
पश्चिम एसिया (मध्यपूर्व) तनावसँगै आपूर्ति जटिल बन्दा आधा सिलिन्डर ग्यास बेच्न थालेको आयल निगमले आपूर्ति नै नबढाई एक्कासि भरी सिलिन्डर दिन थालेपछि देशभर ग्यास हाहाकार भएको छ । निगमको अपरिपक्व निर्णयका कारण स्थानीय डिलरमा ग्यास नपाएपछि सयौँ उपभोक्ता चर्को घाम र दर्केपानी सहेरै टेकुस्थित निगमको अस्थायी वितरण केन्द्र र बालाजुस्थित नेपाल ग्यास उद्योगमा सयौँ रित्ता सिलिन्डर लिएर दिनभर लाइन लाग्न बाध्य भएका छन् ।
आयल निगमले जुलाई महिनामा ४८ हजार टन ग्यास आयात गरेको जनाएको छ । तर, अहिले बजारमा माग करिब ६० हजार टनसम्म पुगेको अनुमान छ । गत २८ माघदेखि आधा भरी सिलिन्डर बेच्न थालिएकोमा फागुन र चैतमा ग्यासको चर्को माग थियो । तर, वैशाख र जेठमा माग न्यून थियो । ती दुई महिना औसत ३२ हजार टनका दरले ग्यास आयात भएको निगमको तथ्यांक छ । तर, घर–घरमा रहेका सिलिन्डर खाली हुने वेला पूरा तौल भएको ग्यास बजार पठाउने निर्णय गरेपछि माग ह्वात्तै बढेको छ । अहिले बजारमा क्षणिक माग बढेर ६० हजार टनसम्म पुगेको अनुमान गरिएको निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बताए ।
‘आधा भरी मात्रै ग्यास पाउँदा खाली भएका सिलिन्डर उपभोक्ताले घरमै थन्क्याएर राखे । अहिले पूरा तौलको ग्यास पाउने भएपछि मौज्दात गर्नका लागि सिलिन्डर भरेर राख्ने प्रवृत्ति बढ्यो,’ बरालले भने, ‘त्यसैले अहिले क्षणिक माग बढेर ५५ देखि ६० हजार टनसम्म पुगेको अनुमान छ । अब आपूर्ति बढाएर सहज बनाउन प्रयास हुनेछ ।’
निगमले ३१ असारदेखि भरी सिलिन्डर ग्यास वितरण थालेको थियो । यही समयमा भारतमा विद्यार्थी आन्दोलन भयो भने नेपालको कोशी–मधेश क्षेत्रमा पनि साम्प्रदायिक द्वन्द्व निम्तियो । जसले भारतबाट हुने आयातमा असर पर्न सक्ने त्रासमा उपभोक्ताहरू भएभरका खाली सिलिन्डर भर्ने योजनामा पनि लागे । यहीवेला इन्डियन आयल कर्पोरेसन (आइओसी)को हल्दिया र दुर्गापुर दुईवटा रिफाइनरीमा आगलागी भएपछि नेपालले त्यहाँबाट आयात गर्न पाएको छैन ।
यी दुई रिफाइनरीको कोटा मथुरा, बन्थरा, बरौनी र पाराद्वीपबाट उठिरहेको निगमले जनाएको छ । तर, हल्दिया र दुर्गापुरभन्दा टाढा भएकाले त्यहाँबाट ल्याउँदा ढुवानीमा ढिलाइ भएकाले आपूर्ति सहज गर्न कठिनाइ भएको निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले बताए ।
‘हल्दिया र दुर्गापुरबाट मासिक १० हजार पाँच सय टनसम्म ग्यास आपूर्ति हुने गरेको थियो, तर अहिले दुवै प्वाइन्ट बन्द भएकाले टाढाको रिफाइनरीबाट ल्याइरहेका छौँ । आपूर्तिमा यसले पनि केही समस्या पारिरहेको छ,’ उनले भने । विगतमा ग्यास अभाव खासगरी काठमाडौं उपत्यकाकेन्द्रित हुन्थ्यो । अहिले देशैभर भएको छ । ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले यसपटक देशभर आपूर्ति असहज भएको बताए । ‘अघिल्लोपटक माघ–फागुनमा पनि काठमाडौं उपत्यकामा मात्रै ग्यास आपूर्ति असहज भएको थियो । अहिले त देशभर नै उपभोक्ताहरू ग्यास नपाएको गुनासो गरिरहेका छन्,’ उनले भने, ‘आयातभन्दा माग ठुलो अन्तरले बढेका कारण सहज रूपमा वितरण हुन सकिरहेको छैन ।
निगमले भने सामान्य अवस्थाको तुलनामा आयात वृद्धि गरेको दाबी गरेको छ । निगम प्रवक्ता मनोज ठाकुरले सामान्य अवस्थामा दैनिक ९३–९५ बुलेट ग्यास आयात हुने गरेकोमा एक सातायता दैनिक औसत १०५ बुलेट आयात भइरहेको बताए । ‘उपभोक्ताहरूको अत्तालिने बानीका कारण पनि अहिले ग्यासमा असहज भएको हो, निगमले सामान्य अवस्थाको भन्दा बढी परिमाणमा आयात गरिरहेको छ,’ उनले भने, ‘मध्यपूर्वमा ठुलो युद्ध हुँदाको अवस्थामा समेत ग्यास आयातमा कुनै असर परेको थिएन, अहिले पनि छैन । उपभोक्ता नआत्तिने हो भने समस्या पर्दैन ।’ उनले मौज्दात राख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह पनि गरेका छन् ।
तर, ग्यास उद्योग संघका अध्यक्ष चन्दले यही अवस्थामा आपूर्ति सहज हुन दुई महिना लाग्ने बताए । ‘विगतको आधा सिलिन्डर नीतिका कारण उपभोक्ताको घरमा ठुलो संख्यामा खाली सिलिन्डर मौज्दात रहेकोबारे हामी जानकार थियौँ । सुरुका केही दिन असहज हुन्छ भन्ने थियो, निगमलाई पनि जानकारी गराएका थियौँ । तर, यति ठुलो हाहाकार होलाजस्तो लागेको थिएन,’ उनले भने, ‘अहिलेको परिस्थिति हेर्दा पूर्ण रूपले सहज हुन दुई महिना लाग्ने देखिन्छ ।’
निगमलाई पूर्ण तौलको सिलिन्डर बजार पठाउन उद्योगीले नै निरन्तर दबाब दिएका थिए । धेरैपटक ग्यास ओसार्दा ढुवानी लागत र उद्योगको सञ्चालन खर्च बढेकोलगायत कारण देखाउँदै उद्योगीले जेठदेखि नै पूर्ण तौलको सिलिन्डर बजार पठाउन दबाब दिएका थिए । उद्योगीको निरन्तर दबाबपछि ३१ असारबाट पूर्ण तौलको सिलिन्डर बजार पठाउने निर्णय भएको थियो । लगत्तै बजारमा ग्यास अभाव सुरु भएको हो ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना निगमको व्यवस्थापकीय कमजोरीका कारण उपभोक्ताले दुःख पाएको बताउँछन् । ‘१४।२ किलो ग्यास भएको सिलिन्डर बजारमा ल्याउने निर्णय गर्नुअघि सामान्य अवस्थाभन्दा बढी आयात गरेर सञ्चय गर्ने र नियमित रूपमा बढीभन्दा बढी बुलेटमा ग्यास आयात सुनिश्चित गर्नुपर्ने थियो । किनभने निगमले निर्णय गर्नासाथ माग दोब्बरले बढ्ने निश्चित थियो,’ उनले भने, ‘तर, यसतर्फ ध्यान नदिई एक्कासि पूर्ण तौलको सिलिन्डर बजारमा ल्याउँदा अहिले उपभोक्ताले दुःख पाएका छन् । यस्तै, कमजोर व्यवस्थापनका कारण दसैँंसम्म ग्यास आपूर्ति सहज हुने स्थिति छैन ।’
विगतमा बजारमा मागभन्दा बढी संख्यामा सिलिन्डर उपभोक्तालाई बिक्री गर्दा पनि अहिले समस्या आएको उनको भनाइ छ । ‘एउटा उपभोक्ताको घरमा दुईवटा सिलिन्डर हुनुपर्ने हो । तर, चार–पाँचवटा सिलिन्डरसम्म राख्ने गरी बजारमा उद्योगी र आयल निगम मिलेर सिलिन्डर बिक्री गर्ने खेल भयो । अहिले त्यसैको असर परिरहेको छ,’ उनले भने । टेकुबाट ग्यास बिक्री गर्नुको सट्टा उपभोक्ताको घरनजिकैको डिलरबाटै ग्यास पाउने वातावरण बनाउनुपर्ने उनको माग छ ।
ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापाले पनि उपभोक्ताको घरका धेरै सिलिन्डर बजार आउँदा समस्या भएको बताए । ‘मैले चिनिरहेको उपभोक्ताहरूले घरमा खाली रहेका सबै सिलिन्डर साट्न ल्याइरहेका छन् । अरूतिर पनि स्थिति यही हो,’ उनले भने । डिलर प्रमाणीकरण नहुँदा भूमिगत रूपमा ग्यास बिक्री हुने, कुन डिलरले कति ग्यास बिक्री ग¥यो भन्ने यकिन तथ्यांक नहुनेलगायत कारण पनि आयात भएको ग्यासको समुचित वितरण नभएको उनको भनाइ छ ।
खाली सिलिन्डर बोकेर भौँतारिँदै उपभोक्ता टेकु र बालाजुमा दिनभर सयौँको लाइन
ग्यास अभावमा उपभोक्ताले व्यहोरेको हैरानी आइतबार काठमाडौंको टेकु र बालाजुमा रित्ता सिलिन्डर बोकेर दिनभर लाइन बसेकाहरूको दृश्यले नै स्पष्ट पारेको छ । घरनजिकको मात्रै होइन, जाने–बुझेजति ठाउँका डिलरमा धाउँदा पनि ग्यास नपाएकाहरू आयल निगमले टेकुको पुरानो कार्यालयबाट र नेपाल ग्यासले बालाजुस्थित उद्योगपरिसरबाट वितरण गरिरहेको छ भन्ने सुनेपछि त्यतै पुगेका थिए । निगमले टेकुबाट नेपाल, श्रीराम, सुगम, एभरेस्ट र एचपी कम्पनीको ग्यास बिक्री गरेको थियो । तर, बिहानदेखि लाइन बसेका उपभोक्ताले दिउँसो ३ बजेसम्म पनि ग्यास नपाएको गुनासो गरेका थिए ।
कीर्तिपुर भत्केपाटीमा बस्दै आएका ट्याक्सीचालक सुनील नेपाली टेकुस्थित अस्थायी बिक्री केन्द्रमा दिउँसो ३ बजेको चर्को घाममा लाइनमा भेटिए । उनले घरमा ग्यास रित्तै भएपछि हैरानी खेप्नुपरेको गुनासो गरे । ‘घरमा ग्यास ठप्पै भयो । डिलरलाई फोन गर्यो उठ्दैन । म त ट्याक्सी चलाउने मान्छे, खाली सिलिन्डर लिएर आठ–नौवटा पसल पुगिसकेँ, तर कहीँ पाइएन,’ उनले भने, ‘टेकुमा बाँडेको छ भन्ने थाहा पाएपछि यता आएर लाइन लागेको छु ।’
सीतापाइला बस्दै आएका जयप्रकाश गुरुङ पनि टेकुमै रित्तो सिलिन्डर लिएर लाइनमा थिए । आपूर्ति असहज हुनुमा निगमको व्यवस्थापकीय कमजोरी रहेको उनको बुझाइ छ । ‘पूरा तौलको सिलिन्डर बजारमा पठाउने भनेपछि सबै तयारी गर्नुपर्छ नि १ व्यवस्थापन गर्न नसक्नु निगमको कमजोरी हो । ग्यास कति आयो, कति वितरण भयो भन्ने अनुगमन पनि हुँदैन देशमा,’ उनले भने, ‘बिहान १० बजे नै आएर लाइनमा बसेको हो, ३ बजेसम्म ग्यास पाएको छैन । एक चरण दर्केपानीले मज्जाले भिजायो ।’
बिहानदेखि आसमा बसेका उपभोक्तालाई ३ बजेपछि ग्यास डिलरहरूले अप्रिय सूचना सुनाए– सबैलाई आजै दिन सकिँदैन, सोमबार फेरि वितरण हुन्छ । लाइनमा बसेकाहरू एकाएक खिन्न भए । १२ बजे ग्यासको लाइन बस्न आइपुगेकी कीर्तिपुरकी रिना भण्डारीले पनि नजिकका डिलरमा चहारेर नपाएपछि टेकु आउन बाध्य भएको सुनाइन् । ‘नजिकैको डिलरमा चार दिनसम्म धाएँ, तर ग्यास दिएन । यहाँ पाइन्छ कि भनेर आएकी हो । यो देशमा जुन सरकार आए पनि समस्या मात्रै हुन्छ,’ उनले भनिन् ।
बल्खु क्षेत्रको कुखुरा पसलमा काम गर्दै आएका झापाका तेज महतोले पनि बिहानदेखि सुगम कम्पनीको ग्यास लिन लाइनमा बसेको बताए । तर, दिउँसो ३ बजेसम्म उनले ग्यास पाएका थिएनन् । शंखमूलबाट टेकु पुगेकी विष्णु पाण्डेको पनि पीडा उस्तै थियो । ‘मेरो घरनजिकै डिलर छ । उनीहरू होटेललाई दिन्छन्, एउटा–एउटा दिन्नँ भन्छन्,’ उनले भनिन्, ‘पहिला आधा सिलिन्डरका लागि नाम लेखाउँदा दुई महिनापछि पालो आएको थियो । अहिले नाम लेखाउँदा तीन हप्तापछि पालो आउँछ भनेका छन् । त्यति लामो समय कुर्दा घरमा खाँचै हुन्छ भनेर यहाँ लाइन लाग्न आएकी हुँ,’ उनले भनिन् ।
दिवान चन्द
अध्यक्ष, ग्यास उद्योग संघ
विगतको आधा सिलिन्डर नीतिका कारण उपभोक्ताको घरमा ठुलो संख्यामा खाली सिलिन्डर मौज्दात रहेकोबारे हामी जानकार थियौँ । सुरुका केही दिन असहज हुन्छ भन्ने थियो, निगमलाई पनि जानकारी गराएका थियौँ । तर, यति ठुलो हाहाकार होलाजस्तो लागेको थिएन । अहिलेको परिस्थिति हेर्दा पूर्ण रूपले सहज हुन दुई महिना लाग्ने देखिन्छ । आयातभन्दा माग ठुलो अन्तरले बढेका कारण सहज रूपमा वितरण हुन सकिरहेको छैन ।
दीपक बराल, निमित्त
कार्यकारी निर्देशक, आयल निगम
आधा भरी मात्रै ग्यास पाउँदा खाली भएका सिलिन्डर उपभोक्ताले घरमै थन्क्याएर राखे । अहिले पूरा तौलको ग्यास पाउने भएपछि मौज्दात गर्नका लागि सिलिन्डर भरेर राख्ने प्रवृत्ति बढ्यो । सामान्यतया मासिक ४५ हजार टन खपत हुन्थ्यो । अहिले क्षणिक माग बढेर ५५ देखि ६० हजार टनसम्म पुगेको अनुमान छ । अब आपूर्ति बढाएर सहज बनाउन निगमले प्रयास गर्दै छ ।








