२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

ओलीलाई बाइबाइ ! विशेषबाट होला विदाइ ?


२२ चैत्र २०८२, आइतबार  


भनिन्छ, शक्ति, सत्ता र सम्पत्ति स्थायी हुन्नन्। यीनैको मातले मैमत्त भएमा एकदिन अवस्य नै खाल्डोमै परिन्छ । हो, आज एकताका शाक्तिशाली ठानिएका मानिस आफ्नै अहंकार र दम्भले खाल्डोमा परेका छन् । विपन्न घर परिवारमा जन्मी हुर्की कठोर कम्युनष्टि राजनीतिबाट राज्यसत्ताको धुरीमा पुगेका उनी यतिबेला हिरासतमै उडुससंग भिड्दैछन् ।


देशको चार चार पटक प्रधानमन्त्री, एक पटक गृहमन्त्री र दुई कार्यकाल पार्टी अध्यक्ष भएरपनि यतिबेला उनीसंग उनको विगतको संघर्ष र असफलताको लिखित अलिखित दस्तावेजहरु मात्रै हुन सक्छन् । सत्ता र शक्तिमा रहँदा लाखौ मूल्यका घडी, डेढलाखका चश्मा, लाखका जुत्ता, लाखौका दौरा सुरुवाल र जन्मदिनमा हेलिकप्टरबाट केक बोकाउनेहरु उनीसंग छैनन् । गएको भदौ २२ गतेसम्मको त्यो अद्धितीय शक्ति त्यस्को दुई दिन अर्थात भदौ २४मा खरानी भयो ।


समय बदलियो, सोच बदलियो । हिजो शक्तिमा रहँदा आफन्त ठानिएकाहरु लाखापाखा लागे । २१ फागुन को निर्वाचनपछि पार्टी नराम्ररी पछारियो । त्यो अजय साम्राज्यका सबै पर्खालहरु भत्किए । नयाँ पुस्ता सिंहदरबारको सिंहाशनमा आइपुग्यो । आफ्नै विरुद्ध नरसंहारको अभियोगमा प्रहरी हिरासतमा पुरायो । पार्टीको शीर्ष तहमा बसेर आफ्नो राजनीतिक करिअर मात्रै धुलिासत भएन, पार्टी भूगोल होइन, गुगलमा खोज्ने स्थितिमा पुग्यो ।


इतिहासकै लज्जास्पद हारको कलंक बोकेर सूर्य अस्ताउँदै छ। वास्तविक सूर्य त हरेक दिन अवस्य उदाउला ।तर, ओली र एमाले फेरि उदाउलान् या नउदाउलान्, त्यो भविष्यको गर्भमै छ। यद्यपि विश्व इतिहासमा नामेटको डिलमा पुगेका दलहरु पनि पुनःजागृत भएको इतिहास छ।


छिमेकी भारतमा सन १९८०मा स्थापाना भएको भारतीय जनता पार्टी सन २००० ताका लगभग विलाइसकेको थियो। तर, मोदीको उदयसंगै आज भारतीय जनता पार्टी विगत दश एघार वर्षदेखि सत्तामा छ । एक दशक अघिको भारत र अहिलेको भारतमा ठूलो भिन्नता छ । त्यसका लागि भारतीय जनता पार्टीले निर्मम समीक्षा र कमजोरीको स्वीकारोक्ती गरेपछि भारतीय जनताले मोदीको नेतृत्वलाई सत्तामा पुराएका हुन् । त्यो अवसर एमालेमा पनि छ ।


तर, त्याग, निष्ठा र समीक्षा भन्दा जनतामाथि दोषारोपणको भाष्यमै रमाउने हो भने, एमाले फोनिक्स बर्ड होइन, नार्सिस बन्ने खतरा छ । त्यसका लागि एमालेमा विशेष महाधिवेशनमार्फत युवामा नेतृत्व हस्तान्तरण भएमा एमाले बौरिने सम्भावनाहरु उत्तिकै छन् । तर, नरसंहारको आरोपमा हिरासतमा पुग्दा पनि ओली पदप्रति अटल र अविछिन्न छन्। दुनियाँ गलत हो। मै मात्रै ठिक हो भन्ने मनोभावना र उत्तेजना उनीमा देखिन्छ ।


महाभारत युद्धमा दुर्याेधनहरुले अहंकारको पश्चाताप गर्न नसक्दा पाँच पाण्डले युद्ध जितेका थिए। आज नेपालकै ठूलो लोकतान्त्रिक शक्ति एमाले र त्यसको नेतृत्वमा ओलीमा पनि पश्चाताप र समीक्षाको कुनै गुन्जायस नदेखिएपछि विशेष महाधिवशेनबाट ओली विदाइका तयारी भइरहेको छ ।


ओलीकै कारण १६५ सिटको प्रत्यक्षमा जम्मा ९ सिटमा खुम्चिनुले एमालेका लागि केवल हार मात्र होइन, यो एक ‘ पोलिटिकल डेथ वारेन्ट’ पनि हो । प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ १३.४३ प्रतिशतको मत परिणामले के स्पष्ट पारेको छ भने— जनताले एमालेको ‘कमिटी प्रणाली’ र ‘ओली ब्राण्ड’ दुवैलाई अस्वीकार गरिदिएका छन् । यही अकल्पनीय पराजयलाई जग बनाएर इतर पक्षले ओलीको विकल्प खोज्न ढोका ढकढक्याएको छ ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अदृश्य मार्गदर्शन र उपाध्यक्ष विष्णु पौडेलको प्रत्यक्ष सक्रियताले एमालेभित्र नयाँ समीकरण निर्माण गरेको छ । हिजोसम्म ओलीका सारथि मानिने पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुवीर महासेठहरू आज पार्टी पुनर्गठनको एजेन्डा बोकेर हिँड्नुलाई अर्थपूर्ण मानिएको छ । गोकर्ण विष्ट र योगेश भट्टराई जस्ता नेताहरू त पहिलेदेखि नै नयाँ शिराको पर्खाइमा थिए । अहिले यो समूहले ओलीलाई ‘लेनिन’ बनाएर भित्तामा सजाउने र कार्यकारी अधिकार नयाँ पुस्तामा हस्तान्तरण गर्ने रणनीति अख्तियार गर्ने संकेत देखिन्छ । ००००

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ४१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित