१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

अमेरिका चीनबीच शत्रुता भित्रको मित्रता र प्रतिस्पर्धा ! के नेपालले सिक्न सक्ला ?


४ जेष्ठ २०८३, सोमबार  


विश्वको महाशक्ति अमेरिकी राष्ट्रपति ट्रम्पले यही मे १३ देखि १५ तारिखसम्म बेइजिङ भ्रमण गरे । ट्रम्पको बेइजिङ भ्रमण शानदारले सम्पन्न भयो । ट्रम्प ग्रेट हल अफ द पिपुलमा रेड कार्पेटमा पुगे । जहाँ सयौँ चिनियाँ बालबालिकाहरूले झण्डा फहराइरहेका थिए ।

एउटा सैन्य ब्यान्डले अमेरिकी राष्ट्रिय धुन ‘स्टार–स्प्याङ्गल्ड ब्यानर’ बजाइरहेको थियो ।ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसंग आफ्नो उपस्थितिलाई निकै प्रशंसा र गौरव गरे । चीन–अमेरिका सम्बन्ध अझै प्रगाढ अनि सुदृढ हुनेमा उनले विश्वास पनि व्यक्त गरे । ताइवान मुद्दामा ट्रम्प मध्यमार्गी कै भूमिकामा देखिए ।

दुई महाशक्तिका कार्यकारी राष्ट्र प्रमुखहरुको यो भेटवार्ता र संवादले विश्व राजनीतिमा नयाँ दिशा पनि तय मात्रै गरेन । पश्चिम एशियामा जारी द्वन्द्वको हल गर्ने सुत्रको रुपमा भ्रमणलाई अर्थ्यायो पनि । चीनसंगको सम्बन्धलाई प्रगाढ बनाएर इरानलाई काउन्टर दिने अमेरिकी रणनीति पनि हो यो । दुई देशबीचको धेरै मुद्दामा शत्रुता छ । शत्रुतासंगै उनीहरुबीच मित्रता अनि प्रतिस्पर्धा पनि छ ।
विशेषगरी चीन अमेरिकाबीच ट्रेडवार छ । जहाँ अमेरिकाले १४५ प्रतिशतसम्म ट्यारिफ लगायो । फेब्रुअरी २०२५ मा १० प्रतिशतबाट सुरु भएर अप्रिलको मध्यमा ‘लिबरेसन डे’ सम्म आइपुग्दा यो १४५ प्रतिशतसम्म पुग्यो । ट्रम्पले चीन र अमेरिकाका अन्य कैयौँ व्यापारिक साझेदारहरूमाथि आयात कर लगाउने सुरुवातलाई लिबरेसन डेको नाम पनि दिएका थिए । चीनले पनि यसको जवाफी कारबाही ग¥यो । उसले अमेरिकामाथि १२५ प्रतिशत भन्सार शुल्क लगाइदियो र दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगायो । यससँगै ट्रेड वार अझै चर्कियो ।

तर, यस्तो जटिल र प्रतिकूलताको बीचमा पनि दुई महाशक्तिका नेताबीच भेटवार्ता भयो । बेइजिङ भ्रमणमा ट्रम्पले थुप्रै अमेरिकन उद्यमी तथा व्यापारीहरू लिएर गए । दुई देश बीचमा भएको सौहार्दपूर्ण भेटवार्ताले विश्वलाई सन्देश र सन्देह दुबै दियो। शत्रुताभित्र पनि प्रतिस्पर्धासंगै मित्रता पनि उत्तिकै जीवित हुन्छ भन्ने सन्देश ट्रम्पको भ्रमणले सन्देश दिएको हो । सन्देह यस मानेमाकी सौहार्दताभित्र पनि तिक्ताका गन्ध पनि उत्तिकै थिए र छन् । यसो हुुनुमा ताइवानदेखि पनामा क्यानलजस्ता भूराजनीतिक मुद्दा छन् । सुशुप्त रुपमा यी दुई देशबीच अघोषित युद्ध नै छ ।

जुन हाम्रो जस्तो देशका लागि हो भने यो कट्टर राष्ट्रवादी र अराष्ट्रवादी राजनीतिक एजेण्डा हो । हामी भए, विस्तारवाद, साम्राज्यवाद, लम्पसारवाद, संशोधनवाद आदि इत्यादिका फूर्का जोडेर राजनीति तताउँथ्यौ होला । तर, यीदुई देशबीच भएको मित्रता र शत्रुतालाई कुनै पनि वाद र घातकले अर्थ्याइन्न । उनीहरुबीच बरु निरन्तर भेटघाट र संवादहरु चल्छन्। भव्य र सभ्य राजकीय भ्रमणको आयोजना हुन्छन् । स्वागत र सौहार्दता पनि उत्तिकै हुन्छ । एकले अर्काेलाई उत्तिकै उच्च सम्मान र आदर गर्दछन् । विवादमा संवाद गर्दछन्। संवादबाट थप आफूलाई परिस्कृत र पाको बनाउँछन् । तर, हाम्रो नेपाल जस्तो मुलुकमा जस्तो देखिन्न, उनीहरुको । सिद्धान्त र विचारको चर्का चर्का व्याख्या र तर्क गरेर समयको बर्बादी उनीहरु गर्दैनन् । उनीहरु देशप्रति औधि माया गर्दछन्। तर, विरोधी या शत्रुलाई लल्कारेर उग्र राष्ट्रवाद प्रदर्शन गर्दैनन् ।
जसरी चीन र अमेरिकाबीचको शत्रुतासंगसंगै मित्रता अनि कूटनीतिक सम्बन्ध छ। त्यसैगरी हामीले पनि भारतसंग सम्बन्धलाई समदूरीमा प्रगाढ बनाउन सकिन्छ । भारतलाई विरुद्ध विषबमन गरेर भन्दा पनि असल छिमेकीको एङगलबाट सम्वाद र सम्बन्ध बाक्लो अनि बलियो बनाउनुपर्छ । सार्वजनिक मन्चमा उभिएर भारतलाई धार्ने हात लगाउने शैली जो छ। त्यो आफैमा नेपाल जस्तो भूराजनीतिक जटिलता भएका देशका लागि सार्थक होइन घातक छ । कूटनीतिक मामलालाई वादको छायाँमा पारेर चालिने कदमले कहिल्यै पनि समस्याको विषयमा सम्वाद र छलफल हुन सक्दैन । किनकी कूटनीति भनेको चर्काे आवाज निकालेर चल्ने विषय होइन । यो त एकले अर्काेको समदूरमा सम्मान गरेर अघि बढाइने प्रक्रिया हो ।

भारतसंग हाम्रो सीमादेखि अतिक्रमित भूमि ठूलो विवाद छ । अहिलेसम्म यस विषयमा चर्काे स्वर बाहेक त्यस्तो कुनै पनि विश्वासीलो वातावरण बनाउने सकिएको देखिन्न । यसको अर्थ भारतका अघि झुक्नुपर्छ भन्ने होइन । संवेदनशील मुद्दामा संवेदनशील हुनुपर्छ भन्न खोजिएको हो । अमेरिका र चीन जस्ता शत्रुवत सम्बन्ध भएका देशबीच त मित्रता र सौहार्दताको सम्बन्ध प्रगाढ हुन्छ भने नेपाल र भारतबीच त्यो भन्दा अझै उचाइको सम्बन्ध बन्न सक्छ । तर, हामीमा कूटनीतिक मर्मलाई बुझ्ने र अभिव्यक्त गर्ने कलाको पनि अभाव हो भन्दा फरक नपर्ला की ? ००००

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित