११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

ओली भन्छन्, ‘नेकपासँग कार्यगत एकता हुन सक्छ’ !


११ असार २०८३, बिहिबार  


नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नियोजित रूपमै कम्युनिस्ट शक्तिविरुद्ध परिचालित देखिन थालेको भन्दै कार्यगत एकता गरेर जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

अहिलेको सरकार संविधान, कानुन, स्थापित विधि र प्रक्रिया सबै मिचेर एमालेलाई बदनाम गर्न नियोजित रूपमै धरपकडमा उत्रिन थालेको भन्दै उनले नेपालको वाम आन्दोलन बचाउन कम्युनिस्ट शक्तिहरूबिच कार्यगत एकता गरेर जानुपर्ने अवस्था आउन लागेको बताएका हुन् ।

‘उनले अहिलेको सरकार एमालेविरुद्ध, वाम आन्दोलनविरुद्ध नियोजित रूपमै परिचालित भएको दाबी गरेका छन् । उनले लोकतन्त्रको मूल्य–मान्यता नै समाप्त पार्दै विधि, प्रक्रिया, कानुनी मान्यता सबै मिचेर पार्टी नेताहरूमाथि धरपकडमा लागेको छ, जसरी हुन्छ बदनाम गर्नेतिर लागेको हुनाले पार्टी एकढिक्काका साथ अघि बढ्नुपर्ने आवश्यकता भएको दाबी गरेका हुन् । केन्द्रीय सचिवालयको बैठकमा ओलीले अबका दिनमा मन मिल्ने, विचार मिल्ने पार्टी र शक्तिहरूसँग संवाद बढाएर मिलेर जानुपर्ने पनि हुन सक्ने ओलीले संकेत गरेका हुन् ।
बैठकमा ओलीले एमाले र नेपालका अरू कम्युनिस्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू कसरी लागेका छन् भन्ने केही गम्भीर दृष्टान्तसमेत प्रस्तुत गरेको नेताहरूको भनाइ छ । ‘एमाले नरुचाउने, वाम आन्दोलन नरुचाउने कतिपय बाह्य शक्तिका कारण वाम आन्दोलन खतरामा देखिएकाले तिनीहरूलाई जवाफ दिन पनि वाम आन्दोलनलाई सुदृढ बनाउन समाजवाद पक्षधर पार्टीहरूबिच कुराकानी गरेर जानुपर्ने बताएका छन् ।

केही नेताले भने अहिले पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने वेला चुनावी समीक्षा र पुनर्गठन सुझाव अभियान रोक्नुपर्ने बताएका थिए । तर, त्यो पार्टीको नियमित आन्तरिक काम भएकाले तत्कालाई बाँकी प्रदेशहरूमा सम्पन्न गर्ने, तर सरकारको गैरकानुनी र प्रतिशोधपूर्ण विष्णु पौडेलको गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक प्रतिवादसँगै भन्डाफोर अभियानलाई प्राथमिकता दिएर जाने गरी एमालेले निर्णय लिएको थियो । ‘धेरैजसोमा समीक्षा र सुझाव लिने काम भइसकेकाले नियमित सेड्युलभित्र रहेको पार्टीको आन्तरिक कार्यक्रम नरोक्ने नै निष्कर्ष रह्यो,’ उपमहासचिव लेखराज भट्टले भने ।

सातमध्ये एमालेले बिहीबार गण्डकी प्रदेशमा चुनावी समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव भेला गर्दै छ, त्यसलगत्तै शनिबार मधेश प्रदेशको जनकपुरमा त्यस्तै कार्यक्रम राखिएको छ । त्यसपछि राजधानी विशेष प्रदेश, केन्द्रीय सम्पर्क समन्वय कमिटी र जनसंगठनहरूको भेला आयोजना गर्ने एमालेको पूर्वघोषित कार्यक्रम छ ।

कर्णालीको सुर्खेतमा चुनावी समीक्षा र पुनर्गठनसम्बन्धी अभियान चलिरहेकै बिचमा पौडेललाई सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगमा पक्राउ गरेको थियो । कार्यक्रमकै बिचबाट पक्राउ गरेर रातारात पैदलमार्गबाट सार्वजनिक यातायात माइक्रो बसबाट पौडेललाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो ।

महासचिव शंकर पोखरेलले प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक प्रतिवादसँगै भन्डाफोर अभियान सञ्चालन गरिने बताए । ‘विनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ,’ पोखरेलले भने, ‘राज्य संयन्त्रको यस प्रकारको निरंकुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भन्डाफोर अभियान सञ्चालन गर्न सचिवालय बैठकले सम्पूर्ण पार्टीपंक्ति एवं न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १ : ३३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित