आउँदै गरेको तिहारकाे भाइटीकाका लागि सवा ४५ लाख माला खपत हुने अनुमान गरिएको छ।
फ्लाेरी कल्चर एशाेसियनका अनुसार यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको हाे।
गएकाे वर्षमा कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको थियोे ।
एसोसिएसनले सबैभन्दा बढी ३२ करोड रुपैयाँको सयपत्री फूलको माला खपत हुने अनुमान गरेको छ । गएकाे वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँको ३५ लाख वटा सयपत्री फूलको माला खपत भएको थियो । ‘यस वर्षको तिहारमा ३२ करोड रुपैयाँको ४० लाख माला आवश्यक पर्ने अनुमान गरिएको छ, जसमध्ये २५ लाख माला आन्तरिक र १५ लाख वटा भारतबाट आयात गरिने एसोसिएनकाे विज्ञप्तिमा उल्लेख छ ।
तिहारमा कुल ३ लाख २५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत हुने एसोसिएसनले जनाएको छ । १ लाख ५० हजार वटा मखमली फूलको माला निर्यात गरिने एसोसिएसनका तदर्थ समितिका अध्यक्ष सूर्यभक्त श्रेष्ठले बताउँछन् । उनी भन्छन्,”पोहोर ३ लाख ३५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत भएको थियो भने १ लाख वटा मखमली माला निर्यात भएको थियो। “
‘यसपालि आन्तरिक बजारमा ३ लाख २५ हजार वटा माला र १ लाख ५० हजार वटा मखमली माला निर्यात गरिने अनुमान छ। मखमली फूलको व्यावसायिक खेती काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडीखेल, कैलाली, पाल्पा, धादिङ र इलामलगायत क्षेत्रमा भइरहेको छ ।