दूग्ध विकास संस्थान (डीडीसी) को घिउ युनाइटेड अरब एमिरेट्स (यूएई) स्थित दुबई निर्यात गरिएको छ । डीडीसी र रातो र चन्द्र–सूर्य इन्टरनेसनल कम्पनीको सम्झौताअनुरूप पहिलो लटमा ६ सय किलो घिउ दुबई निर्यात गरिएको हो ।
पहिलो खेपमा ५ लाख ५० हजार रुपैयाँ बराबरको डीडीसी घिउ निर्यात गरिएको डीडीसीले जनाएको छ । सम्झौताअनुसार दुबईको बजारमा वार्षिक कम्तीमा ५० हजार टन घिउ निर्यात गर्ने लक्ष्य छ । अहिलेलाई ६ सय किलो मात्रै पठाइएको कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।
‘३५० एमएलको सिसाको जारमा घिउ पठाइएको छ,’ घिमिरेले भने, ‘हाम्रो सहायक कम्पनी मातृभूमि जनरल ट्रेडिङ एलएलसीको आफ्नै डिपार्टमेन्ट स्टोर खुल्दै छ, त्यसमै राख्ने हो । त्यहाँबाट आउने रेस्पोन्सका आधारमा अर्को अर्डर गर्ने र लैजाने हो ।’
खाद्य तथा गुण नियन्त्रण विभागले खान योग्य छ भनेर दिइने ‘हेल्थ सर्टिफिकेट’ का आधारमा दुबईमा घिउको पुनः परीक्षण हुने घिमिरेले जनाए । ‘डीडीसीको ल्याब रिपोर्टअनुसार हामीले विभागबाट हेल्थ सर्टिफिकेट लिइसकेका छौं, त्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ,’ उनले भने, ‘दुबईमा त्यसकै आधारमा फेरि जाँच हुन्छ ।’ प्याकेजिङ गरिएको यस्तो घिउको म्याद एक वर्षको हुने उनको भनाइ छ । ‘अहिलेलाई घिउ मात्रै लैजाने भए पनि भविष्यमा याक चिज पनि लैजाने गरी काम भइरहेको छ,’ उनले भने ।
दुबईमा मात्र नभई पश्चिम एसियालाई नै लक्ष्य गरी घिउ निर्यात गर्ने तयारी रहेको कम्पनीले बताएको छ । डीडीसीसँगैको सम्झौतामा यसअघि कोरोनाको समयमा पनि जापानमा घिउ निर्यात भएको थियो । तर त्यसलाई निरन्तरता दिन नसकिएको डीडीसीका महाप्रबन्धक शरणकुमार पाण्डेले बताए ।
‘हामीले अब निर्यातलाई निरन्तरता दिने गरी दूध संकलनमा पनि जोड दिएका छौं, अब छोटो अवधिका लागि हुँदैन,’ पाण्डेले भने, ‘यूएईबाहेक मलेसिया, दक्षिण कोरिया र जापानमा घिउ निर्यात गर्न कम्पनी इच्छुक छन् । सम्झौता गरेर अघि बढाउँछौं ।’
अहिले मासिक २ सयदेखि २ सय ५० टन घिउ खपत भइरहेको र निर्यात बढेपछि यसको मात्रा पनि बढ्ने भएकाले दूध संकलनमा जोड दिइरहेको पाण्डेले जनाए । ‘हामीले दुबईमा पहिलो पटक घिउ पठाउँदै छौं, अरू देशमा पनि पठाउने गरी डीडीसीसँग छलफल भइरहेको छ,’ घिमिरेले भने ।
पछिल्ला वर्षमा नेपालबाट घिउ निर्यात क्रमशः बढिरहेको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउनमा मात्रै १५ लाख ३ हजार रुपैयाँको १ हजार ५ सय ३३ किलो घिउ र १५ लाख रुपैयाँको ३ हजार किलो बटर निर्यात भएको छ । बटर भारतमा मात्रै निर्यात भएको छ । घिउ सबैभन्दा बढी जापान, अस्ट्रेलिया, कोरिया, नेदरल्यान्ड्स र बेलायतमा निर्यात भएको विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षमा ४ करोड ३३ लाख ४४ हजार रुपैयाँको ३९ हजार ८ सय ५९ किलो घिउ निर्यात भएको थियो । सबैभन्दा बढी जापानमा ४ करोड ३२ लाख ७५ हजार रुपैयाँको, भारतमा ५१ हजारको, नेदरल्यान्ड्समा १६ हजारको र बेलायतमा १ हजार रुपैयाँको घिउ निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
आर्थिक वर्ष २०८/र८२ मा १ करोड ५२ लाख ५४ हजार रुपैयाँको १५ हजार २ सय ९ किलो घिउ निर्यात भएको थियो । यस्तै उक्त वर्ष १ करोड ३४ लाख ४१ हजार रुपैयाँको ३८ हजार ९ सय ५० किलो बटर निर्यात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १ करोड ९६ लाख २ हजार रुपैयाँको १८ हजार ९ सय २३ किलो घिउ निर्यात भएको थियो । बटर भने १ करोड २६ लाख २८ हजार रुपैयाँको निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा १ करोड ८६ लाख २० हजार रुपैयाँको घिउ र ७२ हजार रुपैयाँको बटर निर्यात भएको भियो । आर्थिक वर्ष २०७८/७९ मा १ करोड ९३ लाख ५२ हजार रुपैयाँको २१ हजार ६ सय २९ किलो घिउ र २ लाख ६६ हजार रुपैयाँको १ सय ९६ किलो बटर निर्यात भएको थियो ।
डीडीसीसँगै सम्झौता गरेर कम्पनीले निर्यात गरेको दोस्रो पटक भए पनि अन्य समयमा पनि घिउ निर्यात भइरहेको डीडीसीका बजार व्यवस्थापन विभागका प्रमुख सञ्जीव झाले बताए । अब यूएईमा रहेका नेपालीले डीडीसीको घिउ त्यहाँका डिपार्टमेन्ट स्टोरबाट सर्वसुलभ मूल्यमा प्राप्त गर्न सक्ने उनले बताए ।








