१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

२०४६ सालपछि पहिलोपटक सरकारी संस्थान नेपाल औषधि लिमिटेड नाफामा !


१९ श्रावण २०८३, मंगलबार  


नेपाल औषधि लिमिटेड २०४६ सालपछि पहिलोपटक नाफामा गएको छ। विगतमा राजनीतिक भर्तीकेन्द्रका कारण जर्जर बनेको लिमिटेड गएको आर्थिक वर्षदेखि तंग्रिएको हो।

औषधि विक्री बढ्नु , सञ्चालन खर्च घट्नु तथा आफ्ना जग्गा र भवनको भाडाबाट प्राप्त आम्दानीले औषधि लिमिटेड २०४६ पछि पहिलोपटक आर्थिक वर्ष २०८२/८३ मा तीन करोड नाफा गर्न सकेको हो।
आर्थिक वर्ष २०८१/८२ मा १० करोड तीन लाख ७२ हजार रुपैयाँ घाटामा रहेको नेपाल औषधि लिमिटेड गएको आर्थिक वर्ष २०८२/८३ मा तीन करोड रुपैयाँ नाफा गर्न सकेको हो। 


लिमिटेडले गएको आर्थिक वर्षमा आठ करोड १३ लाख ८० हजार २०५ रुपैयाँबराबरको औषधि बिक्री गरेको छ भने जग्गा तथा भवन भाडाबाट चार करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । सबै खर्च कटाएपछि तीन करोड रुपैयाँ खुद नाफा भएको हो। लिमिटेडका अनुसार संस्थाको खातामा हाल दुई करोड रुपैयाँ नगद मौज्दात छ भने बजारबाट उठाउन बाँकी करिब ५० लाख छ ।

लिमिटेडले अघिल्लो वर्षको तुलनामा औषधि बिक्री उल्लेख्य रूपमा बढाएको छ । उत्पादित औषधि सरकारी अस्पताल, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा स्थानीय तहले खरिद गर्दै आएका छन् ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांकले पनि औषधि बिक्री निरन्तर बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा दुई करोड ५० लाख, २०७९/८० मा दुई करोड ६४ लाख १० हजार, २०८०/८१ मा तीन करोड ५४ लाख र २०८१/८२ मा पाँच करोड ५० लाखबराबरको औषधि बिक्री भएको थियो । गएको वर्ष भने बिक्री आठ करोड रुपैयाँ नाघेको छ ।

हाल सातै प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशालयमध्ये ६ वटाले लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरेका छन् । कर्णालीले भने सम्झौता गरेको छैन । सीमित सरकारी संस्थाहरूले मात्रै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि किन्छन् । जसमा काठमाडौं र भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, वीर अस्पताल, सिभिल अस्पताल, गंगालाल हृययरोग अस्पताल, टेकु अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र छन् । काठमाडौंको तारकेश्वर, चन्द्रागिरि, भक्तपुर, सुर्खेतको कञ्चनपुरी, भक्तपुरको सूर्यविनायकलगायत देशभरका ११७ पालिकाले लिमिटेडको औषधि किन्ने गरेका हुन्।

नेपाल औषधि लिमिटेडले कुनै वेला सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्थ्यो । तर, अहिले ११ किसिमका उत्पादन मात्रै गर्छ । सरकारी स्वामित्वको लिमिटेडले उत्पादन गरेको यिनै औषधि पनि सरकारी स्वास्थ्य संस्थाले किन्दैनन् । नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको सरकारी कम्पनी हो ।


स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय नगरिदिएकाले सरकारी स्वामित्वमा रहेको लिमिटेडले उत्पादन गरेको औषधि बिक्री–वितरणमा समस्या देखिएको हो । सीमित स्वास्थ्य संस्थाले मात्रै सरकारी उत्पादन किन्ने गरेका छन् । सरकारी स्वास्थ्य संस्थाले लिमिटेडकै औषधि किन्ने गरी स्वास्थ्य मन्त्रालयसँग एमओयू हुन सकेको छैन ।

यसअघि २०८० साल माघ २० मा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य, उद्योग र अर्थ मन्त्राललाई नेपाल औषधि लिमिटेडको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा लैजानुपर्ने निर्णय गरेको थियो । यश निर्णयपत्र तीन मन्त्रालयमा पठाइएको थियो । जसमा लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने र त्यसका लागि तीन मन्त्रालयबिच एमओयू गर्ने निर्णय भएको थियो । त्यसबारे तीनवटै मन्त्रालयले चासो देखाएपछि सहमति पनि भइसकेको छ।

एकताका घाटामा गएर बन्द हुने अवस्थामा पुगेको नेपाल औषधि लिमिटेड कम्पनी अहिले नाफामा मात्रै गएको छैन। अब लिमिटेडले १० थरीका नयाँ उत्पादन थप्दै छ। हाल ११ थरीको औषधि उत्पादन गर्दै आएको कम्पनीले १० थरीका औषधिको उत्पादन थपिँदा २१ थरी उत्पादन हुने भएको छ। २०२९ मा स्थापना भएको नेपाल औषधि लिमिटेडले कुनै वेला १४६ प्रकारका औषधि उत्पादन गर्थ्यो । तर, अहिले ११ थरीको मात्रै औषधि उत्पादनमा खुम्चिएको छ । जसमा स्यानिटाइजर, ग्लिसिरिन, सिटामोल, जीवनजल, एमजिट, एमजिट डिएफ, सेप्ट्रिमाइन, हेमोडायलाइसिस ए, होमोडायलाइसिस बी, फोलिक एसिड, डिस्टिल्ड वाटर छन् । त्यस्तै, ग्लिसिरिन र ६ फ्लेभरका स्यानिटाइजर बनाउँछ । उद्योगले आगामी दुई महिनाभित्र थप १० थरीका औषधि उत्पादन गर्ने जनाएको छ । जसमा सरकारले निःशुल्क वितरण गर्ने औषधि, जस्तै ः आइरन चक्की, जुकाको औषधि, फोलिक एसिड, सुगर, प्रेसरलगायत दीर्घरोगीका लागि चाहिने औषधि छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित