२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

दशैका लागि उपत्यकाबाट १८ लाख नागरिक बाहिरिने अनुमान,सडकको अवस्था दयनीय


९ आश्विन २०८१, बुधबार  


यस वर्षको विजयी दशमी तथा दिपावली मनाउने उपत्यकाबाट १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए । उनका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भने, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएकोछ ।”

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए । प्रवक्ता खड्काले भने, “सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।”

प्रवक्ता खड्काका अनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए । प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसीयारी पु¥याउन र यात्रुलाई पनि सजगरहन आग्रह समेत गरेका छन्।

यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। टिकट बुकिङ खुला हुने भएपनि सडकको अवस्था दयनीय भएको यातायात व्यवसायीहरुले बताएका छन्। श्री त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले अग्रिम टिकट बुकिङ खुला गरेर मात्रै सेवा प्रभावकारी नहुने बताएका छन्। सवारी साधन गुड्ने सडकको अवस्था निकै जोखिम भएकोले त्यतातिर ध्यान दिन अध्यक्ष हमालले सञ्जालमार्फत आग्रह गरेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ३३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित