित र तथ्यहीन भिडियो फिक्सनका खतरनाक युट्युबर !


२६ आश्विन २०८२, आइतबार  


तपाईं हामीलाई जादूकरले देखाउने छद्मभेषी कला औधि रोचक लाग्छ। उसको जादूमय छट्टु कलाले हाम्रो मन र मस्तिष्कलाई पहिल्यै नापिसकेको हुन्छ, जसमा हामी सजिलोसँग भ्रमित हुन सक्छौ भन्ने कुराको ।

सत्य भन्दा भ्रमले मानिसको मन र मस्तिष्कलाई छिटो तान्ने गर्छ । त्यही भएर भनिन्छ नि ,भ्रमले पृथ्वी भ्रमण गरेर फर्किसक्दा सत्यले बल्ल जुत्ताको तुना बानिरहेको हुन्छ। हो, आज सूचना प्रविधिको यो दुनियाँमा भ्रम हाबी छ,सत्य गौण छ। भ्रमका कथाहरूले हाम्रो दिमाग यति छिटो प्रभावित पार्छन् कि हामी सत्य के हो या होइन भन्नेतिर सोच्नै सक्दैनौं । बरू त्यही झुटलाई सत्य ठान्छौ।यो तपाईं हामी सबै महशुस र अनुभव गरेको कुरा हो।

त्यसको तथ्य के हो , त्यतातिर हामी सोच्नै सक्तैनौ । किनकि भ्रममा मिठास धेरै भरिएको हुन्छ। मान्छेको बुद्धि भुट्ने कथ्यात्मक रसायनहरू मिसाइएको हुन्छ । जति धेरै यस्ता भ्रम कथा हेर्न ,पढ्न र सुन्न समाज अभ्यस्त हुन्छ, त्यति धेरै भ्रमले बजार विस्तार गर्दछ, गरिरहेका पनि छ। यतिसम्म भैसक्यो कि ,अब फेक न्यूजलाई अन्तिम ठान्ने समाज निर्माण भैसकेको छ। भाइरलहरूलाई समाजले आईकन भन्न थाल्यो, सेलिब्रेटी मान्न थाल्यो। सामाजिक योगदान,उपाधि ,राष्ट्रिय योगदान र बलिदानले होईन, फत्तुर भिडियो क्लिप्स बनाएर धेरै भ्युज बटुलेपछि त्यो मानिस आइकन हुने भो । गहिरो अध्ययन, तथ्यको खोज तथा अनुसन्धान, सूचनाको फ्याक्ट चेक र स्रोतको विश्वसनीयता र गोपिनियतासंगै त्यसले पार्ने सामाजिक आर्थिक प्रभावको प्रक्षेपणलाई पूरै बेवास्ता गरिएका यस्ता सामग्रीले सस्तो लोकपृयता कमाएपनि अन्ततः समाजलाई बर्बादीमा पुराउँछन्।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला सुजन ढकाल र हामनाथ न्यौपानेले भ्रम फैलाए । झापामा मेयरको घरमा ८० किलो सुन भेटियो भन्दै उनीहरूले युट्युबिङ गरे।जुन कुरा वास्तविक थिएन र ठहरिएन पनि । यस्ता फेक सामग्रीको उत्पादकमा नाम चलेका पात्रहरू सुजन ढकाल,दिवाकर साह,हामानाथ न्यौपाने (भाग्य) , टंक दाहाल, प्रकनशचन्द्र दाहाल,भोजराज थापा,अर्जुन भुसाल र सन्तोष देउजा आदि अनुहारहरू हुन् । यीनीहरू तथ्यहिन कथा बनाएर सोझा सिधा दर्शकलाई भ्रमित पारिदिन्छन्। यीनले तयार पारेका दृश्य कथाको वास्तविकता बुझ्न कोही चाहादैनन् र प्राथमिकतामा पनि राख्दैनन् ।

बरू उनीहरूलाई सेलिब्रेटी र नायक बनाइदिन्छन्, सत्य नै यही हो भन्ने झै ठानिन्दिन्छन्। आम दर्शकको यही मनोविज्ञानलाई तौलेर उनीहरू भ्रमित सामग्री उत्पादन गर्छन् । फेक र गलत सूचनाको आँ धि चलाएर उनीहरू डलर मात्रै झार्दैनन् , समाजलाई अन्यौलता र भयमा फसाउँछन्।

सूचना प्रविधिको विकाससंगै सामाजिक सञ्जाल सूचना संप्रेशणको प्ल्याटफर्म बनेको छ र हो पनि ।यस्ता प्ल्याटफर्ममा संप्रेशित सूचना वा समाचारको विश्वसनीयता त हुदैन ।तर तपाईं हाम्रो दिमागलाई यसरी भुट्दिन्छकि तपाईं हामी उसलाई नै पत्याइदिन्छौ।


यस्ता भ्रामक तर रोचक कथाको स्रोत भनेको अल्पज्ञानी, नक्कली अभियान्ता र ठग विश्लेषकहरू हुन्। जस्तै प्रचण्डको डेराबाट २ करोड दुईवटा ट्रकबाट निकालिएको भन्ने पूर्व प्रहरी अधिकृतको तथ्यहिन दलील पेश र टासी ल्हान्जोम भारतमा पढेकोले तिब्बतीयन भएको दाबी गर्ने राप्रपाका नेता ज्ञानबहादुर शाहीको तथ्यहिन आरोप पछिल्ला उदाहरण हुन् । शाही पनि युट्युबरलाई झुठो र मिथ्या अभिव्यक्ति दिएर चर्चित भएका हुन्। युट्युबरकै कारण चुनाव पनि जितेका हुन्। उनी कति धेरै अल्पज्ञानी छन् भन्ने कुरा केही समय अघि सुनको भाउको बारेमा गरेको टिप्पणीबाट थाहा हुन्छ। उनले गणतन्त्रको कारण सुनको भाउ बढेको भन्दै हास्यास्पद तर्क गरेका थिए। जबकि सुनको भाउ हाम्रो काबुको विषय होईन । तर, उनको यो तर्क भाइरल नै बनेको थियोे ।


फेक न्यूजको कारखानाको लागि पछिल्लो गतिलो साधन बनेको छ एआइ । एआइको सहयोगमा फेक सामग्री बनाउन थालिएको छ।कसैको चरित्र हत्या गर्न या बार्गेनिङ गर्न यसको सहयोग लिएको पाईन्छ । त्यस्ता सामग्री फेसबुक र इन्ट्राग्राम जस्ता सोसियल प्लाटफर्मबाट यस्ता भ्रामक र कपोकल्पित सूचनाको तीब्र प्रसार भइरहेको छ । मान्छेलाई दिग्भ्रिमत पारेर भ्युज र लाईकको व्यापार यथावत छ ।

यस्तै फेक व्यापारको चल्तीवाला युट्युबर हुन्, दिवाकर साह । साह नामका यी युट्युबरले जेनजी आन्दोलनमा तिब्बतीय ओर्जिनल ब्लड भएको भन्दै हौवा फिजाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई विदेशी दूतले भेटे भन्दै चर्चा गरिराछन् । यस्ता कपोकल्पित कथाका कथाकार साहलाई एउटा समूहले बरिस्ठ पत्रकार पनि बनाइदिइसक्यो । मिथ्या सूचना फैलाउने साहले आफूमाथि सुरक्षा थ्रेट भन्दै भ्रम फैलाउन थालेका छन् ।

यद्यपि यश अघि पनि उनी आफू असुरक्षित भन्दै फेसबुक लाइभमा आएर तमासा देखाउँथे । जुन कुरा वास्तविक थिएन, दुनियाँको ध्यान खिच्न र लोकपृय बन्न उनी बेला बेलामा यस्तै धन्दा गर्छन् । कतिसम्म मानिसहरूलाई भ्रमित बनाइएको छ, भने गएको केही महिना भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले कालो ड्रेस मुख छोपेर पत्रकार सम्मेलन गरेका थिए । सुरक्षाको कारण उनीहरूले त्यस्तो पोशाकमा पत्रकार सम्मेलन गरेका थिए । तर,त्यही भिडियो युट्युबरहरूले संप्रेषण गरेर जेनजीका नाममा यी को हुन् भनियो ।जुन वास्तविक थिएन ।

पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीकहाँ विदेशी दूतावासका मानिसहरूले तारन्तार भेटिरहे। कुटनैतिक नियोगका मान्छेले प्रधानमन्त्री र राष्ट्रपति लगायतका उच्च पदस्थलाई भेट्छन् त्यो स्वभाविक नै हो। अझ विषम परिस्थितिमा चासो रहनु अन्यथा होइन । यस्तो कुराको फन्डा पनि एक जना विवादास्पद युट्युबरले चलाए ।उनको काल्पनिक र तथ्यहिन कथाको पछाडि ठूलो भीड लाग्यो र लागिरहेको छ। । के ती युट्युबरले बनाएको दृष्य कथामा भनिए जस्तै नेपाल सिध्याउन लागि सकेको हो ? यसको आधिकारिक प्रमाण र तथ्य के ? सरकारी अधिकारीहरूको कतै भनाइ ? कतै छैन। यस्ता फन्डा कथा बनाएका उनले यतिबेला आफू असुरक्षित भएको भन्दा अर्को दृष्य कथा संप्रेषण गरेका छन् । उनी कति फण्डाको खेती गर्छन् भन्ने कुरा हामीसंग माउन्टेन टिभीमा काम गर्दा सबै थाहा छ। चर्को स्वरले बोल्ने र भ्रम फैलाउने युट्युबर हुन् उनी। पत्रकार होइनन्। पत्रकारले बलियो प्रमाण र तथ्य अनि नरम आवाजमा खबर संप्रेषण गर्छ । भाइरल र भ्युजका नाममा तपाईंको मोबाईल स्क्रिनमा आउने मिथ्या सूचना हुन्। जसले तपाईंलाई छिटो प्रभाव पार्छ । यसर्थ सञ्जालमा आउने मिथ्या खबरको पछि कुदेर धारणा नबनाऔ,सत्य तथ्य र आधिकारिक सञ्चार माध्यममा प्रकाशित र प्रशारित खबर हेर्ने, पढ्ने र सुन्ने गरौ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : २९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित