९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

क्रिकेट रंगशालाको सपनाको चिहानमाथि धुर्मुस– सुन्तलीको रूवाबासी !


२६ असार २०८३, शुक्रबार  


जिउँदो सपना देख्नु पर्छ । सपनाले योजना दिन्छ, कल्पनाले प्राप्ती हासिल हुन्छ । यदि हाम्रो मानव समाजमा सपना र कल्पना हुन्थेनन् भने आजको विज्ञान र प्रविधिको यो अभूतपूर्व चमत्कार पनि हुन्नथ्यो होला । तर,सपना र कल्पना गर्दै गर्दा आफ्नो औकात र सामथ्र्यको दायरा, वजन, क्षमता र क्षेत्रको नाँपजाच अवस्य गर्नुपर्छ । योसंगै आफू जाने गाउँ कता हो ? अर्थात उदेश्य के हो ? त्यसको पनि ठोस योजना तय गरि छिनोफानो हुनुपर्छ ।

यदि नजाने गाउँको बाटो बेसूरमा हिडियो भने सपना र कल्पनाकै चिहानमाथि उभिएर धुरुधुरु रुनु पर्ने हुन्छ । अतीतलाई धिर्कार्दै पछुतोको गह्रुंगो भारी बोकेर आँसुमा डुब्ने दिन आउन सक्छ । औकात भन्दा बाहिरको सपना जब ’ईगो’ र महत्वकाँक्षा बन्छ । तब त्यसले केवल सपना मात्र भत्काउँदैन । मान्छेको सामाजिक पूँजी नै खरानी बनिदिन्छ। मानसिक तथा शारीरिक हिसाबले पनि कमजोर भइन्छ । अस्वभाविक सपना र सस्तो लोकपृयताको जहाजमा उडान भर्दा दुघर्टना बेहोर्नुपर्छ ।

२०७२ बैशाखमा भूकम्प जान्छ । धुर्मुस सुन्तली बस्ती बसाएर देशकै ’हिरो’ बन्छन् । कलाकारिता र सामाजिक सेवाले एक दिनको हिरो त बन्छन् । त्यही हो हिरोइज्मको उन्मादले अन्ततः जिरो बन्छन् । उनीहरुलाई जिरो बनाउने भरतपुरको गौतमबुद्ध अन्तर्रािष्ट्रय क्रिकेट रंगशालाब हुन्छ । यही रंगशालाको अन्त्यहीन मुद्दाले यतिबेला उनै नेम एण्ड फेमका आइकन धुर्मुस–सुन्तली आज आफ्नै सपनाको चिहानमाथि उभिएर धुरूधुरू रोइरहेका छन् ।


विनोद चौधरी जस्ता अर्बपतिहरूले त आँट नगरेको परियोजनामा एउटा सामान्य र चल्तीको कलाकारले हात हाल्दा आज त्यही हात उठाएर न्यायको भीख माागिरहनु परेको छ । समाजले शुरु शुरूमा बेस्सरी ताली बजाउँछ । वाहवाही गर्छ । तर समयक्रममा ती तालीहरू सेलाउँदै जान्छन् । सहयोगी र आफन्त पनि निकै टाढा पुग्छन् । उनीहरुसंग केवल बाँकी रहन्छ त १८ करोडको ऋण मुद्दा–मामिला र एउटा कहिल्यै निको नहुने मानसिक चोट ।

सीताराम कट्टेल र कुञ्जना घिमिरे ! जो नेपाली चर्चित कलाकार हुन्छन् । दर्शकले औधि माया पनि गरेका हुन्छन् । उनीहरूको कर्म कलाकारिता हुन्छ । उनीहरु नजाने गाउँको बाटो हिड्छन् । उनीहरुको उदेश्य पवित्र हुन्छ । तर, गन्तव्य अन्जान गाउँको हुन्छ । बुढापाका भन्छन्, घाँटी हेरी हाड निल्नुपर्छ । यही उखानको वास्तविकतालाई उनीहरु विर्सिन्छन् । घाँटीको औकात पनि नहेरेका उनीहरु गाउँमा पुग्छन् । जहाँ उनीहरु जानु नै थिएन। त्यही गाउँको बाटो हिड्दा आज उनीहरूको सामाजिक पूँजी मात्र ध्वस्त हुन्छ । वर्षौँ लगाएर कमाएको कलाकारिताको पूँजी पनि खरानी बन्छ । रंगशाला बनाउन साथीभाइले उक्साउँछन् । भीडले थपडी बजाउँछ ।

तर जब संकट आउँछ । धुर्मुस–सुन्तली एक्लै पर्छन् । हिजो ताली बजाउनेहरु गाली गर्न थाल्छन्। जतिबेला उनीहरु पैसाको अभाव र उधाराको दबाब थेग्नै नसक्ने गरी आउँछ । २०७८ साउन २२ गतेको समय हुन्छ । बजेट अभाव भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनको रंगशालाको काम पूर्ण रूपमा ठप्प हुन्छ । ३९ प्रतिशत काम सम्पन्न भइसकेको हुन्छ । तर, उधारोमा ल्याइएका सामानको बिल र ऋणले फाउन्डेसनलाई थिचिसकेको हुन्छ । अन्ततः उनीहरूले हात उठाउँछन् ।

रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्छन् । १८ करोडको बक्यौता बाँकी नै हुन्छ। सामान दिने आपूर्तिकर्ताहरूले अदालतमा मुद्दा हाल्छन् । सपनाको रंगशाला झमेलाको अखडा बन्छ । अमेरिका पलायन हुन्छन् । नेपाल छोड्छन्। तर, रंगशालाको मुद्दा संगसंगै अमेरिका पुग्छ । धुर्मुस केही समयअघि नेपाल फर्किन्छन् । यो समस्या सल्टाउने आशामा उनी हुन्छन् । तर मुद्दा मामिला चक्रव्यूह अर्कै हुन्छ ।


धुर्मुशको आशा हुन्छ । नयाँ सरकार र नयाँ नेतृत्वले यो गाँठो फुकाउँछ । कानुनमन्त्री सोविता गौतमले पहल पनि गर्छिन् । आपूर्तिकर्ताहरूले १५ करोड पाउँछन् । ३ करोड मिनाहा गर्ने र मुद्दा फिर्ता लिने सहमति पनि हुन्छ । तर, विडम्बना! संघीय सरकारले पठाएको १५ करोड रुपैयाँ भरतपुर महानगरपालिकाको खातामै थन्किन्छ । तत्कालीन मेयर रेणु दाहाल र महानगर प्रशासनको अनिर्णयका कारण आर्थिक वर्षको अन्त्यसँगै त्यो रकम पनि फ्रिज’ हुन्छ । जब असार मसान्त हुन्छ । तब, आर्थिक वर्षको काराबार क्लोज हुन्छ ।

धुर्मुस फेरि उही कहानीमै धुरुधुरु रुन्छन् । रंगशाला महानगर, प्रदेश सरकार या संघीय सरकारले अपनत्व लेलान् । राज्यको सम्पत्ति अवस्य खोजिएला । तर, धुर्मुस–सुन्तलीको यो वास्तविक कथा एउटा ठूलो पाठ र सन्देश हुन्छ । जब कर्म एकातिर हुन्छ। तब महत्वकाँक्षा अर्कोतिर हुन्छ । फलतः धुर्मुस सुन्तलीकै जस्तो दुर्गती हुन्छ ।


भाइरलले रोमान्चति बनाउँछ । तर, यही भीडमा धुर्मुुुस सुन्तलकी जस्तो हालत पनि हुन्छ । राज्यले रंगशाला त बनाउँछ । तर धुर्मुस सु्न्तलीको साख सदाका लागि गुम्छ । त्यो साख र त्यो मुस्कान सधैका विलाउँछ । पीडा र पछुतो जिउँदै हुन्छ । ०००००

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १२ : २९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित