यो भग्नावेशको दृष्य हो, भाग्यमानी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी महल । डडेलधुराबाट राजनीतिमा निस्किदा रित्तो हात काठमाडौ आइपुगेका उनै देउवाको यो भव्य महल भने खण्डहर देखिन्छ, यतिबेला ।
गएको भदौमा भएको जेनजी विद्रोहमा देउवाको भव्य दरबार जलाइएको थियो । अमेरिकी डलर र नेपाली मुद्राको मुठ्ठा भेटिएर सर्वाधिक चर्चा बटुलेको यो भग्नावेश महलको अवशेष मेटाउने गरी थप भत्काइदै थियो । तर, नयाँ सरकार गठनसंगै भत्काउने कार्यमाथि रोक लगाइएको छ । नयाँ सरकारले पूर्व प्रधानमन्त्री,मन्त्री र उच्च पदस्थ सरकारी अधिकारीहरुको सम्पत्तिको खोजतलास गर्ने भएपछि खण्डहर देउवा दरबार भत्काउन रोक लगाइएको हो ।
राजनीतिक बाहेक कुनै पनि पेशा र व्यवसाय नभएका देउवाको सम्पत्ति अथाह र अकूत छ । उनको आयको श्रोत के के हो भन्नेमै स्वयं देउवा नै अनविज्ञ छन् । वाइडबडी काण्डदेखि नक्कली भुटानी शरणार्थी काण्डमा देउवा दम्पत्तिको संलग्न भएको खुबै चर्चा छ । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ होउन्, या रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु पक्राउ गर्न खोज्दा सरकार ढलेको थियो । आरजुलाई पक्राउ गर्न प्रहरी पठाउँदा रवि लामिछानेमाथि सहकारीको मुद्दामाथि मुद्दा लगाएर देशभर घुमाइएको मात्रै होइन, देशका पाँच अदालतमा मुद्दा लगाइयो ।
दुई पटक गरेर ६ महिना हाराहारी गृहमन्त्री भएका उनै रविमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइयो । ३६ वर्षदेखि सत्ताको रिङमा भएका र पाँच पाँच पटक प्रधानमन्त्री भएका देउवाको श्रोत नखोज्ने तर, रविलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत जेल कोच्ने देउवाको भव्य महल भने यतिबेला सरकारी अनुसन्धानको राडारमा छ ।
डलर र नेपाली नगदको खात पाइएको यस महल भत्काइएपछि थप प्रमाणहरु नष्ट हुने सरकारी बुझाइपछि त्यस्लाई जस्ताको तस्तै राख्न रोक लगाइएको अनुसन्धानका अधिकारीहरु बताउँछन् । यस अघिको सुशीला कार्की सरकारले पनि अनुसन्धान अघि बढाएको थियो । देउवा, ओली, प्रचण्ड, आरजु र दीपक खड्काहरुको सम्पत्ति खोज्ने गरी अनुसन्धान थालिएको थियो । त्यही प्रक्रियालाई वर्तमान बालेन सरकारले युद्ध स्तरमा अघि बढाएको हो । २०७४ सालदेखि २०७८ को अवधिमा देउवा पुत्र जयवीरले एक अर्बको जग्गा खरिद गरेको पाइएको थियो । उनको नाममा काठमाडौको चपली, कास्कीको ढीकपुर र बर्दियाको ढोडरमा उनले जग्गा खरिद गरेको मालपोतको विवरणमा पाइएको छ । २०७४ चैत १४ गते जयवीरले किनेको काठमाडौको चपलीको जग्गाको हाल बजार मूल्य मात्रै १५ करोड बराबर रहेको छ ।
यसरी जयबीर देउवाको नाममा जग्गा खरिद गरिएको पाइएको छ । जयवीर कुनै उद्यमी वा व्यवसायी होइनन्, अधिकांश समय विदेशमै श्रीमतीसंग शयर र मस्ती गर्ने देउवा पुत्र जयवीरको अकुत सम्पत्तिसंगै बुढानिलकण्ठको खण्डहरु देउवा महलमाथि राज्यले अनुुसन्धान गर्न थालेको छ ।
सत्ता र शक्तिको चरम दुरुपयोग गरेर देउवा, आरजु अनि पुत्र जयवीरले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेका छन् । उनीहरुको पुख्र्यौली सम्पत्ति पनि होइन । न त आरजुको माइतीको दाइजो यति धेरै हो । जे जति देउवा अनि उनको परिवारले सम्पत्ति आर्जन गरेका छन्। ती अधिकांश अकुत सम्पत्ति हुन् । यति मात्रै होइन, गएको डेढ वर्ष यता देउवाका नातेदारका नाममा समेत करिब ७३ रोपनी जग्गा खरिद गरिएको पाइएको छ । यसले थप यो पुष्टि गर्दछकी, आरजु देउवासंग अकुत सम्पत्ति अथाह छ । बुढानिलकण्ठको महल मात्रै होइन, देशभर जग्गा र धनराशी भएको अनुमान छ ।
उनी २०७८ मा सर्वाेच्चको परमादेशबाट प्रधानमन्त्री भएको बेला तत्कालीन माओवादीका नेता जर्नादन शर्मा अर्थमन्त्री थिए । उनै जर्नादनले देउवा पुत्र जयवीरको कम्पनीलाई सेनेटेरी प्याड आयात गर्ने गरी करको दायरामा समेत चलखेल गरेका थिए । स्यानिटरी प्याडमा उनको कम्पनीको एकाधिकार रहने व्यवस्था मिलाउन कै लागि बजेटमार्फत नै यसको सुनिश्चितता हुने पक्का भइसकेको थियो ।
आर्थिक वर्ष २०७९÷८० को बजेटमा जयवीरको कम्पनीलाई पोस्नकै लागि विदेशबाट आयात हुने सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट हुनेगरी व्यवस्था गरियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत यस्तो घोषणा गरेका थिए ।यो घोषणा हुनेवित्तिकै जयवीरको कम्पनीबाट ४० कन्टेनर अर्थात ८ करोड थान प्याड चीनबाट अर्डर भएको समाचार सम्प्रेषण भएका थिए । यसबारे चर्को विरोध भएपछि कम्पनीले बच्चाको डाइपरमात्रै आयात गर्ने गरेको भन्दै ब्लूप्रिन्ट प्रा.लिले स्पष्टोक्ति समेत दिएको थियो ।
तर, अहिले पनि स्यानिटरी प्याड आयातमा जयवीरकै कम्पनीको रजगज छ । सत्ता र शक्तिको आडमा जयवीरको यो मनपरि भएपनि आरजुले सधै बचाउ गर्दै आएकी थिईन्, उनले भ्रष्टाचार नगरेको दाबी गर्दै पुत्र जयवीरकै कसम खाएकी थिईन्। सार्वजनिकरुपमा छोराको कसम खाएर अकुत धन बचाउन खोज्ने आरजु अनि देउवाको महलमाथि अनुसन्धान छिटो होस्। राजनीतिको आवरणमा आर्जित धन राष्ट्रिय हितमा खर्च गरियोस् ।








